रेल मार्गको ठाउँ सारे रेलमार्ग आउन नदिने चेतावनी



यमलाल भुसाल, बुटवल ।
तिलोत्तमा नगरपालिकाले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको कामलाई यसअघि नै सर्वे भई विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भैसकेकैं स्थानबाटैं अगाडि बढाइनुपर्ने जनाएको छ । रेलमार्गका लागि बैकल्पिक स्थानबाट सर्वे गर्न थालिएको भन्दै वडा नं. १ र ४ का बासिन्दा त्रसित भैरहँदा नगरपालिकाले आफ्नो धारणालाई प्रष्टाएको हो ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत्को रेलवे विभागले बुटवलको कालिकानगर क्षेत्रबाट तम्सरिया–बुटवल खण्ड तथा बुटवल–भैरहवा–लुम्बिनी लिङ्कका लागि यसअघि नै सर्वे गरी विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरिसकेको छ ।
तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले रेलमार्ग पहिले नै सर्वे भएको स्थानबाट अघि बढाइनुपर्ने बताउँदै ठाउँ सार्ने विषयमा नगरपालिका सहमत नरहने बताउनु भयो ।
‘रेलमार्गको ठाउँ सार्ने विषयमा तिलोत्तमा नगरपालिका सहमत हुनै सक्दैन ’ उहाँले भन्नुभयो, ‘ठाउँ सार्दै जाने हो भने रेलमार्ग सम्भव पनि छैन ।’
नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरी रेलमार्गलाई वडा नं. १ र ४ बाट लैजाने भन्दै गरिएको ‘सर्वे’ प्रति ध्यानाकर्षण भएको जनाउँदै उक्त कार्य बन्द गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेकोछ । सोही विषयलाई लिएर नगरपालिकाले रेल विभागलाई पत्र पठाइसकेको छ । रेल विभागले तिलोत्तमाको वडा नं. १ र ४ मा सर्वे नभई ‘अध्ययन’ मात्र गरिएको जनाएको छ ।

नगर प्रमुख घिमिरेले रेलको सर्वे नयाँबाट गर्न थालिएको भन्ने विषयमा सम्बन्धित क्षेत्रका सांसदहरुको ध्यानाकर्षण गराउँदा उहाँहरुले समेत यसअघि नै सर्वे भएको स्थानबाट रेलमार्ग अघि बढ्ने कुरामा आफूहरु अडिग रहेको बताउनुभयो । ‘नयाँ ठाउँबाट रेलको सर्वे भएको भन्ने विषयमा मैले यस क्षेत्रका सांसदहरुसँग समेत कुराकानी गरिसकेको छु । उहाँहरुले यसअघि नै सर्वे भएको ठाउँबाटै रेलमार्ग जाने कुरामा आफूहरु अडिग रहेको कुरा बताउनुभएको छ ।’ नगर प्रमुख घिमिरेले भन्नुभयो ।

नगरपालिकाले स्थानीय सरकारसँग समन्वय र जानकारीबिना रेलमार्गका लागि अध्ययन गरिएकाले यो सफल नहुने भन्दै त्रसित नहुन स्थानीय बासिन्दालाई आग्रह गरेको छ । ‘म स्थानीय बासिन्दालाई ढुक्क रहन र आ–आफ्नो काममा केन्द्रीत हुन अनुरोध गर्दछु । स्थानीय बासिन्दाको भावना विरुद्ध कुनै काम हुँदैन ।’ उहाँले प्रष्टाउनुभयो ।

रेल विभागले समेत तिलोत्तमाको वडा नं. १ र ४ मा रेलमार्गको सर्वे नगरिएको जनाएको छ । तिलोत्तमा वडा नं. १ र ४ का बासिन्दाहरु रेलमार्ग सार्न नदिने भन्दै बिहीबार नगरपालिकामा डेलिगेशन गएका थिए । उनीहरुले आफूहरु विकासविरोधी नभएको तर पहिले सर्वे भएकै स्थानबाट रेलमार्ग निर्माण गरिनुपर्ने बताएका छन् । विद्युतीय रेलमार्गको डिपिआरमा बुटवलको कालिकानगर भएर रेल लैजाने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्