सेन्ट पिटर्सबर्ग, (एजेन्सी)
बच्चाहरू सबै किसिमका कठिनाइ पार गर्दै स्कुल जाने गरेका घटनाहरू धेरै सुनेका छौं। रुसको एउटा सानो गाउँमा बस्ने बालिका करिनाको पनि त्यस्तै कथा छ, तर केही फरक र अनौठो। राज्यले एउटा बच्चाको सुविधाका लागि कुन हदसम्म व्यवस्था गर्न सक्छ भन्ने उदाहरण पनि हो यो।
स्कुल पढ्ने बच्ची करिनाका लागि रेलवेले विशेष स्टप बनाइदिए, ताकि उनलाई ैस्कुल जान सजिल होस्।
सेन्ट पिटर्सबर्ग र मर्मान्स्कबीच चल्ने उक्त रेलले हालै मात्र पोयाकोन्डा नामक स्थानमा आफ्नो एक विशेष बिसौनी बनाएको छ। उक्त बिसौनीको एक मात्र उद्देश्य भनेको एक सानी बच्ची र उनकी हजुरआमाले सजिलै स्कुल आवतजावत गर्न सकून् भन्ने हो। रुसको स्थानीय अखबार गुडोकले यसलाई प्रकाशित गरेपछि बीबीसीले पनि उक्त समाचारलाई स्थान दिएको हो।
१४ वर्षीय करिना कोजवाया पोयाकोन्डाबाट आफ्नी हजुरआमासँग स्कुल आउने जाने गर्थिन्। पोयाकोन्डा रुसको उत्तर पश्चिमी छेउमा रहेको एउटा सानो गाउँ हो, त्यहाँको आवादी करिब ५० मात्र रहेको छ। अहिलेसम्म यहाँ रेलले आफ्ना केही कर्मचारी सदस्यका लागि मात्र रोक्ने गथ्र्यो।
त्यसैले करिना र उनकी हजुरआमासँग रेल रोक्ने समयको हिसाबले स्कुल आउने जाने व्यवस्था मिलाउनेबाहेक अर्को उपाय थिएन। उनीहरू बिहान साढे सात बजे घरबाट निस्कथे र राती ९ बजेसम्ममा घर फर्कन्थे। करिनाका हजुरआमाले रेलवे अधिकारीसमक्ष आफ्नो समस्या राखिन्। त्यसपछि उनीहरूको यो समस्यालाई ध्यानमा राखेर रेलवेले उनीहरूलाई पायक पर्ने स्थानमा एक विशेष स्टप बनाइदियो। यसले अब करिना समयमै आफ्नो घर फर्कन पाउने भएकी छिन्।