इन्काउन्टरमा कसरी मारिए पुन



यमलाल भुसाल, बुटवल
फिरौती, धम्की र हत्या गरेर विरोधीलाई सखाप पार्दै आएका रूपन्देही देवदहका मनोज पुन र उनका सार्प सुटर सहयोगी सोम आले बुधबार बिहान प्रहरीको जवाफी कारबाहीमा नाटकीय ढंगले मारिएका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ३ दिनअघि भारतबाट पक्राउ गरी नेपाल ल्याएपछि बुधबार बिहान साढे ३ बजे देवदह नगरपालिका–४ भवानीपुरमा भाग्न खोजेको भन्दै प्रहरीले उनीहरू दुवैमाथि २२ गोली प्रहार गरेको थियो।

अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को मोस्टवान्टेड सूचीमा रहेका पुन कहिले सिंगापुर कहिले भारत कहिले बैंककमा बसेर विगत ४ वर्षदेखि नेपाली उद्योगी तथा व्यापारीलाई धम्की दिने, हत्या गर्नेजस्ता जघन्य अपराध गर्दै आएका थिए।

प्रहरीले उनीहरू नेपाल आएको सूचना पाएपछि पिछा गर्ने क्रममा प्रहरीमाथि नै जवाफी फायर गरेको भन्दै भवानीपुरमा गोली चलाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो।

युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्या, त्यसपछि निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद् गौचन र एमाले निकट काष्ठव्यवसायी बलु पौडेलको हत्या गरेपछि प्रहरीको हिट लिस्टमा पुन परेका थिए। एमालेको युवा संगठन युथफोर्समा सामेल भएर रूपन्देहीमा गुण्डागर्दी गर्दै आएका पुन पछि एमाले परित्याग गरी अन्तर्राष्ट्रिय माफिया संगठन अन्डर वल्र्डसँग कनेक्सन बढाएका थिए।
उनले भारतमा बसेर नेपालका व्यापारीलाई धम्की दिने र पैसा नदिए हत्या गर्ने चेतावनी दिँदै आएका थिए।

प्रहरीले पछिल्लोपटक पुनको बारेमा खोजीनीति गर्दै आएको थियो। पुनसहितको टोली भारतको गोवाबाट दिल्लीतर्फ आएको थाहा पाएपछि पिछा गरेको एउटा टोलीले पक्राउ गरी नेपाल ल्याएको थियो।
प्रहरीले भवानीपुरमा आपराधिक गतिविधि गरिरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीमाथि एक्कासि आक्रमण भएपछि जवाफी कारबाहीमा चलाएको गोली लागेर पुन र उनका सहयोगी आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी प्रमुख ज्ञवालीले बताउनुभयो।

पुनको टोलीले प्रहरी टोलीमाथि आक्रमण गरेपछि जवाफी कारबाही गरेको रूपन्देहीका एसपी ज्ञवालीले दाबी गर्नुभयो। सीआईबीको समन्वयमा पुनलाई इन्काउन्टर गर्न सफल भएको ज्ञवालीले बताउनुभएको छ।

बुधबार बिहान प्रहरीको गोली लागेर घाइते भएका पुन र उनका सहयोगी आलेको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबाट प्रहरीले ल्यापटप, पेस्तोल, डायरीलगायतका सामानहरू फेला पारेको बताएको छ। बुटवलमा युवा संघका नेताहरूको हत्यामा संलग्न रहेको पुन समूहले काठमाडौंका समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको गत असोज २३ गते हत्या गरेको जिम्मा लिएको थियो।

आपराधिक काममा संलग्न रही फरौती धन्दामा संलग्न पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीलाई एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री हुनुअगाडि निर्देशन दिएपछि सीआईबीका प्रमुख पुष्कर कार्कीले एउटा टिम बनाएर खटाउनुभएको थियो।

निर्वतमान प्रधानमन्त्री शेरबहादुर देउवाले पनि फिरौती र हत्यामा संलग्न पुनको समूहलाई तत्काल नियन्त्रणमा लिन निर्देशन दिनुभएको थियो।

देशमा नै आतंक मच्चाइरहेको पुनलाई नै ढाल्ने प्रहरी कारबाहीको खबरले आफूहरू खुसी भएको युवा संघ रूपन्देहीका अध्यक्ष नकुल शाहीले बताउनुभएको छ ।
पुनले पछिल्ला दिनमा युवा संघ र एमालेका नेता कार्यकर्ताहरूलाई धम्क्याउन थालेपछि यो विषय प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ पनि पुगेको थियो। पुनकै समूहले विसं. २०७३ साल पुस ४ गते युवा संघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारी , विसं. २०७४ पुस २१ गत काठ व्यवसायी तथा युवा संघका नेता वसन्त पौडेल बल्लुलाई हत्या गरेको थियो।

युवा संघ रूपन्देहीका तत्कालीन कोषाध्यक्षसमेत रहेका पुन आपसी लेनदेनको कुरामा मनमुटाव भएपछि आफ्नो समूह बनाएर धम्की फिरौती र हत्यामा संलग्न रहँदै आएका थिए। दुवै जनाको शव लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ भने मारिएका आलेका परिवार सम्र्पकमा आए पनि पुनका परिवार सम्र्पकमा नआएकाले सम्र्पकमा आएपछि प्रक्रिया पुर्याएर परिवारको जिम्मा लगाउने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख पवनकुमार भटृराईले बताउनुभयो।

