प्रधानन्यायाधीश भन्छन्– मेरो बारेमा गलत सूचना सम्प्रेषण भयो



काठमाडौं (नेस) ।

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफू प्रधानन्यायाधीश भएपछि न्याय सम्पादनको कार्यमा इतिहासमा नै सबैभन्दा धेरै प्रगति भएको बताउनु भएको छ ।

बाल सुधार गृह, सानोठिमीले सोमबार भक्तपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश पराजुलीले आफ्नो पालामा नयाँ सर्वोच्च अदालत नियमावली ल्याउन सकेको र यसले गर्दा अतिरिक्त समयमा पनि न्याय सम्पादनको कार्य हुन सकेको उल्लेख गर्नुभयो । उहाँले यसले गर्दा न्याय सम्पादको कार्यमा प्रगति भएको जनाउनुभयो ।

विगत डेढ बर्ष देखि अवरुद्ध भएको संवैधानिक इजलास नियमित रुपमा संचालनमा आएको, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुलगायतका मुद्दालाई विशेष प्राथमिकतामा राखेर सुनुवाई गरिरहेको उहाँले जनाउनुभयो । उहाँले भन्नुभयो—‘न्यायालयमा भएका राम्रा र सुधारका कामको अनुहार हेर्नै नसक्ने ब्यक्तिहरुले निच तबरबाट प्रस्तुत भएर भ्रमको खेती गरिरहेका छन् ।’

प्रधानन्यायाधीश पराजुलीले न्यायालय र मिडिया सत्यताको उजागर गर्नको लागि विकास भएकाले एक अर्कालाई निषेध गरेर समाज परिवर्तन हनु नसक्ने बताउनुभयो । सत्यताको उजागर गर्नको लागि विकास भएकाले न्यायालय र मिडिया नै समाजको सत्यको प्रतीक भएको उहाँले उल्लेख गर्नुभयो । उहाँले समाजमा आफूलाई अहम् र ठूलो ठान्नेहरुले नै असभ्यताको खेति गरिरहेका बताउनुभयो । अर्काको बारेमा भ्रामक सूचना सम्प्रेषण हुन थालेको उल्लेख गर्दै उहाँले न्यायालय र मिडियाको कार्यशैली फरक भएपनि लक्ष्य भने सत्यको खोजी नै भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा बाल न्याय समन्वय समितिका अध्यक्ष समेत रहेका सर्वोच्च अदालतका न्यायाधीश सारदाप्रसाद घिमिरेले बाल सुधार गृहलाई समयसापेक्ष आधुनिक र न्यायिक बनाउँदै लैजानु पर्ने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्