छोटे मालिकहरूको एकता यात्रा



मुक्तिबन्धु

‘मिलेकै हुन् त ?’
‘अँ, मिले–मिले ⁄’
‘अझै राम्ररी मिल्न सक्या छैनन् भन्ने सुनिन्छ नि ?’

‘वामपन्थीहरूबीचको मिलन भनेको नै भुइँचालोमा बनिने कच्चा संरचना जस्तै हो। अलिक समय अडिन पनि सक्छ, छिट्टै ढल्न पनि सक्छ।’

‘त्यो त हो। अनि यो घ्यू बेचुवा र तरबार बेचुवाबीचको सौदाबाजी पनि हो भन्छन्। मिले पनि सौदा छैन नमिले पनि सौदा छैन।’

‘त्यतिसम्म त नहोला कि ? हुन त जुवा खेली बस्नेहरूभन्दा खालमा हेरी बस्नेहरू चाँडै तन्नम् बन्छन् भन्थे बूढापाकाहरू। यो सिद्धान्त र निष्ठाबिनाको राजनीति खेल हेर्दा–हेर्दा दिव्य बाह्र वर्ष बितिसक्यो।’

‘त्यो त हो, जनता निठ्ठा दर्शक बन्दासम्म मुलुकमाथि उठ्दैन। जनता त काम हेरेर नेतालाई दण्डित पुरष्कृत गर्ने सशक्त पहरेदार हुन सक्नुपर्छ। आवश्यक परे आँधीबेहरी सिर्जन गर्न सक्ने हुनुपर्छ।’

‘यो साँच्चिकै सचेत र क्रन्तिकारी जनताको कुरा हो। त्यस्ता जनता त महान् भइहाल्छन् नि ⁄ हाम्रो मुलुकमा त जनता नै सकिएका छन्। यहाँ कि त कार्यकर्ता छन् बाँकी सबै भोटर छन्। भोटरले त चुनाव आएपछि भोट दिन्छन्। दिइरहेका छन्। चुनाव सकिएको पनि ३ महिना बित्न लागिसक्यो।’

वाम गठबन्धनको पहिरनमा पदीय भागवण्डाको जनवादी अलमलकै बीच म्युजिकल चेयर शैलीमै भए पनि अहिले कमरेड ओली प्रधानमन्त्रीको उच्चासनमा विराजमान हुनुभएको छ। बधाई वर्षाको माहोल भव्य बनेर पनि सेलाइसकेको छ। अब मन्त्रीहरू आसन आरोहणको तयारीमा छन्। यसका साथै विनिर्माण क्रममा निर्मित नवप्रदेशहरूमा मन्त्रिमण्डलहरू बन्दै छन्। मुख्यन्त्रीहरू बन्दै छन्। मुलुक सांसदमय, मन्त्रीमय र सरकारमय बन्ने महान् अभियानमा छ।

(हामीकहाँ जे हुन्छ महान् नै हुन्छ। महान् जनआन्दोलन, महान् क्रान्ति, महान् जनयुद्ध, महान् शान्ति सम्झौता आदि। यसै त हाम्रो देश महामानवको देश पनि त हो। हामीकहाँ राजनेताहरूमा प्रतिफलित भएपछि इच्छा, आकांक्षा र लम्पसार पनि महान् हुन्छ।)

यसै हप्ता समाचारपत्रको मुखपृष्ठमै एउटा महान् समाचार छापिएको थियो, सचित्र। समाचारअनुसार माओवादी निकटका एक व्यवसायीका घरभान्छामा प्रधानमन्त्री कमरेड ओली र पूर्वप्रधानमन्त्री दहाल गृहपति व्यवसायीसँगै बसेर पार्टी एकाताका लागि लन्च मिटिङ गर्दै हुनुहुन्थ्यो।

दुई महान् पार्टीबीचको एकता महान् त हुने नै भयो। झुप्रा–छाप्राहरूलाई सुन्दर घरहरूको बस्तीमा फेर्ने सपना बाँडेर नेता बनिएको भए पनि बनिसकेका नेताले यस्ता महान् र एैतिहासिक लन्च मिटिङहरू साधारण किसान मजदुरका झुप्रा–छाप्रामा बसेर ढिँडो रोटी चपाउँदै सम्पन्न गर्न सकिने कुरा त सम्भवै थिएन, भएन।

जहाँ जसरी गरिए पनि एकता गर्नु राम्रो कुरा हो।
नेपाली जनताले पटक–पटकको खडेरी बेहोर्दा पनि ‘अब होला कि’ को आशामा भोट दिँदै आएका वाम राजनीतिक दलहरूको एकता रामै्र कुरा हो। मैले आफ्नो नोटबुकमा अनुष्टुप लयमा तत्काल एउटा टिपोट लेखें– ‘मिल्नु पनि समस्या हो, व्यवस्थापन चाहिने⁄नमिल्नु झन् समस्या हो माथि उठ्नै नपाइने। धर्म संकट जस्तै भो, धर्म छाडिसके पनि⁄अझै दरिद्रता नै छ सम्पद् जोडिसके पनि। वामपन्थ डुबेकै हो सत्ताको हामपन्थमा⁄पहिचान गुमेकै हो कांग्रेसीसँग जन्तमा। आफैं बानरले कट्टु लाएझैं भो र तैपनि⁄आशावादी छ जनता ‘होला कि’ मा अझै पनि। मिल्नुलाई दिए हुन्थ्यो एकताको रसायन⁄अलि रोकिन सक्थ्यो कि सत्ताको दक्षिणायन। जनता मृगतृष्णामा दशकौं गुज्रँदा पनि⁄नेतामा चेतना छैन सपना टुक्रँदा पनि। विक्रेता नबने हुन्थ्यो घ्यू र तरबारका⁄अझै मर्म बुझे हुन्थ्यो सीमान्त घरबारका।’

