विदेशबाट आएका मोबाइल दर्ता शुरू



नेपाल समाचारपत्र
काठमाडौं
अनधिकृत रूपमा नेपालमा भित्रिने मोबाइलबाट अपराधिक क्रियाकलाप नियन्त्रणमा सहयोग पुर्याउनको लागि नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई नम्बर दर्ता प्रक्रिया शुरू गरेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबारदेखि मोबाइल सेटको अनलाइन आईएमईआई दर्ता प्रणाली प्रक्रिया शुरू गरेको हो।

प्राधिकरणले अनलाइन प्रणालीबाट आईएमईआई नम्बर दर्ता प्रक्रिया अगाडि बढाएसँगै आईएमईआई दर्ता नभएका मोबाइल प्रयोगमा नआउने बनाउन लागेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो। मोबाइल सेट तथा डिभाइसको पहिचान नम्बर यसअघि प्राधिकरणले म्यानुअल प्रणालीमा मात्र दर्ता गर्ने व्यवस्था रहेकोमा अबदेखि भने पूर्णरूपमा अनलाइनमार्फत दर्ता गर्न लागेको हो।

यस्तो युनिक आईडेन्टिफाइ नम्बर मोबाइल फोन आयातकर्ता, प्रयोगकर्तालगायतले दर्ता गर्ने गरेका छन्। नेपालमा आयात तथा बिक्री बितरण हुने मोबाइल सेट तथा डिभाइसलाई प्राधिकरणमा अनिवार्यरूपमा दर्ता गराउनुपर्ने व्यवस्था रहेको छ।

प्राधिकरण प्रवक्ता अर्यालले यो प्रणाली कार्यान्वयनयनमा आएसँगै मोबाइल प्रयोगकर्ताले अनलाईन प्रणालीबाट नै आफ्नो मोबाइल फोनको आईएमईआई दर्ता गराउन सक्ने छन्। प्राधिकरणले पूर्णरूपमा अनलाइन प्रणालीमा स्वचालित प्रणालीमा लगेरे आईएमईआई दर्तालाई अनलाईनमार्फत् शुरू गरेको जानकारी दिएको छ।

यसरी अनलाइन प्रणाली आईएमआई दर्ता भए पनि अन्तिम स्वीकृत भने प्राधिरणले नै गर्नेछ। यसअघि मोबाइल कम्पनीले कागजी प्रक्रिया पूरा गरेर प्राधिकरणमा कागजात लगेर भेरिफिकेसनको लागि दर्ता हुने गरेको थियो प्राधिकरणले २०७१ वैशाख १ बाट दर्ता प्रक्रिया शुरू गरेको थियो यो २१ महिनाको अवधिमा १ करोड ७७ लाख १९ हजारभन्दा बढी आईएमईआई दर्ता भईसकेको अर्यालले बताउनुभयो।
नेपालमा मासिक ४ लाख २१ हजारभन्दा बढी मोबाइल आयात हँुदै आएको आईएमआईको दर्ता प्रक्रियाले देखाएको प्राधिकरणले जनाएको छ। नेपालमा आयात हुने गरेको अधिकांश मोबाइल सेटमा २ वटासम्म आईएमईआई नम्बर हुन्छ, यो दुवै आईएमआई नम्बर प्राधिकरणले दर्ता गर्दै आएको छ। यसरी अनलाइन प्रणालीबाटै आईएमआई दर्ता प्रक्रियाले बाह्य मुलुकबाट अनधिकृत रूपमा आयात भएको मोबाइल आयात नियन्त्रण हुने र आधिकारिकरूपमा मात्र मोबाइल आयातलाई सहयोग पुग्ने प्राधिकरणको दाबी रहेको छ।

हाल नेपालमा धेरै मात्रामा विभिन्न प्रयोजनको लागि विदेशिएका नेपालीबाट समेत मोबाइल आयात हुने गरेको छ। जसले राजस्व चुहावट भइरहेको छ। मोबाइल चोरी भएमा आईएमईआई दर्ता हुने भएकोले ‘ट्रयाक’ गर्न सजिलो हुने प्राधिकरणले जनाएको छ। यसबाट नेपालमा वार्षिक कति मोबाइल आयात हुन्छ भन्ने तथ्यांकसमेत आउने छ।

प्रतिक्रिया दिनुहोस्