अमेरिकी चुनावमा हस्तक्षेप गरेकामा रुसी नागरिकमाथि आरोप तय



वासिङ्टन, (एजेन्सी)
अमेरिकाको अनुसन्धान एजेन्सी एफबीआईले सन् २०१६ को राष्ट्रपति चुनावमा भएको हस्तक्षेपलाई लिएर १३ रुसी नागरिकविरुद्ध आरोप तय गरेको छ।

उनीहरूमाथि गैरकानुनी तरिकाबाट अमेरिकी चुनावमा हस्तक्षेपको प्रयास गरेको आरोप लगाइएको छ। तीमध्ये ३ जनामाथि प्रविधिको माध्यमबाट दिग्भ्रमित पार्ने र अरूको पहिचान प्रयोग गरेको आरोप लगाइएको छ। तीबाहेक ३ रुसी कम्पनीलाई पनि उक्त अपराधमा सहभागी रहेको उल्लेख गरेको छ। सञ्चार माध्यमसमक्ष उपन्यायाधिवक्ता रड रोसनस्टाइनले कुनै अमेरिकी नागरिकमाथि गैरकानुनी गतिविधिमा सहभागी भएको आरोप नभएको र रुसको ती प्रयासले चुनावको नतिजामा पनि कुनै प्रभाव नपरेको बताएका थिए।

चार्जसिटमा रुसी नागरिकले आफूलाई अमेरिकी भएको देखाउँदै आफ्नो नाममा बैंक अकाउन्ट खोलेको र राजनीतिक विज्ञापनमा हजारौं डलर खर्च गरेको र अमेरिकामा राजनीतिक र्याली आयोजना गरेको उल्लेख छ।

उनीहरूले सामाजिक सञ्जालमा झुठा नामको अकाउन्ट बनाई राजनीतिक पोस्ट गरी प्रत्यासी हिलारी क्लिन्टनको छवि बिगार्ने प्रयास गरेका थिए। उनीहरूको बजेट महिनामा १२ लाख ५० हजार डलर हुने गरेको पनि बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त मुद्दालाई लिएर ट्विट गरेका छन्– ‘मेरो राष्ट्रपति चुनावमा उठ्ने घोषणा हुनुपहिले नै रुसले सन् २०१४ मा अमेरिकी चुनावविरुद्ध तयारी गरेको थियो। चुनावको नतिजा यसबाट प्रभावित भएन। ट्रम्प क्याम्पेनले कुनै गलत काम गरेको छैन।’

रुसले ती आरोपलाई लिएर प्रतिक्रिया दिएको छ। रुसको विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोवाले आरोपमा कुनै तुक नभएको बताएकी छिन्। करोडौं डलर सुरक्षा एजेन्सीको बजेट भएको अमेरिकी चुनावमा ती १३ जनाले हस्तक्षेप गर्न सम्भव नभएको उनले बताइन्। अमेरिकीहरू आफूले जे चाहेको हो त्यही मात्र हेर्छन्।

प्रतिक्रिया दिनुहोस्