म टिपोट टिप्दै थिएँ, एक जना वयोवृद्ध वामपन्थी साथी आइपुग्नुभयो चिया पसलमा। मेरो टिपोट पढेर भन्नुभयो– ‘विचार र व्यवहारले एउटै तहमा आइपुगेका यी दुई दल एउटै बनिदिनु मतदाता जनताको सजिलोका लागि पनि अति आवश्यक थियो। एकाध दशक अड्याउन सकेछन् भने पनि एकता राम्रै हो। यो एकता कायम रह्यो र समग्र नेपाल र नेपालीका हितमा नेपाली कांग्रेसले पनि जिम्मेवार प्रतिपक्ष बनेर संयमित व्यवहार गर्न सक्यो भने राम्रै होला।’

समस्या त छन्। १) दश⁄बीस वर्ष लगाएर रोपी उमारी हुर्काइएका जातीय पहिचानका रागद्वेषहरू छन्। २) आफ्नो स्वार्थ पट्याउन छिमेकीले हाम्रो मैदानी भागमा चलाइआएको झगडा र पृथकताको खेतीजन्य समस्याहरू छन्। ३) संविधानभित्रै अस्थिरताका बीजहरू संकलित छन्। त्यसको व्यवस्थापनको पनि समस्या छ। ४) स्वार्थका लागि असल खरावको परिभाषा नै स्थगित गरेर चुनावमा पार्टीले जे–जस्तासित पनि साँठगाँठ गरेको छ भने त्यसको व्यवस्थापन पनि समस्याजनक बन्न सक्छ। ५) पार्टीगतरूपमा, नीतिगतरूपमा र स्वभावगतरूपमा कुनै सकारात्मक रूपान्तरण फलित भएको त छैन। भ्रष्टाचार र परिवारवादमा आकण्ठ डुबेका तिनै यिनै व्यक्तिहरूबाट विवेकपूर्ण व्यवहार र विकासपरक नेतृत्व फलाउनु पनि चानचुने समस्या छैन। ६) दुई छिमेकीसँगका सम्बन्धका बुद्धिमत्तापूर्ण व्यवस्थापन यथागत समस्या नै हो। ७) जनताको चौतर्फी प्रगतिका निमित्त राजनेताहरूमा पर्याप्त र दृढ इच्छाशक्ति नहुनु पनि समस्या नै हो।

सत्तासीन राजनेताहरूमा इच्छाशक्ति हुने हो भने हिमालपारका छिमेकीसँग पनि त्यत्तिकै सुगम यातायात विस्तार गर्न हिमालयले छेक्दैन। हिमालको फेदबाटै वारपार यातायातका राजमार्गहरू बग्रेल्ती बन्न सक्छन्। उनीहरूसँग यो प्रविधि छ पनि। ८) हाम्रो देशलाई परम्परा प्राप्त रखौटी ठान्ने मनोग्रन्थीबाट ग्रस्त छिमेकी जो छ, लगातार हाम्रो जमीनको साँध मिच्छ। नैतिक कूटनैतिक मर्यादाको साँध मिच्छ। मुलुकभित्र केही त्यस्ता दास राजनीतिकहरू छन् जो त्यसै मिचाहाको पक्षपोषणमा गौरव अनुभव गर्छन्। हाम्रो स्वाधीनता र स्वाभिमानका अ·–अ·मा लुतो चिलाउने र घाउ चहर्याउने यो मिचाहा संस्कृतिको निर्मूलन पनि एउटा अज·कै समस्या हो। ९) विनाबोटको फूल जस्तै बिनापरिभाषाको समाजवाद जो संविधानमा सजिएको छ, त्यो सजावटभन्दा पनि गठबन्धन र एकता यात्राका वामहरूले चुनावी घोषणापत्रमा कबुल गरेका समाजवादलगायतका प्रतिबद्धताहरू छन्।

ती देखाउने दाँत मात्र होइनन् भने तिनको कार्यान्वयनको समस्या छ। वामपन्थीहरू निक्खरा कांग्रेसी बन्न त सक्दैनन्, जो बीपीको समाजवाद भन्दै मुलुकमा भएका औद्योगिक प्रतिष्ठानहरू पनि जरोकिलो चपाएर मुलुकलाई बेरोजगारी र पराश्रयको खाडलमा जाक्न लाज मान्दैनन्।

