‘सहकारी अभियान रोक्न अर्थ मन्त्रालयको दादागिरी’



विन्धबासिनी सहकारीको रजत महोत्सव

मोतीराम तिमल्सिना, काभ्रे ।

२ अरब कारोवार गरेको जिल्लाकै नमुना विन्धबासिनी सहकारीले स्थापनाको २५ औ बर्ष पुरा गरेको अवसरमा २५ वटै कार्यक्रम गरेर रजत महोत्सव मनाएको छ । राष्ट्रिय सहकारी बोर्डका सह अध्यक्ष दक्ष पौड्यालले महोत्सवको उद्घाटन गरेका थिए ।

रजत महोत्सवमा बोल्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका अध्यक्ष डिबी बस्नेतले सहकारीलाई सरकारले तीन खम्बे भने पनि ब्यवहार त्यस्तो नदेखाएको गुनासो गरे । गरिवी निवारण र राष्ट्रको अर्थतन्त्र सुधार्न सहकारीले खेलको भूमिकालाई समेत सरकारले बेवास्ता गरेको बताउँदै बस्तेनले सरकारको बेवास्तालाई राष्ट्रिय सहकारी बोर्डले समेत विरोध गर्न नसकेको बताए ।

भुकम्प पीडितहरुलाई २ प्रतिशत ब्याज दरमा ऋण उपलब्ध गराउन र लघु वित्त कार्यक्रम मार्फत सहकारीले संचालन गरेको अभियानलाई २ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउन सरकारले आनाकानि गरिरहेको बस्नेतले बताए । त्यस्तै सरकारले सहकारी ऐन जारी भएको अवस्थामा सहकारीहरुले प्राप्त गरेको कर छुटको प्रावधानलाई समेत अर्थमन्त्रालयको दादागिरीले रोकिएकोमा पनि सहकारी क्षेत्रका कृयाशिल संघ संस्थाहरुले दबाब दिन नसकेको बताए ।

कार्यक्रममा बोल्दै सह अध्यक्ष पौड्यालले सहकारी ऐनका विविध विषयलाई समेट्ने गरी अघि बढ्ने बताए । समस्याग्रस्त सहकारी ब्यवस्थापन समितिका अध्यक्ष गौरीबहादुर कार्कीले सहकारीलाई समस्याग्रत हुनै नदिने कार्यक्रम ल्याउने र सहकारीमा सदस्य हित कोषको स्थापना गरिनु पर्ने बताए । कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष विनोद पराजुली, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका अध्यक्ष रामहरी केसी, पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना लगायतले मन्तब्य राखेका थिए । २०५० साल कार्तिक २९ गते स्थापना भएको विन्धबासिनीले जिल्ला सहकारी कार्यालयबाट २०५० फागुन ६ गते अनुमति प्राप्त गरेको थियो । खोपासीका गुरागाई परिवारले शुरु गरेको सहकारीमा ३३ हजार शेयर सदस्य आवद्ध भई २ अरवको कारोवार गरिरहेको छ ।

रजत महोत्सवको अवसरमा अध्यक्ष प्रदिप थापाले आगामी कार्यक्रमका बारेमा जानकारी गराएका थिए भने प्रमुख ब्यवस्थापक केवी लामाले सहकारीले २५ वर्षको इतिहासमा गरेका महत्वपूर्ण कार्यका बारेमा जानकारी गराएका थिए । अन्र्तराष्ट्रिय ब्राण्डका पुरस्कार प्राप्त गरिसकेको विन्धबासिनी जिल्लाका ८ वटा स्थानीय तहमा संचालनमा रहेको छ । सहभागिहरुले सहकारीले आउँदा दिनमा उद्यमशिलता लगायतका क्षेत्रमा अगाडी बढ्न सुझाव दिए ।

रजत महोत्सवको अवसरमा दलित शैक्षिक छात्रवृत्ति २ जनालाई ३ हजारको दरले प्रदान गरिएको थियो भने सामुदायिक विद्यालय स्तर हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई नगर सहित पुरस्कार वितरण गरिएको थियो । त्यस्तै नृत्य प्रतियोगिता, ब्याण्डमिन्टन प्रतियोगितामा विजेतालाई पुरस्कार सहित असल ऋणी सहुलियत परिचय पत्र वितरण ३२ जनालाई वितरण गरिएको थियो । जिल्ला ब्यापी पुरुष भलिबल प्रतियोगिता, क्षेत्रिय भेलामा नृत्य प्रस्तुती प्रशंशा पत्र, तदर्थ संचालक समिति प्रशसा पत्र, पुर्व कर्मचारी र सहयोगीहरुलाई सम्मान गरिएको थियो । उक्त संस्थामा संस्थापक अध्यक्ष खोपासीका भरत शर्मा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्