एमाले–माओवादी निर्णायक मोडमा



काठमाडौं, (नेस)
नेकपा एमाले र नेकपा माओवादी केन्द्र पार्टी एकीकरणको निर्णायक मोडमा पुगेका छन्। एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पद बाँडफाँडमा मोटामोटी सहमति जुटेकाले यी दुई दल एकता प्रक्रिया अगाडि बढाउने अन्तिम गृहकार्यमा जुटेका हुन्।

एमालेका वरिष्ठ नेता झलनाथ खनालले ओली र प्रचण्डबीच सरकारको नेतृत्व आधा–आधा कार्यकाल गर्ने र पार्टीमा दुवै अध्यक्ष वा सहअध्यक्ष बस्ने भन्ने विषयमा सहमति भएको नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो। उहाँले भन्नुभयो– ‘दुई अध्यक्षका बीचमा मोटामोटो सहमति भएको छ, अबको छलफल निर्णायक हुन्छ।’ नयाँ सरकार गठनअघि नै पार्टी एकता हुन्छ कि भन्ने जिज्ञाशामा नेता खनालले यसबारे एकता संयोजक समितिको बैठकले टुंगो लगाउने बताउनुभयो।

पार्टी एकता गर्नका लागि ओली र प्रचण्डबीच २ दिनदेखि निरन्तर रूपमा छलफल भइरहेको छ। ललितपुरको मानभवनमा मंगलबार पनि ओली र प्रचण्डबीच ‘वान टु वान’ छलफल भएको थियो। वरिष्ठ नेता खनालले दुई अध्यक्षको बीचमा भएको सहमतिलाई अनुमोदन गर्नका लागि आज बुधबार एकता संयोजक समितिको बैठक बोलाइएको स्पष्ट पार्नुभयो।

एकता र शक्ति बाँडफाँडबारे ओली र प्रचण्डले सोमबार ‘प्रारम्भिक सहमति’ गर्नुभएको थियो भने मंगलबारको छलफलमार्फत एकता संयोजक समितिमा अगाडि सारिने एजेन्डा तय गरेको प्रचण्डको सचिवालयले बताएको छ।

पार्टी एकता संयोजन समितिमा अध्यक्षद्वय ओली र प्रचण्डसहित एमाले वरिष्ठ नेता खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोख्रेल तथा माओवादी केन्द्रका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेता रामबहादुर थापा रहनुभएको छ।

एकता संयोजक समितिको बैठकले वैचारिक राजनैतिक र सांगठनिक विषयमा सकेसम्म सहमति जुटाउने र सहमति जुटन नसकेमा २ वटा कार्यदल गठन गरी अगाडि बढ्न सकिने २ दलबीच गृहकार्य भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्