अपराध र आपराधिक कार्यका तत्त्वहरू



दामोदर पौडेल

मानिसले विभिन्न काम गर्दछ। कामलाई विभिन्न भागमा बाँड्न सकिन्छ। सामान्य कार्य, कानुनले निषेध गरेको कार्य, कानुनले गर्न भनेको कार्य जस्ता कामहरू हुने गर्दछन्। कानुनले भने मूलभूत रूपमा २ किसिमका कार्यहरूका बारेमा ध्यान दिने हुन्छ। एउटा कानुनले नगर्न भनेको काम गर्नु र अर्को कानुनले गर्न भनेको काम गर्नु कानुनविपरीत हुन्छन् र ती सजायँ वा कानुनी दाइत्वको दायरामा पर्दछन्। कानुनका सिद्धान्त अर्थात् विधिशास्त्रमा काम आपराधिक हुनका लागि मूलतः दुई अवस्थाको उल्लेख हुन्छ। आपराधिक मनसाय र आपराधिक कार्यहरू पूर्ण अपराधका लागि आवश्यक तत्त्व हुन्। कानुनविपरीतका कार्यहरू सबै अपराध भने हुँदैनन्। जस्तै कसैले करार पूरा गरेन भने त्यो पनि कानुनविपरीत हो तर यो आपराधिक कार्य होइन। अपराध हुनका लागि मुख्यतः सम्पत्ति, पद तथा अपराधबाहेकका कानुनी अधिकारभन्दा बाहिरका काम हुनुपर्दछ।

कानुनले नै कतिपय कार्यलाई अपराध नै भनेर तोकेको हुन्छ। अपराध के हो भन्ने बुझ्न सजिलो उपाय भनेको लेन–देन, जग्गा जमिन आदि सँग मात्र सम्बन्धित गलत कार्य कानुनविपरीत हुन्छ र त्यस्ता कार्यबाहेकका अरू कार्य कानुनविपरीत र अपराध दुवै हुन्छन्। अपराध गरेमा जरिवाना र सजायमध्ये दुवै हुन सक्छ र कानुनविपरीतको काम तर अपराध नहुने रहेछ भने त्यसमा बिगो अर्थात् भएको खतीको आधारमा त्यो वस्तु, सामान वा पैसा अन्यायमा पर्नेलाई दिइन्छ।

अपराध हुनका लागि अपराधका केही तत्त्व हुन्छन्। आपराधिक मनसाय र आपराधिक कार्यलाई अझै व्यापकरूपमा व्याख्या गरिन थालिएको पाइन्छ। अपराध गर्न कसैले पनि पहिला मनमा यस्तो कार्य गर्नेबारेमा सोच्ने कार्य हुन्छ। जस्तै कसैले चोरी गर्नभन्दा पहिला मनमा चोरी गर्ने कुरा सोच्दछ। त्यसपछि योजना बनाउँछ। योजना बनाएपछि त्यसलाई पूरा गर्न विभिन्न तानाबाना बुन्छ। जस्तै चोरीमा प्रयोग हुने सामान आदिको व्यवस्था गर्दछ। त्यो व्यवस्थापछि षड्यन्त्र हुन्छ। यो काम सामान्यतः एक जनाभन्दा बढी मानिसबाट हुन्छ। षड्यन्त्रपछि आपराधिक काम गर्न तयारी भएर काम नै शुरू गर्न थालिन्छ। यस अवस्थामा अपराधको चरमबिन्दु भने भएको हँुदैन। चोरीमा मानिस चोर्न जान्छ, चोर्न ढोका पनि फोर्दछ तर चोरी गर्न सक्दैन भने त्यो चोरीको उद्योग हो। त्यसपछि चोर्नेले सामान वा अन्य कुरा चोर्न पनि सक्छ भने त्यति बेला पूर्णरूपमा आपराधिक कार्य पूरा हुन्छ।

कतिपय अवस्थामा अपराध भएर पनि पूर्ण अपराध नमानिएर केही अपराध मानिन्छ। जस्तै मानिसलाई मार्ने उद्देश्यले कसैले–कसैलाई हतियार चलायो तर मानिसलाई चोट त लाग्यो, मानिस मरेन भने त्यो ज्यान मार्ने उद्योग हुन्छ। उद्योग र षड्यन्त्रमा केही भिन्नता छ। उद्योग हुन काम शुरु भएको हुनुपर्दछ भने षड्यन्त्रमा काम शुरु नभएको हुन सक्छ वा काम शुरु भए पनि वा नभए पनि त्यो काम गर्नलाई प्रस्ट योजना बनाइएको हुन्छ। आपराधिक काम गर्नेबाहेक त्यसमा सहयोग गर्नेहरू षड्यन्त्रमा सामिल हुन सक्छन्।

