स्याङ्जा महोत्सवमा ३ करोडको कारोबार



अमृत अर्याल, स्याङ्जा ।
माघ २६ गतेबाट स्याङ्जाको श्रवणकुमार खेलमैदान (मालेवगर)मा शुरु भएको प्रदेश स्तरीय पाँचौ स्याङ्जा महोत्सवमा ३ करोड बराबरको कारोबार भएको छ । स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवमा हाल सम्म ४० हजार दर्शकले अवलोकन गरेको आयोजकले बताएको हो ।

“स्याङ्जा महोत्सवको आधार, कृषि, पर्यटन र आर्थिक समृद्धिको पूर्वाधार” भन्ने मुल नाराका साथ संचालन भएको महोत्सव फागुन ८ गते सम्म संचालन हुने छ । महोत्सवमा स्टेज कार्यक्रम, रतौलि गित प्रतियोगिता र लोकसंस्कृति झल्कने भेषभुषा लगायत प्रदर्शनी भैरहेको छ ।

महोत्सवमा सुन्तला, कफी र अदुवा लगायतका नगदेवाली, फोटो प्रदर्शनी, हेलिकप्टर उडान, हस्तकला प्रदर्शनी, बालउद्यान, सास्कृतिक कार्यक्रमहरु लगायतमा दर्शकहरुको भिड लागेको छ । विदाको दिनहरुमा बढी भिड लाग्ने गरेको आयोजकले जानकारी दिएको छ ।

महोत्सव सफल हुदै गैरहेको स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजन घिमिरेले जानकारी दिनुभयो । महोत्सवको छैटौं दिन सम्म ३ करोडको कारोबार, ४० हजार दर्शकले महोत्सवको अवलोकन गरेको घिमिरेले बताउनुभयो ।

१२ दिन सम्म संचालन हुने महोत्सवमा साँस्कृतिक कार्यक्रम तथा विद्यालय स्तरीय नृत्य प्रतियोगिता, लोकदोहोरी प्रतियोगिता, विभिन्न कलाकारको प्रस्तुती र कृषि मेला तथा पशुपंक्षी प्रदर्शनी र अदुवा लगायतका नगदेवालीहरुको प्रदर्शनी भैरहेको छ ।

स्याङ्जा महोत्सव स्याङ्जा जिल्लाको पहिचान रहेको हुदाँ दर्शकहरुले पाचौ स्याङ्जा महोत्सव अवलोकन गर्नुपर्ने अवलोकन कर्ता दिपक पोख्रेल ‘दिपानु’ले बताउनुभयो । महोत्सवलाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्ने पोख्रेलले बताउनुभयो ।

सुन्तला प्रदर्शनी, अर्गानीक कफि प्रदर्शनी, अटोमोवाइल, सूचना प्रविधि प्रदर्शनी, पर्यटन मेला तथा फोटो प्रदर्शनी र हस्तकला प्रदर्शनी समेत भैरहेको छ । महोत्सवमा ३ सय स्टल, ८ करोड बराबरको कारोबार र २ लाख दर्शकले मेला अवलोकन गर्ने आयोजकले विश्वास लिएको छ ।

महोत्सवलाई आकर्षण बनाउन हेलिकप्टरबाट स्याङ्जा जिल्ला भित्र रहेका धार्मिक पर्यटकीय स्थलहरुको अवलोकनको व्यस्था गरिएको छ । उद्योग वाणिज्य संघले व्यवस्था मिलाए अनुसार आफुले पर्यटकीय स्थलहरुको अवलोकन गरेको अवलोकन कर्ता आषिस लम्सालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्