मोदीकी पत्नी जसोदा बेन चढेको गाडी दुर्घटनाग्रस्त, एकको मृत्यु



नयाँदिल्ली (एजेन्सी)
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदा बेन बसेको इनावा गाडी बुधबार राजस्थानको चित्तौडगढमा दुर्घटनागस्त भएको छ।

दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको छ भने उनका सुरक्षा गार्ड पनि घाइते भएका छन्। जसोदा बेनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको प्रहरीले जानकारी दिए। उक्त दुर्घटना चित्तौड–कोटा हाइवेमा भएको हो। दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी सक्रिय भएका थिए। जसोदा बेन बसेको वाहन दुर्घटनाग्रस्त भएको सूचना प्राप्त भएलगत्तै प्रहरी अधिकारीहरू घटनास्थलमा पुगेका थिए।

अस्पतालका डाक्टर मधुप बख्सीले जसोदा बेन पूर्ण सुरक्षित रहेको जानकारी दिए। दुर्घटनामा उनलाई कुनै चोट नलागेको उनले बताए। यद्यपि उनीसँगै यात्रामा रहेका कमान्डरको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ। गाडीमा जेसोदा बेनकी भतिजी र उनकी छोरी पनि उनीसँगै यात्रा गरिरहेको डाक्टर बख्सीले जानकारी दिए। भतिजीको टाउकोमा पनि चोट लागेको तर उनकी छोरी सुरक्षित रहेको उनले बताए।

दुर्घटना चितौड जिला मुख्यालयबाट ४५ किलोमिटर टाढा पारसोली प्रहरी थाना क्षेत्रको कान्टुदानजिकै भएको बताए। जसोदा बेन अहिले चितौड अस्पतालमै छिन्। तर घाइतेहरूलाई थप उपचारका लागि उदयपुरको आएएनटी मेडिकल कलेजमा लगिएको बताइएको छ। जसोदा बेन पनि उनीहरूसँग जान सक्ने अनुमान गरिएको छ।

पारसोलीको थाना अधिकारी श्याम सिंहले दुर्घटनामा वसन्त भाइ नामका व्यक्तिको मृत्यु भएको जानकारी दिए। दुर्घटना किन र कसरी भयो भन्ने विषयमा जाँच भइरहेको उनले बताए। घाइतेहरूलाई तत्काल एम्बुलेन्समा चितौड पठाइएको र अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्