जुमालाई राष्ट्रपति पदबाट हटाउने पार्टी निर्णय



जोहानेसवर्ग, (एजेन्सी)
दक्षिण अफ्रिकाको सत्तारूढ अफ्रिकन नेसनल कांग्रेस (एएनसी) पार्टीले म्याराथन वार्ता टुंग्याउँदै भ्रष्टाचारको आरोपले घेरिएका राष्ट्रपति ज्याकोब जुमालाई राष्ट्राध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ। जुमाले राष्ट्रपति पदबाट राजीनामा दिन अस्वीकार गरेपछि पार्टीको बैठकमा भएको लामो छलफलले उक्त निर्णय गरेको स्थानीय समाचार माध्यमले जनाएको छ।

भावी राष्ट्रपतिका रूपमा हेरिएका रामाफोसाको जुमासँगको वार्ता अवरुद्ध भइसकेको छ। जुमाले एक हप्ताअगाडि पार्टीका नेताहरूले राजीनामाका लागि गरेको मागलाई अस्वीकार गरेका थिए।

पार्टीका शक्तिशाली १ सय ७ सदस्यीय राष्ट्रिय कार्यकारी समिति (एनईसी)ले प्रिटोरियाबाहिर एक होटलमा १३ घण्टासम्म बैठकमा छलफल गरेका थिए। बैठकले जुमालाई राष्ट्राध्यक्ष पदबाट हटाउने फैसला लिएको गोप्य सूत्रलाई उद्धृत गर्दै टाइम्स अखबारले जनाएको छ।

पार्टीले जुमालाई पत्र लेखेर उनलाई दक्षिण अफ्रिकाका राष्ट्रपति पदबाट हट्न आदेश दिने अन्य सञ्चार माध्यमले जनाएको छ। यस विषयमा आधिकारिक घोषणा गरिएको छैन र फैसलासम्बन्धी बाहिर आएको समाचारलाई पुष्टि गर्न एएनसीका अधिकारी सम्पर्क हुन नसकेको सञ्चार माध्यमले जनाएको छ। पार्टीलाई उनलाई राष्ट्राध्यक्षको पदबाट फिर्ता बोलाउन सक्छ र उनलाई पदबाट हट्नका लागि दबाब दिन सक्छ। तर यसको पालना गर्नु उनको संवैधानिक दायित्वमा पर्दैन। त्यसैले उनलाई केही दिनमा संसद्मा अविश्वास प्रस्ताव पारित गरी हटाउन सकिने विकल्प प्रयोग हुन सक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्