मनशाय मात्र भएर कुनै काम भएन भने त्यो कहिल्यै अपराध हुँदैन किनभने त्यो मनमा नै सीमित हुन्छ वा त्यो स्थुल हुन पुगेको हुँदैन। तर, धेरैजसो अवस्थामा अपराध भएपछि मनसायको ठूलो महत्त्व हुन्छ किनभने मनसाय नभई भएको अपराधमा पूर्णरूपमा आपराधिक दायित्व रहँदैन र कहिलेकाहीं त अपराध नै मानिँदैन। जस्तै भीरको बाटोमा वा पोखरीको नजिक साथीबीच कुरा हुँदै गर्दा धकेलेर अर्कोको मृत्यु हुन गएमा त्यहाँ आपराधिक कार्य त हुन्छ तर अपराध गर्ने मनसाय हुँदैन।

यस्तोमा लापरबाहीमा हुने सजाय हुन सक्छ। कतिपय अवस्थामा साह्रै कम सजाय पनि हुन्छ। उदाहरणका लागि आमाले बच्चालाई दूध खुवाउँदा ध्यान नदिएकाले नाक थुनिएर बच्चा मरेमा आमालाई नगन्य सजाय हुन्छ। यस्तो अवस्थामा मनसायको ठूलो भूमिका हुन्छ। जस्तै आमाले बच्चाको अवस्थालाई ध्यान नदिई जथाभावी कुटपिट गरेर बच्चा मरेमा केही बढी सजाय हुन्छ। अर्को मानिससँग गलत सम्बन्ध भएकाले बच्चाले देखेकाले अरूलाई भनिदिन्छ कि भन्ने डरले मारेमा उसलाई पूरा सजाय हुन्छ। यस्तो अवस्थामा गलत मनसाय र कार्य दुवै हुने हुँदा सजाय पनि पूरा हुन्छ।

गलत मनसाय नभई गरेको कार्यमा अपराधको गहनता कम हुन्छ। तर, अपराध गर्ने मनसाय थिएन भनेर कुनै पनि अपराधमा नाम मुछिँदा चुप लागेर बस्न भने हुँदैन। सम्बन्धित अड्डामा गएर आफ्नो साँचो कुरा भन्नुपर्दछ। नत्र आपराधिक मनशाय रहे⁄नरहेको तथ्य अरूलाई थाहा नहुने हुँदा अपराध गरेको भन्ने सम्झेर सजाय हुनसक्छ। किनभने राज्य भगवान् होइन। त्यसैले यसले हाम्रो मनको कुरा थाहा पाउँदैन। सजाय भएपछि राज्यले पक्रन्छ। आफ्नो भन्न पाउने अवधि वा समय हुन्छ। त्यो समयलाई म्याद भनिन्छ। त्यो नाघेपछि आफ्नो गल्ती नभएको प्रमाण पनि देखाउन पाइँदैन। यद्यपि यसका पनि केही अपवाद छन्। जस्तै एक मानिसलाई अर्को मानिस मारेकोमा थुनिन परेको थियो। उसले अपराध गरेको स्वीकार गरेको पनि थियो। तर, मरेको भनेको मानिसलाई मारेको भनिएकाले लखेटेकोमा खोलामा बगेको रहेछ र बाँचेछ। त्यसपछि ऊ त्यतैबाट अन्यत्र गएछ। धेरै समयपछि ऊ फर्कियो। थुनिएको मानिसलाई अदालती प्रक्रियाअनुसार छोड्ने काम भयो। यसमा मनसाय पनि थियो अपराध पनि भयो तर पीडितलाई कुनै ठूलो चोटसम्म पनि थिएन। यसलाई अपराधको षड्यन्त्रको स्तरमा भने राख्न सकिन्छ।

