एकताका लागि सातबुँदे आधार तयार



मधुसूदन रायमाझी, काठमाडौं
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताका लागि सातबुँदे सहमति–पत्रमा हस्ताक्षर भएको छ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पद बाँडफाँड र सैद्धान्तिक विषयमा सहमति जुटेपछि औपचारिक रूपमा पार्टी एकता गर्ने सहमति भएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ देखि राति अबेरसम्म बसेको पार्टी एकता संयोजन समितिको बैठकले यस्तो आधार तयार पारेको हो।

बैठकपछि सार्वजनिक गरिएको सहमति–पत्रका अनुसार पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ र पार्टीको निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद रहने उल्लेख छ। यस्तै एमालेले अवलम्बन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र माओवादी केन्द्रले अवलम्बन गरिआएको ‘माओवाद र २१औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्वयक परिमार्जन र विकास गर्न सकिने सहमतिमा हस्ताक्षर भएको छ।

एमालेले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’अन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्ना श्रेष्ठता स्थापित गर्नेलगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत आफ्नो श्रेष्ठता स्थापित गर्दै समाजवादको आधार निर्माण गर्नेलगायतका मान्यतामा समान धारणा रहेको सहमतिमा खुलाइएको छ।

सोही आधारमा टेकेर अन्तरिम राजनीतिक प्रतिवेदन एवम् अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गरिने बताइएको छ। आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्य रूपले सम्पन्न गर्ने पनि दुई दलबीच सहमति भएको छ। एमाले र माओवादी केन्द्रबीच सरकार गठनअघि नै पार्टी एकता गर्ने विषयमा सहमति जुटे पनि अन्तिम समयमा आएर सैद्धान्तिक विषयमा दुई दलबीच कुरा मिल्न सकेको थिएन। सरकार गठनपछि ओली र प्रचण्डबीच भएको ‘वान टु वान’ छलफलले अन्ततः दुई पार्टीबीच एकता गर्ने सहमति जुटेको हो। ओली र प्रचण्डबीच सोमबार भएको छलफलमा पार्टी एकताको प्रक्रिया अगाडि बढाउने सहमति जुटेको थियो।

सोमबार बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले दुई पार्टी अध्यक्षले गरेको सहमतिलाई अनुमोदन गरेको थियो। सहमतिअनुसार एकीकृत पार्टी द्वि अध्यक्षात्मक प्रणालीअनुसार सञ्चालन हुनेछ। ओली र प्रचण्ड संयुक्त रूपमा अध्यक्ष रहनेछन् भने बैठकको अध्यक्षता आलोपालो हुनेछ। सरकारको नेतृत्व आलोपालो प्रणालीअनुसार आधा–आधा कार्यकाल हुनेछ।

प्रधानमन्त्री र राष्ट्रपति एमालेले लिने र उपराष्ट्रपति र सभामुख माओवादी केन्द्रले लिने विषयमा पनि दलबीच सहमति भएको छ।

एमाले र माओवादी केन्द्रबीच गत असोज १७ गते वाम गठबन्धन निर्माण गर्ने घोषणा गर्दै ६०⁄४० को भागवण्डामा निर्वाचनमा होमिएका थिए। निर्वाचनमा बहुमत ल्याएको वाम गठबन्धनले निर्वाचन सम्पन्न भएलगत्तै पार्टी एकता घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर ओली र प्रचण्डबीच दर्जनौंपटक भएका छलफलमा पनि कुरा मिल्न नसक्दा एकता प्रक्रिया लम्बिएको थियो।

सहमतिपत्रमा पार्टी एकता संयोजक समितिका तर्फबाट एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रका नेता रामबहादुर थापा र नारायणकाजी श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

एकता संयोजन समिति बैठकले जारी गरेको सातबुँदे सहमतिपत्रमा पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुखलगायत पद बाँडफाँटका विषय उल्लेख गरिएको छैन। सहमतिपत्रमा महाधिवेशन कहिलेसम्म गर्ने भन्ने विषय पनि टुंगो गरिएको छैन।

