मुस्लिम गायिकाले कार्यक्रम छोडिन्



पेरिस, (एजेन्सी)
फ्रान्सको दि भ्वाइस नामक एक चर्चित टेलिभिजन कार्यक्रममा गीत गाएर इन्टरनेटमा भाइरल हुन पुगेकी एक मुस्लिम गायिकाले सो कार्यक्रम छोडेकी छिन्। उनले सामाजिक सञ्जालमा गरेको एउटा टिप्पणीलाई लिएर जनस्तरबाट व्यापक आलोचना हुन थालेपछि उनले कार्यक्रम छोडेकी हुन्।

२२ वर्षीया मेन्नेल इब्तिस्सेमले सन् २०१६ मा निसमा भएको लोरी आक्रमणमा आतंककारीको स्वभावबारे विवादास्पद शंका व्यक्त गर्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। उनले सो आक्रमणको भोलिपल्ट बाहिर आएको सरकारी सन्देश वाहियात भएको टिप्पणी गरेकी हुन्।

उनले गाएको लियानार्ड काहेनको हाल्लेलुजाह बोलको गीतको भिडियो भाइरल भएको थियो। यु ट्युबमा सो भिडियो ९ लाख पटक हेरिएको थियो। उनको सो विवादास्पद टिप्पणी अहिले डिलिट गरिसकिएको छ। बासिल्ले दिवसमा निसमा भएको उक्त आक्रमणमा ८६ जना मारिएका थिए।

उनले सामाजिक सञ्जालमा लेखेकी थिइन्– ‘राम्रो, यो नियमित नै भएको छ, एक साताको एउटा आक्रमण⁄ आतंककारीले आफूसँग आफ्नो परिचयपत्र राख्नु विश्वासिलो काम हो। यो सत्य हो, तपाईंले कुनै नराम्रो कदमको योजना बनाउँदा, आफ्नो परिचय खुल्ने दस्तावेज साथै राख्न नभुल्नुहोला।’ ती आक्रमणकारी ३१ वर्षीय ट्युनिसियाली पुरुष थिए।

प्रतिक्रिया दिनुहोस्