विमानस्थलमा चट्याङ मापन स्टेसन



टीका बन्धन, काठमाडौं

चट्याङका कारण हरेक वर्ष दोहोरिदै आएको मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि मुलुकका विभिन्न ९ विमानस्थलमा चट्याङ मापन सञ्जाल (स्टेसन) स्थापना गरिएको छ।

मुलुकभर चट्याङ जोखिम क्षेत्रको पहिचान गर्दै नक्सांकन गर्न तथा जोखिम क्षेत्रमा सुरक्षा सहजगता अपनाउन सम्बन्धित निकायलाई सुझाव दिने उद्देश्यका साथ विशेष सञ्जाल स्थापना भएको हो। धनगढी, नेपालगन्ज, भैरहवा, सुर्खेत, पोखरा, काठमाडौं, सिमरा, विराटनगर र संखुवासभाको तुम्लिङटार विमानस्थलमा स्थापना भएको सञ्जाल केही दिनयता परीक्षणमा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

धनगढी, नेपालगन्ज, भैरहवा, सुर्खेत, पोखरा, काठमाडौँ, सिमरा, विराटनगर र संखुवासभाको तुम्लिङटार विमानस्थलमा स्थापना भएको सञ्जाल केही दिनयता परीक्षणमा रहेको छ ।

 

९ वटै विमानस्थलको एकीकृत सञ्जालले मुलुकको समग्र क्षेत्रसहित भारत र तिब्बततर्फका स्थानको गतिविधिसमेत समेट्ने विभागका उप-महानिर्देशक सरजुकुमार वैद्यले जानकारी दिनुभयो। पहाड र तराईका विभिन्न ९ विमानस्थलमा स्थापना भएको सञ्जालले देशैभरलाई समेट्नेछ, यहाँ मात्र होइन, तिब्बत र भारतका धेरै ठाउँको सूचनासमेत एकीकृत गर्दै सम्प्रेषण गर्न सकिने भएको छ। -उहाँले भन्नुभयो।

वर्षा र मौसमको पूर्वसूचना सम्प्रेषण गरिए जसरी चट्याङको पूर्वसूचना सम्प्रेषण गर्ने दीर्घकालीन लक्ष्य भए पनि त्यस्तो अभ्यासका लागि भने अझै केही अवधि लाग्ने वैद्यले बताउनुभयो। विश्व बैंकको आर्थिक सहयोगमा नेपालले यस्तो प्रविधि अभ्यासमा ल्याएको हो।

अन्य प्रयोजनका अतिरिक्त हवाई उडानलाई समेत सुरक्षित र भरपर्दो बनाउन विमानस्थल लक्षित गर्दै सञ्जालको स्थापना गरिएको बताइएको छ। हवाई उडानका लागि पनि सञ्जालको सूचना प्रभावकारी हुन्छ, सूचना अद्यावधिक प्रभावकारी बनाउन, सञ्जालका लागि आवश्यक पर्ने जग्गा र सुरक्षाजस्ता पक्षलाई ख्याल गदै विमानस्थलमा सञ्जाल स्थापना भएको हो। (विभागका एक अधिकारीले भने।

ग्लोबल टेन्डरमार्फत जर्मनीको नाओकास्ट कम्पनीले चट्याङ सञ्जाल स्थापना गर्ने जिम्मेवारी पाएको थियो। नाओकास्टले यही साता ९ वटै विमानस्थलका सञ्जालको परीक्षण अभ्यास गरिरहेको छ। यस्तो सञ्जालको सूचना र संयन्त्र विभिन्न परियोजना, मोबाइल सेवा प्रदायक कम्पनीका टावरमा चट्याङले पुर्याउने भौतिक क्षति र बीमा दाबीका लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ। कुन ठाउँमा कति पटक चट्याङ दोहोरियो भन्ने वास्तविक सूचना सञ्जालले दिने भएकाले विभाग बीमा कम्पनीहरूका लागि प्रभावकारी निकाय बन्न सक्ने विभागका अधिकारी बताउँछन्।

प्रकोपका अन्य घटनाहरूभन्दा बढी चट्याङका कारण वर्षेनी दर्जनौं नागरिकले अकालमा ज्यान गुमाउँदै आएका छन्। चट्याङको प्रभाव तुलनात्मकरूपमा केही बढी मनसुन पूर्वाद्धको समय चैत, वैशाख र जेठमा दोहोरिने गर्छ। मुलुकको पूर्वीभेगको चुरे क्षेत्रदेखि रूपन्देहीको चुरेसम्मको भूगोल तुलनात्मकरूपमा चट्याङ जोखिम क्षेत्रभित्र पर्ने विज्ञहरू बताउँछन्। मानवीय क्षतिलाई नियाल्दा झापाको दक्षिणपूर्वी क्षेत्र पनि चट्याङ जोखिमभित्र पर्छ।

चट्याङका कारण गत वैशाख पहिलो सातादेखि माघ पहिलो सातासम्म ७५ जनाले ज्यान गुमाएका छन् भने यही अवधिमा १ सय ९१ जना घाइते भएका गृह मन्त्रालयको तथ्यांक छ। विगत १० महिनाको अवधिमा २ सय २ परिवार प्रत्यक्ष प्रभावित भएका छन्, १ सय ६६ पशुपन्छी मरेका छन्।

प्रतिक्रिया दिनुहोस्