महाधिवेशन नभएसम्म संगठन र नेतृत्वका विषयमा पनि सहमतिपत्र मौन छ। संगठनात्मक र सैद्धान्तिक विषय हल गर्नका लागि दुई कार्यदल गठन गर्ने चर्चा भए पनि सहमतिपत्रमा सो कुरा उल्लेख गरिएको छैन। बैठकपछि एमालेका महासचिव ईश्वर पोखरेलले बैठकमा भएको सहमति लिखित रूपमा दिइएकाले यसबाहेक थप कुरा नभएको बताउनुभयो।

बैठकपछि प्रचण्डले भन्नुभयो– ‘दुवै दलका अध्यक्ष एकता महाधिवेशनसम्म रहने स्पष्ट छ। पार्टीका बैठकमा ओलीजी र म दुवै जनाले पालैपालो अध्यक्षता गर्ने गरी सहमति भए पनि सहमतिमा यो विषय उल्लेख छैन। दुवै पार्टी एक भइसकेको अवस्थामा सरकारमा माओवादीको सहभागिता हुन्छ भन्ने प्रश्नको जवाफ दिन उपयुक्त नहोला। केपी ओली प्रधानमन्त्री भइसक्नुभएकाले पछि हुने कुरा पछि नै गरौं।’

फागुन २ गते एकता सहमतिपत्रमा हस्ताक्षर गर्ने भनिए पनि अन्तिम समयमा आएर अड्किएको थियो। वाम गठबन्धनले सातमध्ये ६ प्रदेशमा पनि सरकार बनाएको छ। दुई दलले ६ प्रदेशका मुख्यमन्त्री र सभामुख र उपसभामुख पनि भागबन्डाको आधारमा पद बाँडफाँड गरेका छन्।

आलोपालो प्रधानमन्त्री हुने भन्ने सञ्चारकर्मीको जिज्ञाशामा माओवादी अध्यक्ष प्रचण्डले केपी ओली प्रधानमन्त्री भइसक्नुभयो भन्ने प्रतिक्रिया दिनुभएको थियो। दुई अध्यक्षबीच सहमतिपत्रमा नै आलोपालो प्रधानमन्त्री बन्ने भन्ने विषयले नकारात्मक सन्देश जाने भएकाले आधा आधा कार्यकाल प्रधानमन्त्री बन्ने भद्र सहमति भएको बताइएको छ।

पार्टी एकता गर्ने सातबुँदे सहमति भएसँगै नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने भएको छ। माओवादी केन्द्र केही दिनमा नै सरकारमा सहभागी हुने भएको हो। माओवादीका एक नेताका अनुसार माओवादीले पाउने मन्त्रालयको संख्याको बारेमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली र माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटेको छ।

माओवादीका ती नेताले भने– ‘कतिवटा मन्त्रालय रहन्छ, मन्त्रालयको टुंगो लागेपछि माओवादी केन्द्रले ५ देखि सातवटा मन्त्रालय पाउँछ।’ मन्त्रालय भागवण्डाका बारेमा दुई पार्टीभित्र छलफल हुन बाँकी नै रहेको छ। पार्टी एकताको प्रक्रिया टुंगो नलागेको भन्दै यसअघि माओवादी केन्द्रले सरकारमा आफ्ना मन्त्री पठाएको थिएन। एमालेका तर्फबाट दुई मन्त्री सहभागी भएका छन्।

संविधानमा नै राज्यमन्त्रीसहित २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाइने प्रावधान रहेको छ। कतिवटा मन्त्रालय रहने भन्ने विषययमा सरकारले निर्णय गरेपछि मात्र एमाले र माओवादी केन्द्रले मन्त्रालयको भागवण्डा गर्नेछन्। माओवादी केन्द्रका तर्फबाट भने राष्ट्रियसभाका सदस्य रहेका नेता रामबहादुर थापा बादलले पार्टीका तर्फबाट सरकारमा नेतृत्व गरेर जाने विषयमा सहमति भएको छ। थापाले उपप्रधानमन्त्रीसहित एक मन्त्रालयको जिम्मेवार सम्हाल्नेछन् भने माओवादी केन्द्रले गृहमन्त्री पाउने विषयमा दुई दलबीच मोटामोटी सहमति भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्