नयाँ सरकारलाई पुँजी बजारको स्वागत



नेपाल समाचारपत्र
काठमाडौं
करिब डेढ महिनापछि नेप्से परिसूचक ठूलो अंकले बढेको छ। देशले नयाँ प्रधानमन्त्री पाएको दिन बिहीबार बजार परिसूचक ३६ दशमलव शून्य १ अंकले बढेको हो।

बिहीबार १ हजार ३ सय ८८ दशमलव ९४ अंकबा शुरू भएको नेप्से १ हजार ४ सय २४ दशमलव ९५ अंकमा कायम भएको हो। दिनभरी नै बढ्ने क्रममा रहेको नेप्से कारोबार शुरू भएलगत्तै तीव्र गतिमा बढ्ने थालेको थियो। नेप्से बढ्दा बिहीबार ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ७२ अंकको बढेर ३ सय १ दशमलव ३ अंकमा उक्लिएको छ। दिनभरी ने सकारात्मक देखिएको नेप्से परिसूचक बढ्दा यस दिन कारोबार रकममा पनि वृद्धि भएको छ।

बिहीबार शेयर बजारमा ६६ करोड ३९ लाख ५६ हजार २ सय ४९ रुपियाँभन्दा बढीको कारोबार भएको थियो। यसक्रममा १ सय ६५ कम्पनीका १५ लाख ६ हजार ६ सय ३४ कित्ता शेयर खरिद बिक्री भए। अघिल्लो दिन बुधबार बजारमा ३८ करोड ६४ लाख रुपियाँको शेयर किनबेच भएका थिए।

शेयर बजारलाई प्रभावित पार्ने प्राविधिक तथा आधारभूत पक्ष यथावत रहेको बेला केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार बनेका कारण बजार प्रभावित भएको सरोकारवाले जनाएका छन्। देशमा स्थिर सरकार आउने आशमा लगानीकर्ता शेयर बजारमा लगानी गर्न हौसिएका उनीहरूको दाबी छ। त्यसैगरी नेप्सेमा सूचीकृत कम्पनीले दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दा बढी नाफा कमाउने कम्पनीप्रति लगानी गर्ने आधार तयार भएको अर्का थरी बताउँछन्। करिब २ महिना निश्क्रृय रहेको लगानीकर्ता राष्ट्र बैंकले गरेको मौद्रिक नीति समीक्षा तथा वित्तीय विवरणपछि सक्रिय बनेको उनीहरूको दाबी छ।

यस दिन कारबोरमा आएका सबै समूहमा सुधार आउँदा नेप्से उकालो लागेको हो। यस दिन बढ्नेमा बीमा समूह सर्वाधिक २ सय १३ दशमलव ९५ अंकले उकालो लाग्यो। त्यस्तै लघुवित्त समूह ६२ दशमलव ९१ अंकले उकालो लाग्दा विकास बैंक समूह पनि ५५ दशमलव ५ अंकले सुधारियो। त्यस्तै उत्पादनमूलक, जलविद्युत्, बैंकिङ, होटल र वित्त समूह पनि क्रमशः ५० दशमलव ७५, ४९ दशमलव शून्य ४, ३१ दशमलव ३९, २२ दशमलव ९६ र १७ दशमलव ५५ अंकले सुधारिए। यस दिन अन्य समूह ७ दशमलव ३६ र ट्रेडिङ समूह पनि ५ दशमलव ९९ अंकले उकालो लागे। यस दिन बजारमा सबैभन्दा धेरै कुमारी बैंकको तीन करोड ५६ लाख रुपियाँको कारोबार भयो। यसदिन श्रीइन्भेस्टमेन्ट फाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ दशमलव ८२ प्रतिशत कमाएका छन्। एनएमबी सुलभ इन्भेस्टमेन्ट फन्ड–१ ले सबैभन्दा बढी ३ दशमलव ८१ प्रतिशत गुमाए।

प्रतिक्रिया दिनुहोस्