मध्यमस्र्याङ्दी बन्द हुने तर लोडसेडिङ भने नबढ्ने



नेपाल समाचारपत्र
काठमाडौं
बाँध मर्मत गर्नुपर्ने भएकाले ७० मेगावाट जडित क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्र करिब १० दिन बन्द हुने भएको छ। केन्द्रको बाँधको बायाँतर्फको क्षेत्रमा भूक्षयलाई रोक्न राखिको संरचनाको मर्मतका लागि १० फागुनबाट बन्द गर्न लागिएको हो।

मध्यमस्र्याङदी बन्द भए पनि लोडसेडिङ भने गर्नु नपर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। यद्यपि, कुनै समस्या आएमा विद्युत् आपूर्ति कहिलेकाँही अवरुद्ध हुन सक्ने घिसिङले प्रष्ट पार्नु भयो।

उहाँले भन्नुभयो–‘यस अवधिमा लोडसेडिङ हुन नदिन कुलेखानी पहिलो र दोस्रो विद्युत् गृह पूर्ण क्षमतामा चलाउनेलगायतका वैकल्पिक व्यवस्थाको बन्दोवस्ती गरिसकेका छौं।’ उहाँका अनुसार, कुलेखानी जलाशयमा पानीको सतह १५२१ दशलमलव ९८ मिटर छ, जुन गतवर्षको यही अवधिको तुलनामा करिव ३ दशमलव ८३ मिटर बढी हो। कुलेखानी पहिलोबाट ६० मेगावाट र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगावाट विद्युत् उत्पादन हुन्छ।

मध्यमस्र्याङ्दीको बाँधको बायाँतिरको भागमा पानीले कटान गर्दा पहिले बनाइएको संरचनामा क्षति पुगेको छ। थप क्षति हुन नदिन मर्मत गर्न लागिएको केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिनुभयो।‘गत वर्ष नै मर्मत गर्न लागेका थियौं तर भार प्रेषण केन्द्र (एलडीसी)बाट विद्युत व्यवस्थापनमा गाह्रो हुने बताएपछि रोकिएको थियो,’ उहाँले भन्नुभयो–‘यस वर्ष पनि गरिएन भने थप क्षति पुग्ने देखिएपछि सात दिनभित्र मर्मत सक्ने गरी एलडीसीबाट सट डाउन पाएका छौं।’ गौतमका अनुसार, मर्मतको काम २४सै घण्टा तीन सिफ्टमा सञ्चालन हुनेछ।

केन्द्रबाट विद्युत्को माग बढी हुने साँझ र विहान (पिक आवर) मा७० मेगावाट र अन्य समयमा करिब ३० मेगावाट विद्युत् उत्पादन हुन्छ। मध्यमस्र्याङ्दी अर्धजलाशययुक्त (पिकिङ रन अफ रिभर) आयोजना हो।

प्रतिक्रिया दिनुहोस्