इन्टरनेट नहुँदा ७ नम्बर प्रदेशमा बैंकिङ्ग सेवा विस्तारमा समस्या



विमल विष्ट, डोटी । इन्टरनेट सेवाको उपलब्धता हुन नसक्दा प्रदेश नम्बर ७ का विभिन्न जिल्लाका पहाडी तथा ग्रामीण क्षेत्रमा बैंकिङ सेवा पुग्न सकेको छैन । सरकारले हरेक स्थानीय तहमा कम्तीमा एउटा बैंकको शाखा पु¥याउने लक्ष्य लिए पनि इन्टरनेट सेवा नहुँदा बैंकिङ्ग सेवा विस्तारमा समस्या देखिएको हो ।

यहाँका अधिकांस ग्रामीण क्षेत्रमा बैंकिङ्ग सेवा नभएपछि स्थानीय तहहरुलाई आर्थिक कारोबार गर्न समस्या भएको जोरायल गाउपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । आर्थिक कारोबारको सानो कामका लागि पनि सदरमुकाम जानु पर्ने बाध्यता रहेको स्थानीय तहका कर्मचारीहरुको भनाई छ ।

७ प्रदेशका अधिकांश ग्रामीण क्षेत्रमा टेलिफोन तथा ईन्टरनेट सेवा सम्म पनि पुग्न सकेको छैन । आधारभूत सेवा नहुँदा बैंकहरु पनि ग्रामीण क्षेत्रमा जान मानिरहेका छैनन् । नेपाल टेलिकम तथा निजि क्षेत्रका अन्य दुर संचार कम्पनीहरुले ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा विस्तार गर्ने जनाए पनि सेवा विस्तारमा कुनै चासो नदेखाएको स्थानीयको आरोप छ ।

ईन्टर सेवा उपलब्ध नभएकाले गाउँमा स्थापना गर्ने भनिएका बैंक शाखाहरु स्थापनामा ढिलाई भएको कृषि विकास बैंक डोटीका प्रबन्धक दीर्घबहादुर शाहले बताउनु भयो । ‘गाउँमा इन्टरनेट र टेलिफोनको सेवा छैन । केही ठाउँमा कृषि विकास बैंकको शाखा खोल्ने तयारी थियो तर यहीं कारण ढिलाई भएको छ ।’ उहाँले भन्नु भयो, ‘टेलिफोन र ईन्टरनेट सेवा भए जुनसुकै बेला पनि बैंकका शाखा स्थापना गर्न सकिन्छ ।’

डोटीका ९ वटा स्थानीय तहमध्ये २ वटा स्थानीय तह दिपायल–सिलगढी नगरपालिका र जोरायल गाउँपालिकाको वडा नम्बर ३ बुडर बजारमा मात्रै टेलिफोन तथा ईन्टरनेट सेवा पुगेको छ । ईन्टरनेट सेवा पुगेका यी दुई स्थानीय तहमा पनि ईन्टरनेट सेवा प्रभावकारी नहुँदा बैंकिङ्ग कारोबार गर्न तथा स्थानीय सेवा ग्राहिलाई सेवा लिन निकै समस्या हुने गरेको जोरायल गाउँपालिका–३ बुडरका स्थानीय भरत कुँवरले बताउनु भयो ।

‘इन्टरनेटले खासै काम गर्दैन हामीले काम गर्न कैलाली, कि त डडेल्धुरा जानु पर्छ । यता त नाम मात्रको ईन्टरनेट सेवा छ ।’ उहाँले भन्नु भयो, ग्रामीण क्षेत्रमा ईन्टरनेट सेवा विस्तारमा दुर संचार कम्पनीहरुले ध्यान दिनु पर्छ ।’ नेपाल टेलिकमको जोरायल गुनडकेदारमा रहेको सिडिएमए टावरले घाम लागेको बेला मात्रै यहाँका जोरायल, गडसेरा, बिपिनगर, बर्छैन, मन्नाकापडी लगायतका क्षेत्रमा काम गर्ने गरेको छ । पानी परेको तथा बादल लागेको समयमा फोनले समेत काम नगर्ने गरेको स्थानीयको भनाई छ ।

पहाडी जिल्लामात्र होईन ७ प्रदेशका तराईका जिल्लाका पहाडी क्षेत्रमा पनि बैंकिङ्ग सेवा विस्तार हुन सकेको छैन । जसले गर्दा स्थानीय तहहरुलाई कारोबार गर्न समस्या भएको छ । विद्युत, टेलिफोन, ईन्टरनेटजस्ता आधारभूत सुविधा नपुगेको भन्दै बैंकहरुले शाखा विस्तार गर्न मानेका छैनन् । बैंकिङ्ग सेवा नभएपछि पहाडी क्षेत्र पर्ने त्यहाँका स्थानीय तहहरु बैंकिङ्ग कारोबारका लागि धनगढी जान बाध्य भएको बताईएको छ । उता बैतडीको पुर्चौंडी नगरपालिका हाटमा बैंकिङ सेवा दिने उद्देश्यका साथ गत महिनादेखि सञ्चालनमा आएको ग्लोबल आइएमई बैंकको शाखामा इन्टरनेटको सुविधा नहुँदा सेवाग्राहीले प्रभावकारी सेवा पाउन सकेका छैनन् ।

इन्टरनेटको असुविधाका कारण बंैकिङ सेवा प्रदान गर्न अप्ठ्यारो भइरहेको शाखा प्रबन्धक शिवराज बिष्टले बताउनु भयो । उहाँले भन्नु भयो ‘नेपाल टेलिकमको भिसेटमार्फत इन्टरनेट जडान गरेको भए पनि इन्टरनेटले काम नगर्दा समस्या भएको हो ।’ नेपाल टेलिकम बैतडीका प्रशासन सहायक तीर्थ चौधरीले ईन्टरनेट सेवा र टेलिफोन सेवा बिस्तारका लागि केन्द्रमा खबर गरेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्