फोर्डको अर्को कर्तुत फिगो एस्पारमा पनि ठगी



हेमन्त जोशी, काठमाडौं

सवारी साधन उत्पादक कम्पनी फोर्डको नेपालका लागि आधिकारिक वितरक जिओ अटोमोबाइल्स प्रालीले बिक्री गर्ने ‘फिगो एस्पार ट्रेन्ड’ गाडीको बिक्रीमा ग्राहकबाट अस्वाभाविक रूपमा बढी रकम असुल्ने गरेको भेटिएको छ।

जिओ अटोमोबाइल्स प्रालीले फिगो एस्पाएर ट्रेन्ड गाडीको बिक्रीमा ४३ प्रतिशतसम्म मूल्य असुलेर उपभोक्तालाई ठगी गरेको भेटिएको हो। उक्त कम्पनीले फिगो एस्पाएर गाडीमा करिब ९ लाख रुपियाँ कुल नाफा राखेर उपभोक्तालाई बिक्री गर्दै आएको देखिएको छ। कुल बिक्री मूल्य २० लाख ९५ हजार ९ सय २८ रुपियाँ रहेको उक्त गाडीमा कम्पनीले ८ लाख ९४ हजार ७२ रुपियाँ अतिरिक्त शुल्क लिई २९ लाख ९० हजार रुपियाँमा बेच्ने गरेको छ। कुल मूल्य र बिक्री मूल्यबीचको अन्तर हेर्दा कम्पनीले ४३ प्रतिशत खुद नाफा कमाएको देखिन्छ, जुन रकम उपभोक्ताबाट ठगेको अतिरिक्त रकम हो।

यसअघि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनका क्रममा जिओ अटोमोबाइल्स प्रालीले इको स्पोर्ट फोर्ड १ दशमलव ५ लिटर पेट्रोल गाडीको मूल्य सूचीमा जम्मा लागतभन्दा बढी मूल्य लिएको भेटिएको थियो। उक्त कम्पनीले वास्तविक मूल्यमा अतिरिक्त शुल्क लिई उपभोक्तालाई छूटको भ्रम छर्ने गरेको अनुगमनका क्रममा भेटिएको विभागका महानिर्देशक कुमारप्रसाद दाहालको भनाइ छ।

कम्पनीले उक्त गाडीको खरिद र बिक्री मूल्यमा देखिने मार्जिन (ग्रस प्रोफिट)मा विभिन्न शीर्षक जोडी अलग–अलग खर्च समावेश गरेको देखिन्छ। जुन शुल्क गैरकानुनी र अस्वाभाविक रहेको दाहालको भनाइ छ। विभागले गरेको अनुगमन र बयानका क्रममा कम्पनीले ईको स्पोर्ट गाडीको बिक्रीमा गैरकानुनी शीर्षकमा अतिरिक्त रकम लिएको भेटिएको थियो।

उक्त कम्पनीले ग्राहकलाई गाडी खरिदमा विज्ञापन खर्च, प्रशासनिक खर्च, कर्मचारी तलब खर्च, पेट्रोल, मोबिल, हिटर फिटिङ, एक्ससरिज डेलिभरीजस्ता शीर्षकहरूमा थप रकम असुल्ने गरेको देखिन्छ। त्यतिमात्र नभई बैंक ब्याज, गाडी बिक्री हुनुअघि सोरुममा पार्क गरेको शुल्कसमेत उपभोक्ताको टाउकोमा पर्ने गरेको देखिन्छ।

कालोबजारी तथा अन्य केही अपराध तथा सजाय ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठह¥याइने उल्लेख गरेको छ। तर सो कम्पनीले एउटा गाडीको बिक्रीमा विज्ञापन खर्च, प्रशासनीक खर्चलगायत फरक–फरक शीर्षकमा ४३ प्रतिशतसम्म अतिरिक्त शुल्क उपभोक्ताबाट असुलेको छ। ऐनअनुसार माल वस्तुको उत्पादक, आयातक वा मुख्य वितरकले निर्धारित गरेको मोलभन्दा बढी मोल लिई कसैले कुनै माल वस्तु बिक्री गरेमा सो माल सामान लिएको मोल फिर्ता गराई सो माल वस्तु जफत गरी निजलाई १० वर्षसम्म कैद हुनेछ र जरिवानासमेत हुन सक्ने कानुनी व्यवस्था छ। सोही ऐनले कुनै माल वस्तुको व्यापार गर्ने व्यक्तिले माल वस्तु र व्यापारको प्रचलनअनुसार सामान्यतया २० प्रतिशतभन्दा बढी मुनाफा लिएको अवस्थामा वा अभावको लाभ उठाई सो माल वस्तुको अनुचित नाफा लिई बिक्री गरेमा निजलाई ५ वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले जीओ अटोमोबाइल्स प्रालिले बिक्री गर्ने इको स्पोर्ट गाडीमा कालोबजारी र ठगीको मुद्दा अगाडि बढाइरहेको अवस्थामा कम्पनीको अर्को कालो कर्तुत बाहिर आएको हो।

गोल्छाले विभागको आँखामा छारो हाल्न अनुसन्धान तथा बयानका क्रममा जीओ अटोमोबाइल्स कम्पनीका तर्फबाट लोकमान्य गोल्छाले अब उप्रान्त गाडीको मूल्यमा थपघट नगर्ने र स्वभाविक मूल्यमा नै गाडी बेच्ने प्रतिबद्धता जनाएका छन्। विभागले कालोबजारी तथा ठगी मुद्दा अगाडि बढाएपछि आत्तिएका गोल्छाले मूल्य घटाउने प्रतिबद्धता जनाए पनि कम्पनीले बेच्ने गाडीको मूल्यसूचीमा कुनै घटबढ भएको देखिँदैन। तत्काल गाडीको मूल्य घटाउने भन्दै विभागसँग माफीसमेत मागेका गोल्छाले विभिन्न मन्त्रालय, मन्त्री र उच्च तहका कर्मचारीसँग साँटगाँठ मिलाएपछि आफ्नो प्रतिबद्धता बिर्सिएका छन्।

प्रतिक्रिया दिनुहोस्