कांग्रेसका शरणबहादुर र शेरबहादुरहरूलाई निर्लज्ज हुन गाह्रो थिएन। विस्तारवाद र साम्राज्यवादको धाप थियो। त्यताबाट पुरस्कारसमेत पाइन्थ्यो। वामपन्थीहरूलाई आफ्नै चुनावी कबुलियतपत्रको लाज बचाउन गाह्रो छ। गाह्रो हुनु आफैंमा एउटा ठूलो समस्या हो। १०) मुलुक आज भ्रष्टाचारको भयंकर धापमा आकण्ठ डुबेको छ। न्याय मन्दिरहरू न्यायमन्दिर रहन सकेका छैनन्। सरस्वतीका मन्दिर, आरोग्यका मन्दिर सबै भ्रष्टाचार र कमिसनतन्त्रका निरन्तर कम्पन, परकम्पनबाट थिलथिलो बनेका छन्। राजनेताहरूले भ्रष्टाचारको उन्मूलन आफ्नै राजनीतिबाट र आफैंबाट शुरु गर्नुपर्ने अवस्था टड्कारो छ। आफैंसँग निर्मम संघर्ष गर्नु अझ भयंकर समस्या हो।

खेतीमा पसेका जनावरले त मलमूत्र त्यहीं त्याग गर्छन्। त्यो त्याग बिरुवाका लागि उर्वरक बन्न सक्छ। सरकारी ढुकुटीमा लामोहात गर्न पुगेका राजनेताहरू त त्यागका नाममा केवल अपानवायु मात्र छोड्न सक्छन्। उमठिँदो दुर्गन्ध फैलाउन मात्र सक्छन्। नेताहरूको अदूरदर्शिताकै कारण सानो र कलिलो वागबानीमा सातसुँढे मत्ता हात्ती पसे पनि र भविष्य असुरक्षित देखिए पनि सबै किसिमका चुनावमा सहभागी भएर दुनियाँ दुनिएकै छन्। तलबी जनप्रतिनिधिहरूको संख्या मात्रै २८ हजार २ सय ८ पुग्दा पनि जनता संयमित छ। आफ्ना महान् नेताहरूले ल्याइदिने समृद्धिको आगमन प्रतीक्षामा अकिन्चन सडकछापलगायतका जनता बाटो हेरिबसेका छन्। समय साँच्चिकै जिज्ञासामय छ।

सुझावको लवजमा भन्नुपर्दा भन्न सकिन्छ– १) सत्तासीन राजनेताहरूले देश र जनतालाई मुटुमा राखेर त्याग भावनासाथ काम गर्न अघि सर्नुपर्छ। पदलोलुपता र अर्थलोलुपतालाई हिम्मतसाथ पन्छाउन सक्नुपर्छ। २) कार्यकर्तालाई उत्पादनमुखी र आफ्नै उत्पादनमा निर्भर बनाउनुपर्छ। नेता–कार्यकर्ताले देश र जनता दुहुने सोच राख्नुहुँदैन। जनतामा जाने र क्रियाशील बनेर तिनको सेवा गर्ने हुटहुटी मात्र मनमा राख्नुपर्छ। ३) लेबी आफ्नै पसिनाको अंश हो। सदस्य कामरेडहरूले आफ्नै पसिनाको उत्पादनबाट स्वेच्छाले केही अंश पार्टीलाई दिनु क्रान्तिकारी संस्कति हो। ४) वाम कार्यकर्ताहरूले बिचौलिया बनेर कमाउने धन्धा गर्नै हुँदैन। घूस, कमिसन, उपहार नजरानाका रूपमा जनताबाट लिने र सहयोग सहायताका नाममा सरकारबाट हात थाप्ने नीतिले नेता, कार्यकर्ता जनताका सच्चा सेवक बन्न सक्दैनन्।

रगत पिउन बानी परेका हिंस्रक जनवरहरू रातारात शाकाहारीमा फेरिन नसक्लान्, संकल्पशील व्यक्तित्वहरू आश्चर्यजनकरूपमा फेरिन सक्छन्। बालाजुमा ठेलागाडा चलाएर परिवार बचाउने लाहुरे कान्छा मेरा यी कुरामा सहमत छैनन्। उनी भन्छन्– ‘हामी समाजमा जरिएको चपरी फर्काएर नयाँ सिराबाट प्रगतिको खेती गर्न आन्दोलन र युद्धसमेतमा होमिएका थियौं। चपरी त फर्केन–फर्केन। झारपातले थप नयाँ जरासमेत हाल्न पाएको छ। यस स्थितिमा यी छोटे मालिकहरूको एकता यात्राले हामी जस्ता भुइँमान्छेको समाजलाई के फरक पार्ला ? बडे मालिक त अझै कांग्रेसका शेरबहादुरहरू हुन्। तिनले गरेका जथाभावी निर्णयहरू बदर गर्छौं भन्ने छोटे मालिकहरूले तिनै शेरबहादुरहरूले जथाभावी बाँडेका र खाएका सरकारी रकम फिर्ता गराउन पनि सक्छन् त ? सकेछन् भने लालसलाम ठोक्नुपर्ला।’

प्रतिक्रिया दिनुहोस्