मनोजलाई १२, सोमलाई १० गोली
प्रहरीको इन्काउन्टरमा मारिएका मनोज पुनमाथि १२ गोली लागेको पाइएको छ। पुन र उनका सहयोगी सोमबहादुर आले घटनास्थमै मारिएका छन्। प्रहरीका अनुसार मनोज पुनलाई १२ गोली लागेको छ। अगाडीको भागमा ८ वटा गोली लागेका छन्। बायाँ तिघ्रामा २ वटा र पछाडि ढाडमा १ वटा गोली लागेको छ।
उता दायाँ हातको पाखुरामा १ गोली लागेको प्रहरी मुचुल्कामा छ। त्यसै गरी सोमबहादुर आलेलाई १० गोली लागेको छ। उनको छातिमा ५ वटा, दायाँ खुट्टामा १ वटा, पेटको दायाँ भागमा १ वटा, ढाडको बायाँ साइटमा १ वटा र बायाँ कोखमा २ गरी १० गोली लागेको छ।

पुनको इन्काउटरको खबरले खुसी
गुण्डा नाइके मनोज पुन र उनका सुटर सोम आले प्रहरीको कारबाहीमा मारिएपछि युवा संघ रूपन्देहीका अध्यक्ष नकुल शाहीले आफूहरू खुसी भएको बताएका छन्।
सीआईबीको समन्वयमा पुनलाई इन्काउन्टर गर्न सफल भएको रूपन्देहीका प्रहरी प्रमुख श्यामलाल ज्ञवालीले बताउनुभएको छ। युवा संघका रूपन्देही जिल्ला अध्यक्ष दुर्गा तिवारी र युवा संघकै कार्यकर्ता वसन्त पौडेल बलु तथा काठमाडौं समिरमानसिंह बस्नेत समूहसँग मिलेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको समेत हत्या गरेको जिम्मा पुन समूहले लिएको थियो।

आफ्ना हुनहार मित्रजनको हत्या तथा देशमा नै आतंक मच्चाइरहेको पुनको इन्काउटर भएको खबरले आफूहरू खुसी भएको युवा संघ रूपन्देही अध्यक्ष नकुल शाहीले बताएका छन्। सीआईबीको टोलीले गरेको यो कार्यको सराहना गर्दै यो कार्यले सबै सुरक्षित महशुस गरेको शाहीले बताउनुभयो। एकपछि अर्को गर्दै व्यक्ति हत्यामा संलग्न रहेपछि नेपाल प्रहरीका लागि पुन समूह टाउको दुखाइ हुँदै आएको थियो।
यो किसिमको इन्काउन्टरले आपराधिक क्रियाकलाप गर्ने व्यक्तिको मनोबल घट्दै जाने बताउँदै अध्यक्ष शाहीले अबका दिनमा व्यावसायी तथा राजनीतिक कर्मीहरू पनि सुरक्षित महशुस गर्न सकिने बताउँनुभयो।

नेपाल प्रहरीलाई कमजोर ठानेर गरिँदै आएको आपराधिक क्रियाकलाप पनि रोकिई अब दिनदहाडै धम्कीपूर्ण फोन आउन कम हुने उनी बताउँछन्।
यता उनका बाँकी साथीहरूले अबका दिनमा यस्तै कामलाई निरन्तरता दिने सोचे मात्र पनि बाँकीको पनि हालत मनोज पुनकै हुने शाहीले बताउनुभयो।

उनका साथीहरूमध्येको मुख्य योजनाकार तथा मनोज पुनलाई यो स्थानसम्म पुर्याउन सहयोग गर्ने समिर बस्नेत पनि पक्राउ परिसकेको बताउँदै अब यो कार्य बन्द हुने बताउनुभयो। साथै नेपाल प्रहरी र सीआईबीको टोली मिलेमा सबै काम गर्न सक्ने भन्दै डरको आडमा लुट्ने प्रवृत्ति हटेको बताउनुभयो।

चार वर्षमा चार इन्काउन्टर

काठमाडौं, (नेस)
प्रहरीले बितेको ४ वर्षमा इन्काउन्टरका नाममा ४ जना गुण्डालाई मारेको छ। प्रहरीले चर्चित डन दिनेश अधिकारी (चरी)को इन्काउन्टरको नाममा हत्या गरेपछि गुण्डाहरूको हत्याको शृंखला शुरू भएको हो।
राजधानीका व्यापारीदेखि उद्योगीसम्मलाई धम्की दिएर फिरौती माग्दै आएका चरीलाई महानगरीय अपराध महाशाखाले २०७१ साउन २१ गते भीमढुंगाको इन्काउन्टरमा हत्या गरेको थियो। तत्कालीन एसएसपी पुष्कर कार्कीको निर्देशनमा चरीमाथि इन्काउन्टर भएको थियो।

त्यस्तै गुण्डाका अर्का नाइके कुमार श्रेष्ठ उर्फ घंैटेलाई अपराध महाशाखाले २०७३ भदौ ३ मा सामाखुसीमा रहेको उनको घरनजिकै इन्काउन्टर गरेको थियो। प्रहरीको गोली लागेर घाइते भएका घैंटेको शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

राजधानीको पश्चिम क्षेत्रमा आफ्नो आधार इलाका खडा गरेर गुण्डागर्दीमा संलग्न रहँदै आएका जसवन्त राईलाई प्रहरीले इन्काउन्टर गरेको भए पनि उनको घुँडामा गोली लागेको कारण बाँच्न सफल भएका थिए।

प्रहरीले राईमाथि २०७३ असार ९ गतेगोली प्रहार गरेको थियो। प्रहरीले ललितपुरको कुसुन्तीमा इन्काउन्टर गरेका प्रवीण खत्री लागूऔषध दुब्र्यसनीका साथै लागूऔषधको कारोबारमा संलग्न रहेको भन्दै २०७४ साउन २३मा प्रहरीले गोली हानी हत्या गरेको थियो। खत्रीको हत्यापछि प्रहरीले घटनाको छानबिनसमेत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्