बाल मनोविज्ञान ः छोराछोरी कसरी बिग्रन्छन् ?



आमाबाबुको व्यवहारले बालबच्चामा असर पार्ने गर्छ। हेर्न नसकिने, समाजमा अपच हुने र सबैले खिसिटिउरी गर्ने बाबुआमाको व्यवहारले कोही छोराछोरीलाई खुसी दिन्न। अनि छोराछोरीमा त्यसको गलत प्रभाव पर्छ। अचेत अवस्थामै बच्चाले गलत कुराको अभिनय गर्छन्। घरमा साँझ–बिहान देखे–सिकेको कुरा छिमेकका बच्चासँग व्यवहारमा देखाउँछन्। उनीहरू रिसाहा, झगडिया, जड्याहा, चुरोट तान्ने सबै कुरा घरबाटै सिक्छन्। त्यससँगै बाबुले आमालाई कुटेको देख्छन्। आमाले बाबुलाई गालीगलौच गरेको सम्झिन्छन्। कतिपय बेला बाबुआमाबाट पनि भक्कुमार खान्छन्। कुट्ने पिट्ने उनीहरूको सामान्य जीवनशैली बन्छ। उमेर बढ्दै गएपछि सबैसँग यही व्यवहार गर्छन्।

आमाबाबुको निर्दयी व्यवहारबाट बालबच्चामा निकै नराम्रो असर परेको हुन्छ। मेला–पर्व होस् कि कतै जमघट उनीहरू हार्न चाहन्नन्। कसैलाई घाउखत लाग्ने गरी कुटे पनि ग्लानी हुन्न। निर्दयी बनेका हुन्छन्। जन्माउने आमाले त दया गर्न जानेका छैनन्। माया के हो सिकाएनन्। कुट्दा, पिट्दा, गाली गर्दा, शरीर मात्र होइन मन पनि दुख्छ भन्ने थाहै भएन। बाबुले आमालाई कुटिरहन्छन्। बलिष्ठ बाबुसँग जित्न नसकेपछि कति पटक आमासँग भागी–भागी बच्ने उनीहरूमा छाप बसेको हुन्छ। आमा कति पटक ज्यान जोगाउन अरूको घरमा सुत्नुभयो, याद आइरहन्छ। मौका पर्दा बाबुले त्यहीं गएर पनि ठटाइदिएको घटना ताजै रहन्छ। जित्ने पो बलियो हो। यदि हारिन्छ भने भाग्नुपर्छ। सकेसम्म लड्ने र पावर देखाउने हो भन्ने घरबाटै सिक्छन्। बा बलियो जवान हुँदा हामीलाई यस्तै गर्थे भनेर, त्यही शैलीमा समाजमा अघि बढ्छन्। धेरैलाई कुट्छन्। कतिबाट आफू कुटिन्छन्। त्यही शैली समाजमा डन बनेर स्थापित हुन्छ। पटक–पटक थुनिन्छन् र लखेटिन्छन्, त्यसले झन् अर्को चर्चा पाउँछन्।

उनीहरूलाई थाह छ, कमाइ नहुँदा पनि बाबुआमाले घरमा केही ल्याउथे। कतिपय बेला मागेर ल्याउँथे। कतिपय मात्तिएको बेला चोरेर पनि ल्याउँथे। कहिलेकाहीं कमाइ गरेर पनि घरमा खानेकुरा भित्रिन्थ्यो। सबै स्रोत बच्चालाई थाहा हँुदैन। कुनै पनि समय बच्चासँग मीठो बोल्ने र छलफल चल्दैन। यो गर्, त्यो ले, उता जा, चुप लाग्, अहिले खालास् नि, बढी जान्ने न हो है, खेल्न जा यस्तै बाहेक अरू शब्द केहीका बाबुआमाको मुखबाट निस्कन्न। भोक लाग्यो भनेर बच्चाले सोध्यो भने, माटो ढुंगो खा भन्ने अनि पैसा दिनुस् भन्यो भने केको पैसा, के गर्न पैसा भन्ने। जति बेला हो पैसा, जति बेला हो पैसा, यो त मर्न पनि सक्दैन, पक्लक्कै मरे सन्चै हुन्थ्यो, यहाँ मान्छेलाई केको टेन्सन भइरा हुन्छ एकमिस्यै पैसा पैसा, कराको छ कराको छ। यस्तै–यस्तै भाषा शैलीमा परिवारमा कुरा हुने गरेका हुन्छन्। त्यही रूखो शैली बच्चाले सिक्छ। त्यही घरबाहेक सिक्नका लागि अर्को ठाउँ हँुदैन। स्कुल जाँदैन, आफू जस्तै दांैतरी खोज्छ।

