राँची, (एजेन्सी)
भारतको झारखण्ड राज्यमा २ महिला आमा र छोरीलाई एक समूहल ‘डायन’ को आरोपमा नाङ्गै घुमाएको र मानव मलमूत्रसमेत ख्वाएको जनाइएको छ।
गाउँमा रोग फैलिनुको कारण ती आमाछोरी भएको बताउँदै शुद्धीकरण गरेको उक्त घटनामा संलग्न गाउँलेले बताए। त्यस्तो नगरेमा गाउँमा मानिसहरू बिरामी हुने खतरा रहने उनीहरूले बताए।
फेब्रुअरी १५ बिहान आफूहरू घरमै बसिरहेको र त्यहिबेला गाउँका एक समूहले ढोका ढकढक्याएको र उनीहरूले आफू आमाछोरीलाई डायन भएको आरोप लगाएको पीडित आमाले बताइन्। आफूहरूले नमान्दा नमान्दै दुबैलाई श्मशान घाटमा लगेको उनले बताइन्।
त्यहाँ हाम्रो लुगामा मानव मल र पिसाब छ्यापे। हाम्रो मुखमा पनि राखिदिए। हाम्रो कपाल खौरी दिए। हाम्रो लुगा खोलिदिए। लगाउनका लागि सेतो सारी दिए तर ब्लाउज र पेटिकोट दिएनन्। मात्र सारीले हामीले आफ्नो शरीर छोपेका थियौं– उनले बताइन्।
त्यही लुगामा हामीलाई पूरै गाउँ घुमाए। त्यतिबेलासम्म धेरैको भीड लागिसकेको थियो, तर कसैले हामीलाई बचाउन आएन। त्यसपछि उनीहरूले नै हामीलाई घरसम्म पुर्याए।
उनी प्रान्तिय राजधानी राँचीबाट ६० किलोमिटरको दुरीमा पर्ने सोनाहातु थानाका बोंगादार दुलमी गाउँमा बस्छिन्।
उक्त घटनापछि आफूहरू अत्यन्तै डराएको र कोही पनि सहयोगका लागि नआएको उनले बताइन्। ‘हामीले त्यो रात त्रास मै बितायौं। अर्को दिन फेब्रुअरी १६ को बिहानै म आफ्नी छोरीसँग मेरो माइती पिलित (इचागढ) गएँ। त्यहाँ मैले भाइको छोरालाई सबै कुरा बताएँ। उसले हामीलाई साहस दियो र हामीसँग थानामा आए। हामीले सोनाहातु थानामा नाम सहित रिपोर्ट दर्ता गर्यौ।
प्रहरीले सबैलाई पक्राउ गरिसकेको तर अझै पनि आफूलाई डर लागिरहेको उनले बताइन्। आफ्नी छोरी विवाहित रहकी र उनको घर नजिकको गाउँ टांगटांगमा रहेको उनले बताइन्। उनका घरका सदस्यले के भन्ला भन्ने सोचेरै डर लाग्ने गरेको उनले बीबीसीलाई बताइन्। आफूहरूलाई डायन भएको आछेप लाउने आझा सोही गाउँको भएको उनले थपिन्।
प्रहरीले डायन प्रताडनाको मामिलामा सबै आरोपी अभियुक्तलाई पक्राउ गरिसकेको र घटनाको जाँच भइरहेको जानकारी दिँदै गाउँमा जागरुकता अभियान चलाइएको बताए। पक्राउ परेकामा ३ महिला पनि रहेको प्रहरी एसएसपी कुलदिप द्विवेदीले बताए। अन्धविश्वासका कारण उनीहरूले त्यस्तो कार्य गरेको उनले बताए।