प्रम ओली र भारतीय राजदूत पुरी बीच भेटवार्ता



पुष्कर बुढाथोकी

भक्तपुर, । नव नियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरी बधाई तथा शुभकामना दिनुभएको छ ।

मोदीले गए राति टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिनुभएको प्रधानमन्त्रीको ओलीको सचिवालयले जनाएको छ ।

टेलिफोन संवादमा मोदीले प्रधानमन्त्री ओलीलाई भारतमा स्वागत गर्न प्रतिक्षारत रहेको र नेपालको विकासका लागि भारतले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।

संवादमा प्रधामन्त्री ओलीले मोदीलाई आफूलाई बधाई तथा शुभकामना व्यक्त गरेकोमा धन्यवाद दिंदै भारतसंगको मित्रता अझ सुदृढ बनाउन प्रयासरत रहने प्रष्ट पार्नुभएको बताईएको छ ।

प्रधानमन्त्री ओलीले संवादमा आफ्नो ध्यान नेपालको विकास र समृद्धिमा केन्द्रित रहेको बताउनुभएको थियो ।

प्रम ओली र भारतीय राजदूत पुरी बिच भेटवार्ता

यसैबीच प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई भारतीय राजदूत मञ्जित सिंह पुरीले निवासमा पुगी बधाई एवं शुभकामना दिनु भएको छ । राजदुत पुरीले उहाँलाई निवासमा भेटेरै बधाई दिनुभएको हो ।

प्रधानमन्त्री ओली र राजदूत सिंह बिच भएको भेटघाटमा आगामी दिनमा दुई देशको मित्रता र सम्बन्ध अझै प्रगाढ गर्ने बारे छलफल भएको बुझिएको छ । सो क्रममा भारतीय राजदुत पुरीले प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले पठाउनुभएको शुभकामना पत्र हस्तान्तरण गर्नुभएको छ ।

शुभकामना पत्रमा मोदीले प्रधानमन्त्री ओलीको नेतृत्वमा देशले स्थायीत्व पाउने र नेपालको आर्थिक विकास र समृद्धि पनि हासिल हुने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामना पत्रमा मोदीले नेपाल र भारतको प्रगाढ विश्वास,सद्धभाव र पारस्परिक विस्वासमा आधारित युगौं पुरानो सम्बन्धलाई विकाश गर्न आफूहरुले उच्च महत्व दिने र त्यसका लागि नेपाली जनता र नेपाल सरकारको साथमा रहेर विकासका लागि सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्