उपाधि जित्ने दाउमा मनाङ



हेटौंडा, (नेस)
हेटौंडामा पहिलो वर्ष गोल्डकप उचालेको मनाङ–मस्र्याङ्दीले तेस्रो संस्करणको विजेताका लागि पनि आफू योग्य भएको संकेत गरेको छ।

शनिबार शुरु हेटौंडा गोल्डकप फुटबलको तेस्रो संस्करण उद्घाटन खेलमा मनाङले प्रतिद्वन्द्वी सशस्त्र प्रहरीको एपीएफविरुद्ध संघर्षमय १–० को नतिजा निकाले पनि उसको खेलकलाले मनाङ एक प्रमुख दाबेदार देखिएको आँकलन गरिएको हो। जितसँगै मनाङ–मस्र्याङ्दीले सेमिफाइनलमा स्थान बनाएको छ। सेमिफाइनलमा मनाङले नेपाल आर्मी र सुदूरपश्चिम–११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

२७औं मिनेटमा पेनाल्टीमार्फत सुजल श्रेष्ठले गरेको गोल नै विजयी गोल बनेपछि मनाङ–मस्र्याङ्दीले विजयी शुरुआत गरेको हो। वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा शुरु खेलमा एपीएफका डिफेन्डर सुरज गुरुङले मनाङ–मस्र्याङ्दीका अफ्रिकीमूलका खेलाडी भिक्टरलाई फाउल गरेपछि पाएको पेनाल्टीमा सुजलले गोल गरेका हुन्।

प्रतियोगितामा मनाङ–मस्र्याङ्दीका हेटौंडेली स्टार अञ्जन विष्ट म्यान अफ दी म्याच भए। उनले नगद ५ हजारसहित हेटौंडा एकेडेमी म्यान अफ दी म्याच पुरस्कार पाए। खेलपछि प्रतिक्रिया दिँदै मनाङ–मस्र्याङ्दीका प्रशिक्षक छिरिङ लोप्साङले वर्क परमिटका कारण विदेशी खेलाडीले खेल्न नपाउँदा आफूहरूलाई समस्या परेको र सोचेजस्तो खेल खेल्न नसकिएको बताए। लोप्साङले आफ्नो टिममा रहेका खेलाडीलाई मैदानमा उतार्न नपाउँदा राम्रो खेल खेल्न पस्किन नसकिएको बताए। प्रशिक्षक महर्जनले समग्रमा प्रतियोगितामा आफ्नो खेलाडीले राम्रो खेल प्रदर्शन गरेको दाबी गर्दै ट्याकल गर्दा बलमा छोएको र पेनाल्टी दिनै नमिल्ने अवस्थामा रेफ्रीले पेनाल्टी दिएको आरोप लगाए।

प्रतियोगिताअन्तर्गत् आइतबार नेपाल प्रहरी र हेटौंडाको विजय युथबीच खेल हुनेछ। १२ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन हेटौंडा उप–महानगरका मेयर हरिबहादुर महतले गरेका थिए। प्रतियोगितामा ३ विभागीयसहित आठ टिमको सहभागिता छ। ‘ए’ डिभिजन क्लब थ्री–स्टार, मनाङ–मस्र्याङ्दी, नेपाल पुलिस, नेपाल आर्मी, सशस्त्र प्रहरीको एपीएफ, संकटासहित हेटौंडाको विजय युथ र सुदूरपश्चिम–११ प्रतियोगितामा सहभागी छन्।

प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाखसहित शिल्ड र मेडल प्राप्त गर्नेछन्। प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद १५ हजार रुपियाँ नगद प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीलाई नगद ५० हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ। सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनमा शुरु भएको प्रतियोगिता १२ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्