अमेरिकामा बजेटको अभावमा सरकारी कामकाज पुनः बन्द



वासिङ्टन, (एजेन्सी)
अमेरिकामा शुक्रबार सरकारी काम पुनः एकपटक ठप्प भएको छ। समयमा कांग्रेसले सरकार चलाउनका लागि आवश्यक बजेट पास नगरेकाले अमेरिकामा पुनः सटडाउन भएको हो।

कानुन निर्माताहरूले अस्थायी संघीय बजेटको समयसीमा पूरा हुनुअगाडि खर्च विधेयक अनुमोदन हुने अपेक्षा गरेका थिए। तर त्यस्तो हुन सकेन। यसै वर्ष जनवरीको शुरुआतमा ३ दिनसम्म अमेरिकीमा सरकारी कामकाज बन्द भएको थियो। सरकारी कामकाज सुचारु होस् भनेर अमेरिकाको दुवै सदनले अस्थायी बजेट पारित गरेका थिए।

संघीय अफिस अफ पर्सनल म्यानेजमेन्टले कर्मचारीहरूले आफ्नो कामको सन्दर्भमा आफ्नो कार्यालयमा सम्पर्क गर्नुपर्ने सूचना जारी गरेको छ। सरकारी कामकाज पुनः सुचारु बनाउन अमेरिकी संसद्का दुवै सदन सिनेट र प्रतिनिधिसभाबाट दुई वर्षका लागि बजेट विधेयक पारित गर्नु अत्यन्त आवश्यक भएको बताइएको छ। अमेरिकाको बजेट अक्टोबर १ अगाडि नै पारित हुनुपर्छ। सोही दिनदेखि संघीय सरकारको आर्थिक वर्ष शुरू हुने गर्छ। तर विगतमा कयौं पटक कांग्रेसमा उक्त समयसीमाभित्र बजेट पारित गराउन असफल भएका छन्। यसमा आआफ्ना एजेन्डामा लेनदेन नयाँ वर्षसम्म पनि चल्ने गरेको पाइन्छ। यसका लागि संघीय एजेन्सीहरूका लागि अस्थायी रूपमा खर्चको व्यवस्था गरिने चलन रहेको छ।

तर अहिले कांग्रेस कोष जारी राख्ने मुद्दालाई लिएर सहमति बनाउनमा असफल रह्यो र शनिबारदेखि कयौं संघीय एजेन्सीले काम गर्न बन्द गरेको छ। आवास, पर्यावरण, शिक्षा र कमर्सजस्ता विभागमा काम गर्ने धेरैजसो सोमबार घरमै बस्नेछन्। ट्रेजरी, स्वास्थ्य, रक्षा र यातायातजस्ता विभागको आधा कर्मचारी पनि काममा जान पाउँदैनन्। तर राष्ट्रिय सुरक्षा, डाँक सेवा, वायु यातायात, जीवनका लागि आवश्यक सेवा, स्वास्थ्य, बिजुली, प्राकृतिक विपद्, करजस्ता सेवाहरूमा काम जारी रहनेछ।

प्रतिक्रिया दिनुहोस्