संगीतसँगै सम्मान



कृपा फाउन्डेसनले पहिलो वार्षिकोत्सवको अवसरमा राजधानीमा आयोजना गरेको कार्यक्रममा गीतकार तथा साहित्यकार रत्नशमशेर थापा र गायक योगेश वैद्यलाई कृपा संगीत रत्न सम्मानबाट गरेको छ।

फाउन्डेसन अध्यक्ष शिवकुमार लामिछाने, प्रमुख अतिथि गायक प्रेमध्वज प्रधानलगायतले उनीहरूलाई सम्मान गरेका हुन्। कार्यक्रममा मृगौलामा समस्या आएपछि उपचार गराइरहेका गायक ओमविक्रम विष्टका लागि नगद ५१ हजार रुपियाँ प्रदान गरिएको थियो। गायक विष्ट अमेरिकामा रहेकाले उनको सम्मान तथा नगद सहयोग उनका छोरा शिखरविक्रम विष्टले ग्रहण गरेका थिए। कार्यक्रममा सम्मानित सर्जकको सम्मानमा गायक शिव लामिछानेले केही गीत प्रस्तुत गरेका थिए। उनले रत्नशमशेर थापाद्वारा रचना गरिएको तथा स्वरसम्राट नारायण गोपालद्वारा संगीत तथा स्वर दिइएको गीत स्वर्गकी रानी, शिव अधिकारी लिखित तथा संगीतकार नाति काजीद्वारा संगीत तथा योगेश वैद्यद्वारा स्वर दिइएको गीत सपना भुलाइ सारा र एल्वर्ट सुब्बाद्वारा लिखित, रोबर्ट सुब्बाद्वारा संगीतबद्ध गायक ओमविक्रम विष्टद्वारा स्वर दिइएको म मौनतामा गाएका थिए।

फाउन्डेसनको पहिलो वार्षिकोत्सवकै अवसरमा जय नेपाल बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो। गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ भने यसलाई शिव लामिछानेले गाएका छन्। गीतको भिडियोमा शिव आफैं प्रस्तुत भएका छन्। यसलाई नरेन लिम्बुले निर्देशन गरेका हुन्। गीतको छायांकन नरेन र विनयले संयुक्तरूपमा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्