विद्यार्थीलाई सडक नियम सिकाउँदै ट्राफिक प्रहरी



ललितपुर,  जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रहरीले ट्राफिक नियमबारे शिक्षा दिन थालेको छ ।

ललितपुर महानगरीय ट्राफिक प्रहरी परिसरले गत साताबाट ‘विद्यालयमा शिक्षा’ कार्यक्रममार्फत विद्यार्थीलाई ट्राफिक नियमका बारेमा सिकाउन थालेको हो । एक सातामा नौवटा विद्यालयमा कार्यक्रम गरिएको प्रहरी निरीक्षक सीताराम हाछेथुले बताउनुभयो । उहाँले भन्नुभयो, “ललितपुरका सबै विद्यालयमा पुग्ने हाम्रो लक्ष्यसंगै जानकारीमूलक भिडियो र बालबालिकासँग अन्तरक्रिया गरेर उनीहरुलाई ट्राफिक शिक्षा दिन लागिएको होे ।”

प्रहरी निरीक्षक हाछेथुका अनुसार भविष्यका सडक प्रयोगकर्तालाई अहिले सिकाउँदा भविष्यमा समेत सडक सुरक्षित हुनेछ । बालबालिकाले आफूले सिकेका कुरा व्यवहारमा उतार्नुका साथै अभिभावकलाई समेत सिकाउँछन् ।

उक्त परिसरले शिक्षकमार्फत समेत बालबालिकालाई सिकाउने योजना बनाएको छ । प्याब्सनसँगको सहकार्यमा पहिले शिक्षकलाई तालीम दिने र ती शिक्षकबाट बालबालिकालाई सिकाउने उहाँको भनाइ थियो ।

अहिले विद्यालयको पाठ्यपुस्तकमा सडक नियम र अपनाउनुपर्ने सावधानीका विषय समेटिएको छैन ।
रासस

प्रतिक्रिया दिनुहोस्