बच्चा डन बन्छन्। उनीहरू सानोतिनो टिम बनाउँछन्। चल्ले डनसम्मको नाम पाउँछन्। त्यसमै खुसी भेटाउँछन्। टिम बनाएर हिँडेपछि उनीहरूलाई हप्काउने थर्काउने खास्सै भेटिँदैनन्। भद्र व्यक्तिहरू हातपात र गालिगलौजको अपशब्द सुन्न पनि चाहन्नन्। त्यो टिमले सभ्य भाषाशैली सिकेकै हुन्न। कसैले जोरी पनि खोज्दैन। लड्नै परे सके कुट्ने नसके भाग्ने शैली घरबाटै सिकेका हुन्छन्। आपसमा अगुवाले पछुवालाई घरमा भएकै भाषाशैली प्रयोग हुन्छ। गोरे, फ्याउरो, बाख्रो, भेडो जे–जे भन्ने हो नाम राख्छन्। यस्ता नाम घरमा बाबुआमाले आपसमा प्रयोग गर्थे। बच्चाले केही गल्ती गरेका छैनन्, घरकै व्यवहार लागू गरेका छन्।

एक बच्ची आमासँगै बस्थिन्। उनकी आमा अर्को–अर्को बाउ बिहे गरेर हिँड्न थालिन्। छोरी एक्लै छोडेर कमाउन भारततिर गएको आमा फर्किइनन्। उनको स्तन बढे, रूप फेरियो, केटाहरू आकर्षित भए। त्यसपछि ती किशोरीको कोठामा दैनिक तीन÷चार जना युवाले रात बिताउन थाले। उनी पनि त्यही टिममा दिन–रात हिँड्न शुरू गरिन्। स्थानीयले पचाउन नसकेपछि कोठा छोडेर निस्कन बाध्य भइन्। अन्तमा किशोरीहरूको अर्को टिम खडा भयो। उनीहरू नशामा रमाउन थाले। कसैले जिम्मेवारी लिएन। आपसमा कुटाकुट गरे, पुलिसले लगेर थुन्यो। कैयौंपटक आपत्तिजनक अवस्थामा भेटाएर पक्डियो। होटलबाट रंगेहात समातेर लग्यो। जतिपटक पक्राउ खाए पनि तिनको अभियान जारी छ। अनेकांै मेकअप र फेसनमा भेटिन्छन्। तिनको रहरैरहरमा सिकेको शैली अहिले बाध्यता र अनिवार्य बनेको छ।

सबैतिर बालमैत्री वातावरण बनाउने चर्चा छ। कतिपय ठाउँलाई बालमैत्री स्थानीय शासन क्षेत्र घोषणा गर्न लागेको हल्ला चल्छ। त्यसका लागि उपयुक्त सम्भावना छ कि छैन ? निकै गम्भीर प्रश्न उठेको छ। सरकारले गरेको लगानीबाट बालमैत्री शब्दको प्रचार भएको छ तर सामाजिक संरचना फेर्ने कुनै कार्यकक्रम बनेको छैन। वडामा गएर केही ठालू, अगुवासँगको अन्तरक्रियाबाट बालमैत्री वातावरण बन्दैन। टोलबस्तीमा केही खराब बाबुआमा छन्। जसले सन्तानलाई डन बनाएका छन्। तिनले गाँजा, भाङलगायत नशाजन्य पदार्थ लिन सिकाउँछन्। उनी प्रतिनिधि पात्र मात्रै हुन्, होटलहरूमा यौनधन्दा गरेर जीवन गुजारेका धेरै बाबुआमाबाट पीडित छन्। कुहिएको एक÷दुइटा आलुले बोराकै आलु सिध्याउँछ। त्यसरी गलत बच्चाले समग्र बालबालिकालाई बिगारेका छन्। दोषी बाबुआमा हुन्।

जहाँ बच्चा परिवारसँग रमाउँछन् र कुरा सजिलै खोल्न सक्छन् तिनीहरू स्कुलमा पुगेर शिक्षक–शिक्षिकासँग पनि छलफल गर्छन्। त्यसैले आमाबुबाले त्यस्तै किसिमको व्यवहार देखाउन जरुरी छ।

– अनिल आचार्य, बारा

प्रतिक्रिया दिनुहोस्