शुक्रबारदेखि सी–आस्बा



नेपाल समाचारपत्र
काठमाडौं
धितोपत्र सार्वजनिक निष्कासनमा शुक्रबारदेखि सी–आस्बा कार्यान्वयनमा आउँदै छ। सीडीएस एन्ड क्लियरिङले शेयर निष्कासन प्रक्रियालाई थप व्यवस्थित, सर्वसुलभ तथा चुस्त पार्न अत्याधुनिक प्रविधिको प्रयोग गरी तयार पारिएको केन्द्रीकृत प्रणाली कार्यान्वयनमा आएको हो।

यसअघि नेपाल धितोपत्र बोर्डले तयारी नभएको भन्दै सी–आस्बा कार्यान्वयनका लागि एक महिना थप गर्न निर्देशन दिएको थियो।
सीडीएससीले प्राथमिक शेयर निष्कासनलाई सहज बनाउन लागू गरेको आस्बा प्रणालीलाई थप व्यवस्थित गर्न आस्बा सफ्टवेयरलाई परिमार्जन गर्दै सी–आस्बामा स्तरोन्नती गरेको हो। सी–आस्बा कार्यान्वयनमा आएसँगै शेयर आबेदन दिनको लागि लगानीकर्तालाई सरल हुने सीडीएसको दावी छ। यससँगै धितोपत्रको प्राथमिक बजारमा नयाँ युगको शुरूवात भएको सीडीएससीले जनाएको छ।

सी–आस्बा कार्यान्वयनमा आएसँगै फारम बोकेर घन्टौं लाइनमा बसी खरिद आवेदन दिनुपर्ने तथा बाँडफाँड र रकम फिर्ताको लागि महिनौं कुनुपर्ने अवस्था अन्त्य भएको हो। सी–आस्बाको कार्यान्वयनले लगानीकर्तालाई घरमै बसेर आवेदन दिने र हप्ता दिनमै बाँडफाँड गरी लगानीको प्रतिफल तत्काल प्राप्त गर्ने वातावरण तयार भएको हो।

हाल विभिन्न ६० वटा बैंक तथा वित्तीय संस्था सी–आस्बा प्रणालीमा संलग्न भइसकेका छन्। लगानीकर्ताले अब सी–आस्बा प्रणाली भएको बैंकबाट सी–आस्बा रजिस्ट्रेसन नम्बर (सीआरएन) लिइ घरै बसी अनलाइनबाट आवेदन दिन सक्नेछन्। सीडीएससीले लगानीकर्ताले मेरो शेयर नामक सेवामार्फत् घरबाटै शेयरमा आवेदन दिने व्यवस्था मिलाएको हो।

यस प्रणालीअन्तर्गत हालसम्म १ लाख ३९ हजार ५ सय २ जना लगानीकर्ताले सीआरएन नम्बर लिइसकेका छन्। गत साउन महिनादेखि नै परीक्षणको रुपमा २९ वटा विभिन्न बैंक तथा वित्तीय संस्थाका लागि ७२ हजार ९ सय ६८ जना आवेदकको २ लाख ९७ हजार ६६ वटा आवेदन आइसकेको सीडीएससीले जनाएको छ। आवेदन प्राप्त हुने ३० हजार ७ सय ५० वटा आवेदन मेरो शेयर सफ्टवेयरबाट प्राप्त भएको हो। सीडीएससीका अनुसार हालसम्म मेरो शेयर सफ्टवेयरका १ लाख ४७ हजार ८ सय १० प्रयोगकर्ता रहेका छन्।

सी–आस्बा प्रणालीमा अब एउटा युनिक कोड नम्बर सीडीएससीमार्फत् उपलब्ध गराइन्छ। त्यो नम्बर सीडीएससीको मेरो शेयरमा लगअन गरी उक्त नम्बर इन्ट्री गरेपछि शेयरमा आवदेन दिँदा पुर्याउनुपर्ने सम्पूर्ण विधि पुग्ने छ।

रसुवागढी र साञ्जेनको शेयर आवेदन दिन बैंक नै जानुपर्ने

काठमाडौं, (नेस)
साञ्जेन जलविद्युत् कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले कर्मचारी सञ्चयकर्ताको लागि जारी गर्न लागेको शेयरमा आवेदन दिन लगानीकर्ता स्वयम् बैंक पुग्नुपर्ने भएको छ। शुक्रबारदेखि खुल्ला हुन लागेको ती कम्पनीको शेयर खरिदका लागि यो आवेदन दिन सञ्चयकर्ता परिचयपत्रको प्रतिलिपिसमेत संलग्न गरी आफ्नो खाता रहेको बैंकमा उपस्थिति भइ निवेदन दिनुपर्ने भएको हो।

ती कम्पनीको शेयर खरिदका लागि योग्य सञ्चयकर्ताको विवरण सी–आस्बा प्रणालीमा उपलब्ध गराइएकाले सीआरएन भएका तथा नभएका सबै निवेदन अनिवार्य बैंक पुग्नुपर्ने भएको हो। सञ्चयकर्ता नम्बर र हितग्राही खाता नम्बर दाँज्नुपर्ने भएकाले पनि लगानी गर्न चहानेले बैंकमै पुग्नुपर्ने भएको छ।

बैंक तथा वित्तीय संस्थाले सञ्चयकर्ताको खरिद आवेदन लिँदा सी–आस्बा सञ्चयकर्ता परिचयपत्र नम्बर प्रबिस्ट गरी प्राप्त भएको विवरणसँग हितग्राही खातासम्बन्धी विवरणका साथै आवेदन फारम र परिचयपत्रको विवरण रुजु गरेर मात्र लिनुपर्ने छ।

रसुवागढीले सञ्चयकोषका सञ्चयकर्ताका लागि १ सय रुपियाँ दरको १ करोड ३३ लाख ४२ हजार ९५ कित्ता अर्थात् १ अर्ब ३३ करोड ४२ लाख ९ हजार ५ सय रुपियाँको शेयर बिक्री गर्नेछ। रसुवागढीको शेयर खरिद गर्ने सञ्चयकर्ताले फागुन ३० गतेसम्म आवेदन दिनुपर्नेछ।

सञ्चयकोषका सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्युूनतम ५० कित्तादेखि अधिकतम् ५ सय कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। यस्तै ऋणदाता संस्थाका कर्मचारीका लागि पनि ६ करोड ८४ लाख २१ हजार रुपियाँको ६ लाख ८४ हजार २ सय १० कित्ता शेयर जारी हुनेछ।

यसैगरी, सान्जेन जलविद्युत् कम्पनीले सञ्चयकर्ता, संस्थापक संस्थाका कर्मचारी र ऋणदाता संस्थाका कर्मचारीका लागि ८७ करोड ६० लाख रुपियाँ बराबरको ६८ लाख ६० हजार कित्ता शेयर निष्कासन हुँदैछ।

साञ्जेनको शेयर खरिद गर्न सञ्चयकर्ताले न्यूनतम ५० देखि अधिकतम् ३ सय कित्तासम्मका लागि आवेदन दिन पाउने छन्। संस्थापक संस्थाका कर्मचारीका लागि १२ करोड ७७ लाख ५० हजार रुपियाँबराबरको शेयर निष्कासन गरिने छ। उनीहरूले पनि न्यूनतम ५० देखि अधिकतम् ३ सय कित्ताका लागि आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्