सिरियामा युद्ध जारी, रसायनिक हतियार प्रयोग



दमास्कस, (एजेन्सी)
युद्ध विराम गर्ने सहमतिलाई लत्याउँदै सिरिया सरकारले विद्रोहीको प्रभाव क्षेत्रमा हवाई हमला जारी राखेको छ। पछिल्लो हमलामा क्लोरिनजस्ता रसायनिक हतियारको पनि प्रयोग गरिएको छ।

राजधानी दमास्कसनजिकको घोउटामा विद्रोही नियन्त्रित क्षेत्रमा सिरियाले बमबारी गर्दा ५ सय ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। बीबीसीका मध्यपूर्व सम्पादक जेरेमी बोवेनका अनुसार सिरियामा सात वर्षदेखि लडाइँ जारी छ र यस क्रममा युद्धविराम बिरलै मात्र हुने गरेको छ।

आक्रमणमा सिरिया सरकारलाई रुस सरकारले सहयोग गर्दै आएको छ। रुसले भने विद्रोही संगठन जैश अल इस्लामले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएको छ।

रुसको यस आरोपमा जैश अल इस्लामका प्रवक्ताले भनेका छन्– ‘जब सिरिया सरकारले नै संयुक्त राष्ट्र संघको प्रस्ताव मानिरहेको छैन भने हामी पनि आफ्ना बच्चाहरूसँग हात बाँधेर बस्न सक्दैनौं।’

सिरियामा पछिल्लो हमला सुरक्षा परिषद्मा ३० दिनको संघर्षविरामको प्रस्ताव पारित भएको केही घण्टापछि भएको हो। सिरियामा हवाई र स्थल सैन्य कारबाही जारी छ।

आइतबार मात्र फ्रान्स र जर्मनीले रुससँग सिरिया सरकारलाई युद्धविरामको सम्मान गर्न दबाब दिन आग्रह गरेका थिए। यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले पूर्वी घोउटाको हालतलाई ‘पृथ्वीमा नर्क’ जस्तै भएको टिप्पणी गरेका छन्। हवाई र स्थल आक्रमणबाट मृत्यु हुनेहरूको संख्या अधिक छ। आक्रमण भएको क्षेत्रमा लगभग ४ लाख व्यक्ति फसेका छन्।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिंसाग्रस्त पूर्वी घोउटामा नियमित मानवीय राहत र उद्धार कार्य बन्द गर्ने आदेश दिएका छन्। यो कार्य मंगलबारदेखि पुनः शुरू गरी त्यहाँ फसेका मानिसहरूलाई सुरक्षित गन्तव्यमा लगिने पनि बताइएको छ।

प्रतिक्रिया दिनुहोस्