खराब कर्जा घटाउँदै बैंकहरू



नेपाल समाचारपत्र
काठमाडौं
पछिल्लो समय वाणिज्य बैंकहरूले खराब कर्जा घटाउन थालेका छन्। वाणिज्य बैंकहरूले पछिल्लो दुई वर्षमा प्रकाशन गरेको वित्तीय विवरणले खराब कर्जादर घटाएर स्वस्थ बन्ने लयमा लागेका हुन्।

कुनै पनि बैंकमा कुल कर्जाको ५ प्रतिशतभन्दा बढी खराब कर्जा भएको अवस्थालाई जोखिमयुक्त मानिन्छ। चालू आवको वित्तीय विवरणअनुसार तीनवटा बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि छ। बाँकी बैंक भने उच्च खराब कर्जा न्यूनीकरण गर्दै जोखिमयुक्त बन्नबाट जोगिने प्रयासमा लागेका हुन्।

बैंकले निश्चित समयका लागि भनेर कुनै ऋणीलाई दिइएको कर्जा समयमा नै उठाउन सकेन भने त्यस्तो कर्जालाई एनपीएल (नन पर्फमिङ लोन) अर्थात् खराब कर्जा भनिन्छ। ऋण चुक्ता गर्नुपर्ने मितिले ९० दिनपछिसम्म पनि बैंकले ऋण उठाउन नसकेमा उक्त ऋणलाई खराब कर्जाअन्तर्गत राखिन्छ। सम्भव भएसम्म यस्तो कर्जा ऋण लिँदा राखिएको धितो लिलाम गरेर उठाइन्छ।

वाणिज्य बैंकहरूले प्रकाशन गरेको चालू आवको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा १४ वटा वाणिज्य बैंकको खराब कर्जा घटेको देखिएको छ। यस अवधिमा १२ वटा बैंकको खराब कर्जादर बढ्दा बाँकी २ वटा बैंक भने खराब कर्जादर स्थिर राख्न सफल भएका छन्। चालू आवमा खराब कर्जा घटाउने बैंकमा एभरेस्ट बैंक, मेगा बैंक, लक्ष्मी बैंक, कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेसनल रहेका छन्।

त्यसैगरी नबिल बैंक, सिभिल बैंक, जनता बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकले पनि खराब कर्जा घटाउँदा बैंक अफ काठमाण्डु, सेञ्चुरी बैंक, कृषि विकास बैंक, नेपाल बैंक, प्राइम कमर्सियल बैंक र एनएमबी बैंकको पनि खराब कर्जा घटेको छ। अघिल्लो वर्षको तुलनामा खराब कर्जा यथावत् राख्ने बैंक ग्लोबल आईएमई बैंक र सिद्धार्थ बैंक हुन्। बाँकी बैंकको भने खराब कर्जा अघिल्लो वर्षको तुलनामा बढेको छ।

यसअघि अघिल्लो वर्ष पनि वाणिज्य बैंकहरूले खराब कर्जा अनुपात घटाएका थिए। सो अवधिमा वाणिज्य बैंकहरूको खराब कर्जा औसत शून्य दशमलव २९ प्रतिशतले घटाएका थिए। आर्थिक वर्ष २०७२⁄७३ पुसको तुलनामा आव २०७३⁄७४ पुसमा ७ वटा वाणिज्य बैंकको खराब कर्जा बढे पनि २१ वटाको घटेको थियो। चालू आर्थिक वर्षको ६ महिनामा सबैभन्दा कम खराब कर्जा (एनपीएल) सानिमा बैंकको छ भने सबैभन्दा बढी सिभिल बैंकको छ।

चालू आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरणमा सानिमाले एनपीएल घटाएर शून्य दशमलव शून्य ३ प्रतिशत कायम गरेको छ। अघिल्लो वर्ष शून्य दशमलव शून्य १ प्रतिशत रहेको बैंकको खराब कर्जा एक वर्षको अवधिमा बढेको हो। यद्यपि, चालू आवको पहिलो त्रैमासमा सानिमाको खराब कर्जा शून्य दशमलव १४ प्रतिशत थियो।

त्यसैगरी सिभिल बैंकको ४ दशमलव ५२ प्रतिशत खराब कर्जा छ। पहिलो त्रैमासमा सिभिलको खराब कर्जा ४ दशमलव ६९ प्रतिशत थियो भने अघिल्लो वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ४ दशमलव ४५ प्रतिशत रहेको थियो। सिभिलले पछिल्लो समय खराब कर्जा केही घटाएको उसको वित्तीय विवरणमा उल्लेख छ।

कम खराब कर्जा हुनेमा नेपाल एसबीआई बैंक दोस्रो स्थानमा छ। बैंकको खराब कर्जा शून्य दशमलव १३ प्रतिशत रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा पनि शून्य दशमलव १७ प्रतिशत छ। पहिलो त्रैमासमा एसबीआई बैंकको खराब कर्जा शून्य दशमलव १३ प्रतिशत रहँदा स्ट्यान्डर्ड चार्टर्ड बैंकको खराब कर्जा शून्य दशमलव १८ प्रतिशत थियो। अघिल्लो वर्ष यो तथ्यांक रहेको शून्य दशमलव १२ र शून्य दशमलव २६ प्रतिशत रहको थियो। एभरेस्ट बैंकको खराब कर्जा पनि शून्य दशमलव २५ प्रतिशत छ।

धेरै खराब कर्जा हुनेमा सिभिल बैंकलाई पछइउँदै प्रभु बैंक दोस्रो स्थानमा छ। बैंकको खराब कर्जा दर ४ दशमलव १२ प्रतिशत रहँदा एनसीसी बैंकको खराब कर्जा पनि ४ दशमलव शून्य ४ प्रतिशत रहेको छ। सरकारी स्वामित्वका कृषि विकास बैंक र नेपाल बैंकको खराब कर्जादर पनि ३ प्रतिशतभन्दा माथि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्