संरक्षित क्षेत्रबाहिर ‘चौका’



टीका बन्धन, काठमाडौं
संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत स्तनधारी जन्तु ‘चौका’ पहिलोपटक संरक्षित क्षेत्रबाहिरसमेत फेला परेको छ। नेपाल र भारतमा मात्रै अभिलेख भएको यो जन्तु दाङको नारायणपुर र टिकुलीगढ वन क्षेत्रमा भेटिएको हो।

वन्यजन्तु अनुसन्धाता चिरञ्जीवी खनाल र सञ्जीव बानियाँको टोलीले स्वचालित क्यामराको सहयोगमा सो क्षेत्रमा चौका फेला पारेको हो। ‘हाइना (हुडार)को अध्ययनका लागि क्यामेरा ट्र्यापिङ गर्दा यस्तो जन्तु क्यामेरामा कैद भयो, मृग वा हरिण होला भन्ने लागेको थियो, तर सो जन्तु त चौका पो रहेछ।’ –खनालले नेपाल समाचारपत्रसँग भन्नुभयो।

विज्ञहरूले दिएको राय सुझावका आधारमा गत साता सो जन्तु चौका भएको पुष्टि गरिएको हो। निकुञ्ज र संरक्षित क्षेत्रबाहिर पहिलोपटक चौका भेटिएको उहाँको दाबी छ। झट्ट हेर्दा मृग र हरिणझैं देखिने यो जन्तुको टाउकोको अघिपछि चारवटा सिङ हुने भएकाले चौका भन्ने गरिएको हो।

अगाडिको भन्दा पछाडिको सिङ केही लामो हुने गर्छ। यसअघि चितवन, पर्सा, बाँके, बर्दिया राष्ट्रिय निकुञ्जमा मात्र यो जन्तु अभिलेख भएको छ।

संरक्षित क्षेत्रभित्र पनि यसको संख्या के कति मात्रा छ भन्ने अहिलेसम्म यकिन गरिएको छैन। खनाल र बानियाँले फेला पारेको चौकाको अगाडि तर्फको सिङ आंशिक रूपमा मात्र पलाएको पाइएकाले वयस्क भइनसकेको अनुमान गरिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ ले विभिन्न २७ स्तनधारी जन्तुलाई संरक्षित सूचीमा सूचीकृत गरेको छ। यो जन्तु पनि सोही सूचीमा सूचीकृत छ।

चौका संरक्षित सूचीको वरीयतामा परेको भए पनि लोपोन्मुख भने नभएको वन्यजन्तुविद् प्राध्यापक करणबहादुर शाहले जानकारी दिनुभयो। ‘नीलगाई पाइने क्षेत्र आसपासमा प्रायः एक्लै घुम्न÷विचरण गर्न रुचाउने चौका हरिण वर्गमा पर्छ, ठूलो समूहमा बस्न रुचाउँदैन’, उहाँले भन्नुभयो– ‘प्रायः मानव बस्तीभन्दा टाढा विचरण गर्ने गर्छ।’ शाहका अनुसार यसको संख्या अन्यत्रका संरक्षितभन्दा केही बढी बाँके निकुञ्जमा रहेको छ।

संरक्षित जन्तुको सूचीमा रहे पनि यसका बारेमा पर्याप्त अध्ययन अनुसन्धान नभएको बताउँदै उहाँले भन्नुभयो– ‘नेपाल र भारतमा मात्र अभिलेख भएकाले यो जन्तुको छुट्टै महत्त्व र विशेषता छ, विस्तृत अध्ययन÷अनुसन्धान हुन जरुरी छ।’ विज्ञहरूका अनुसार चौकाको प्राकृतिक आयु १० देखि १२ वर्ष हाराहारीको हो भने तौल १७ देखि २२ केजीका हाराहारीको हुने गर्छ।

प्रतिक्रिया दिनुहोस्