आर्मीलाई एकै सिजनमा छैटौं उपाधि



रोशन पराजुली, हेटौंडा

डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले यस पटक पनि खुशी मनाएको छ। हेटौंडा गोल्डकपअन्तर्गत् विभागीय टोली नेपाल पुलिसको नगद ५ लाखसहित उपाधि उचाल्ने चाहना आर्मीले पूरा हुन दिएन। नेपाल आर्मीले सिजनको यो छैटौं उपाधि जितेको हो।

शनिबार हेटौंडामा पुलिसलाई हराउँदै आर्मीले गोल्डकप फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। यस वर्ष उत्कृष्ट फर्ममा रहेको आर्मीले तेस्रो हेटौंडा गोल्डकपको उपाधि रक्षा गर्दै यस वर्षको सर्वाधिक सफल क्लबका रूपमा आफूलाई उभ्याएको छ। उपविजेता पुलिस नगद तीन लाख रुपियाँ, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो।

आर्मी यस वर्ष मोफसलका आठ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ भने पुलिस पाँच वटा प्रतियोगिताको फाइनल प्रवेश गरेको थियो। पुलिस भने पहिलो पटक हेटौंडा गोल्डकपको फाइनल पुगेको थियो। हेटौंडा गोल्डकपको पहिलो र दोस्रो संस्करणमा फाइनल खेलेको आर्मी दोस्रो संस्करणको विजेता हो। पहिलो संस्करणमा मनाङ मस्र्याङ्दीसँग पराजित आर्मीले दोस्रो संस्करणमा मनाङलाई २–० ले पराजित गर्दै उपाधि जितेको थियो।

निर्धारित समय गोलरहित भएपछि खेल टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा आर्मीले पुलिसलाई ४–३ ले हराउँदै नगद ५ लाखसहित उपाधि जित्न सफल भयो। टाइब्रेकरमा आर्मीका किपर बिकेश कुथु, सन्तोष तामाङ, दीप लामा र विवेक बस्नेतले गोल गर्दा नवयुग श्रेष्ठको प्रहार पोष्टमा लागेर फर्किएको थियो।पुलिसका सुमन लामा, अजित राजभण्डारी र दिनेश राजवंशीमात्र गोल गर्न सफल भए। कुथुले पुलिसका तेज तामाङ र बुद्ध लामाको बल निस्तेज पारेपछि आर्मीको जित सहज भएको हो।
आर्मीका बिमल पाण्डे सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै नगद ५० हजार रुपियाँ प्राप्त गरे। उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथु, डिफेन्डर पुलिसका दिनेश राजवंशी, मिडफिल्डर पुलिसका तेज तामाङ, फरवार्ड पुलिसका अभिषेक रिजाल र प्रशिक्षक आर्मीका नवीन न्यौपाने घोषित भए। उनीहरूले जनही नगद १५ हजार रुपियाँ प्राप्त गरेका थिए। अन्तिम खेलका म्यान अफ द म्याच आर्मीका गोलकिपर कुथु भए। उनले नगद ५ हजार पुरस्कार पाए।

त्यस्तै उत्कृष्ट खेलपत्रकारका रूपमा साझाकुरा दैनिकका सम्पादक सुबास बिडारीलाई नगद १५ हजारसहित सम्मानित गरिएको छ। हेटौंडेली खेलपत्रकार सुमन भोम्जनको स्मृतिमा स्थापित खेलकुद प्रतिष्ठानले प्रदेश नम्बर–३ को राजधानी हेटौंडामा प्रदेशकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्