यस प्रकार पूर्णरूपमा अपराध हुन मनसायदेखि कार्य हुनुपर्ने देखिन्छ। अपराधीमा षड्यन्त्र गर्ने, उद्योग गर्ने, दुरुत्साहन गर्ने र मतियारसमेत पर्दछन्। मुलुकी अपराध (संहिता) ऐन २०७४ ले षड्यन्त्र, उद्योग, दुरुत्साहन, र मतियारलाई सजायको दायरामा राखेको छ। त्यसका केही सरल पक्ष यहाँ उल्लेख गरिएको छ।

आपराधिक कार्यको षड्यन्त्र गर्न हुँदैन। विशेषतः कसैले कुनै अपराधको षड्यन्त्र गरेमा वा कसैलाई त्यस्तो कार्य गर्न लगाएमा सजाय हुन्छ। षड्यन्त्र गरेको मात्र रहेछ तर काम अरूले नै गरेको भएमा पनि त्यस्तो षड्यन्त्र गर्नेलाई काम गर्नेको बराबर सजाय हुन्छ।

त्यस्तै अपराधको उद्योग गर्ने कार्य पनि अपराध नै हो। किनभने यसमा अपराध गर्ने मनसाय र आपराधिक काम दुवै हुन्छ। केवल कामले पूर्ण सफलता प्राप्त गरेको हुँदैन। जस्तै मानिसलाई मार्ने प्रयास भयो तर हात मात्र भाँचियो भने मार्ने नै मनसायले त्यो काम भएको भए उसलाई ज्यान मार्ने उद्योगको सजाय हुन्छ। उद्योगमा सजाय हुँदा सामान्यतः जुन अपराधका लागि उद्योग भएको हो त्यही अपराधमा हुने पूरा सजायको आधा सजाय हुन्छ। जस्तै कसैले कसैलाई मारेमा २० वर्ष कैद हुन्छ भने उद्योग गरेको ठहरेमा आधा सजाय हुन्छ। तर, त्यस अवस्थामा ज्यान मार्ने नै मनसाय थियो भन्ने प्रमाणित हुन पर्दछ। जस्तै अचानक भएको झगडा वा झगडाको विषयमा भएको कुटपिट र ज्यान मार्ने उद्योग कहिलेकाहीं परिणाममा उस्तै देखिन सक्छन्। तर, झगडापछि भएको कुटपिटमा कुटपिटकै मनसाय रहन्छ ज्यान मार्ने मनसाय रहँदैन भन्ने बुझिन्छ। यी दुई अवस्थामा सजायमा भिन्नता हुन्छ।

अपराध गर्नलाई कसैले उक्साउने पनि गर्दछन्। समान्य अर्थमा दुरुत्साहनलाई उक्साहट भन्न सकिन्छ। त्यस्तै उक्साहट गरेमा उक्साउनेलाई अपराध गरेकोलाई हुने सरह सजाय हुने व्यवस्था छ। अपराधमा मतियारको पनि भूमिका हुन्छ। मतियार भनेको पनि अपराध गर्नका लागि पूर्ण सहयोग गर्ने पक्ष हो। त्यसरी अपराध गर्न प्रोत्साहित गर्ने मतियारलाई पनि अपराधी नै मानिनु स्वाभाविक छ। अपराध भएकोमा अपराधमा पूर्ण संलग्न हुने, अपराध गर्न स्थान दिनेसमेत लाई सजाय पूरा हुन्छ। मतियार भए पनि अपराध हुनका लागि महत्त्वपूर्ण सहयोग हुनेबाहेक सहायक काममा मतियार भएकोमा भने कसुर अर्थात् अपराध गर्नेलाई हुनेको आधासम्म सजाय हुन सक्दछ।

यस प्रकार मतियार, षड्यन्त्रकारी, उद्योग गर्नेहरू एक–अर्काका पूरक देखिन्छन्। यस्ता कार्यहरू कानुनीरूपमा निषेधित छन् र सजायको भागी छन्। त्यस्तै कानुनले गर्न भनेको काम नगर्नु पनि अपराध हो। उदाहरणका लागि कसैलाई कसैले मारेकोमा त्यो लुकाउने कार्य वा नभन्ने कार्य अपराध हो भने कतिपय अवस्थामा अपराधका बारेमा सूचना दिनु पनि अपराधविरुद्धको कर्तव्य हो।
(लेखक पौडेल अधिवक्ता हुनुहुन्छ।)

प्रतिक्रिया दिनुहोस्