प्रहरीद्वारा नेतान्याहुमाथि घूस लिएको आरोपमा मुद्दा चलाउनुपर्ने दाबी



जेरुसलम, (एजेन्सी)
इजरायली प्रहरीले प्रधानमन्त्री नेतान्याहुमाथि घूस लिएको, ढोकाधडी गरेको र विश्वास तोडेको आरोपमा मुद्दा चलाइनुपर्ने बताएका छन्।

प्रहरीका तर्फबाट जारी एक विज्ञप्तिमा प्रधानमन्त्री नेतान्याहुमाथि मुद्दा चलाउनका लागि पर्याप्त प्रमाण रहेको उल्लेख गरेको छ। इजरायलको सरकारी टेलिभिजनमा बोल्दै नेतान्याहुले सबै आरोप आधारहीन रहेको र आफूले प्रधानमन्त्री पद नछोड्ने बताए। उनले ती आरोपको कुनै नतिजा नआउने पनि दाबी गरे।

नेतान्याहुमाथि उनले एक अखबार ‘यदियत अहरोनात’का मालिकसँग एक प्रतिद्वन्द्वी प्रकाशकमाथि दबाब दिनु सट्टा सकारात्मक कभरेज गर्न भनेको आरोप लागेको छ। प्रहरीले यदियत अहरोनोतका सम्पादक आरनन मोजेसमाथि पनि मुद्दा चल्नुपर्ने बताएका छन्।

सन् २००९ देखि इजरायलको प्रधानमन्त्री पदमा आसिन नेतान्याहुमाथि अर्को एउटा आरोप पनि छ, उनले हलिउड निर्माता आर्नन मिलचनबाट करिब १ लाख डलर मूल्य बराबरको उपहार लिएका छन्।

जेरुसलम पोस्टले उक्त उपहारमा महँगा मदिरा र सिगार रहेको र त्यो मिलचनलाई अमेरिकी भिसा लिनमा मद्दत गरेकामा दिइएको जनाएको छ। प्रहरीले मिलचनमाथि पनि घूस दिएको आरोपमा मुद्दा चल्नुपर्ने जनाएको छ।

हारेट्ज अखबारले उपहार लिएपछि प्रधानमन्त्री नेतान्याहुले मिलचन कानुन पारित गर्न जोड दिएका थिए। उक्त कानुनअन्तर्गत विदेशबाट फर्कने इजरायली नागरिकले दश वर्षसम्म कर छुट पाउनुपर्ने उल्लेख छ।
नेतान्याहुमाथि अस्ट्रेलियाली अर्बपति जेम्स पेकरसँग जोडिएको एक मामिलामा पनि धोकाधडी गरेको र अर्कोको विश्वास तोडेको आशंका रहेको प्रहरीले बताएको छ। इजरायलको च्यानल १० अनुसार जेम्स पेकरले प्रहरीलाई उनले प्रधानमन्त्री र उनकी पत्नीलाई उपहार दिएको बताएका थिए।

प्रधानमन्त्री नेतान्याहुसँग प्रहरीले कम्तीमा ७ पटक सोधपुछ गरिसकेको इजरायली सञ्चार माध्यमहरुले जनाएका छन्। नेतान्याहुमाथि मुद्दा चलाउने वा नचलाउने भन्ने विषयमा फैसला महान्यायाधिवक्ताको कार्यालयले गर्नुपर्नेछ।

यसबीच न्याय मन्त्री ऐयेलेत साकेदले मुद्दा दर्ता हुँदैमा कुनै पनि प्रधानमन्त्रीले राजीनामा दिन बाध्य नहुने बताए। नेतान्याहुले पनि इजरायली टेलिभिजनमा आफू पदमा रहिरहने बताएका थिए।
६८ वर्षीय नेतान्याहु दोस्रोपटक प्रधानमन्त्री बनेका हुन् र उनी १२ वर्षदेखि उक्त पदमा रहेका छन्। आफ्नो कार्यकालमा उनीमाथि कयौं आरोप लागिसकेको छ। सन् २०१५मा उनीमाथि एक ठेकेदारलाई आफ्ना लागि गरेको निजी कामको बदलामा सरकारी धन र पैसा दिएको आरोप लागेको थियो। तर पछि उक्त आरोप पनि रद्द गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्