समानुपातिक उम्मेदवार छनोटमा बेथिति



राज्यको नीति निर्माण तहमा पिछडिएको र उत्पीडनमा परेको समुदायलाई सहभागी गराउने उद्देश्यका साथ संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ । नेपालमा गणतन्त्र स्थापना भएसँगै समानुपातिक व्यवस्थाको शुरुवात भयो । विशेष गरी नीति निर्माणमा सहज पहुँच पुर्याउनको लागि राजनीतिक दलहरुले महिला, पिछडिएको क्षेत्र, वर्ग र समुदायको लागि समानुपातिक प्रतिनिधित्वको प्रणाली अवलम्बन गरेका थिए । यो सकारात्मक पनि थियो । नाम नै नसुनेका व्यक्तिहरु पनि नीति निर्माण तहमा पुग्नुले समानुपातिक प्रणालीप्रति आममानिसको आशा र भरोसा बढेको छ ।

तर गणतन्त्र स्थापना भएपछि भएको निर्वाचनमा समानुपातिक उम्मेदवार छनोट गर्दा विकृति–विसंगति बढ्दै गएको छ । जुन उद्देश्य र लक्ष्यका साथ समानुपातिक प्रणाली अवलम्बन गरिएको हो त्यसको विपरीत राजनीतिक दलहरु नातावादमा बढी रमाएको देखिएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा समानुपातिक सांसद छनोट गर्दा देखिएको बेथिति हटाउनका लागि प्रतिनिधिसभा र प्रदेशसभाबाट बन्ने समानुपातिकको सूची निर्वाचन आयोगमा नै बुझाउने नीति लागू भएको थियो । निर्वाचनअघि नै राजनीतिक दलहरुले समानुपातिकको बन्दसूची बुझाए । तर समानुपातिक प्रणालीको मूल्य–मान्यताभन्दा पनि नातावादमा केन्द्रित भएर सो सूची बुझाउँदा सही व्यक्तिभन्दा पनि नेताहरुका श्रीमती एवं नातागोताको पहुँच देखिएको छ । पछिल्लो चरणमा राजनीतिक दलहरुले पार्टीमा योगदान गरेका नेता–कार्यकर्तालाई पाखा लगाउँदै आफ्ना श्रीमती, छोरी र आफन्तहरुलाई प्राथमिकतामा राखेर समानुपातिक सूची बुझाउने प्रचलन मौलाउँदै गएको छ ।

हाल सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा महिलाहरुको विजयी संख्या निकै न्यून देखियो । जसको कारणले पनि संवैधानिक प्रावधानअनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने उल्लेख गरिएको छ । सोही आधारमा समानुपातिक छनोट गर्दा राजनीतिक दलका नेताहरुले आफन्तहरुलाई नै पहिलो प्राथमिकतामा राखेर छनोट गरेको पाइएको छ । माओवादीले केन्द्रले पाएको १७ जना प्रतिनिधिसभातर्फको समानुपातिक सांसद छनोटमा अधिकांश नेताका श्रीमतीहरु परेका छन् । एमाले र कांग्रेसमा पनि नेता निकटका नेताहरुलाई समानुपातिक सांसद बनाउने कार्यलाई नै पहिलो प्राथमिकता दिइएको छ । समानुपातिकतर्फ राजनीतिक दलहरुले प्राप्त गरेको सांसद छनोटलाई हेर्ने हो भने, राजनीतिक दलका नेताहरुले समानुपातिक प्रणालीकै धज्जी उडाएको देखिन्छ । समानुपातिक सांसद छनोटमा निकै ठूलो मोलमोलाइ हुने गरेको भन्दै सर्वत्र आलोचना भइरहेका बेला यसपटकको निर्वाचनको मत परिणामअनुसार प्राप्त गरेको समानुपातिक सांसद छनोटमा पनि बेथिति देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्