काठको बन्द बाकस



बिखेको आधा जीवन गरिबीको ओढारमै बितेर गयो। घरमा एउटी बूढी आमा जसलाई दिनरात छोरा बिखेको चिन्ता थियो, छोरा बिहे गर्नलायकको भइसकेको थियो तर गरिबीको कारणले बूढी आमा आफ्नो छोराको लागि केही पनि गर्न असमर्थ थिइन्। सम्पत्तिको नाममा एउटा सानो झुपडी थियो, त्यो पनि साहूकोमा बन्धकी थियो। ऋणले टुपी बिकिसकेको थियो। यही कुराले बूढी आमालाई पीडाले मुटुमा छेस्को बिझेझैँ बिझाएको थियो।

गाउँमा अरूको चाकरी गर्दै बिखे घरको निम्ति दुई–चार पैसा जोड्दै थियो। बूढी आमा पनि सकी नसकी वनदेखि दाउरा ल्याई बजारमा बेच्ने गर्थिन्। आमा–छोरा दिनरात केही पैसा जोड्न लागिपरेका थिए। दिन बित्दै गए। बिखेको पनि बिहे हुन्छ। गाँस, बास, कपासको चाँजोपाँजो जुटाउँदै बिखे श्रीमतीलाई खुशी राख्ने प्रयास गर्दै थियो। आमालाई टीबी रोगले ग्रस्त पारेको हुन्छ, नजिकैको स्वास्थ्य चौकीमा निःशुल्क उपचार गराउँदै आमाको लागि तागतिला खानेकुरा जुटाउनतर्फ बिखे दिनरात काम गरिरहेको हुन्छ।

एकातिर आमाको स्वास्थ्य, अर्कोतिर साइँली (बिखेकी श्रीमती) दुई जीउकी भएकी हुन्छे। बिखेलाई जीवन धान्न गाह्रो भइसकेको थियो, कसरी गरोस् उसले पनि एक्लैले सबथोक ? कुनै उपाय नदेखेपछि बिखे विदेश जाने निर्णय लिन्छ। ऊ खाडी देश जानका निम्ति साहू बासँग ऋण माग्न जान्छ।

‘के छ त तँसँग बन्धकी राख्नको लागि हँ ?’ साहूको कुरा सुनेर बिखे जिब्रो लर्बराउँदै भन्छ– ‘साहु बा मसँग केही पनि छैन, म छिट्टै कमाएर टक्र्याउँछु, मलाई विश्वास गर्नुस् साहु बा।’ बिखे बिन्ति बिसाउँदै जान्छ भने साहू बा हुक्का तान्दै केही सोचिरहेका हुन्छन्। परबाट साइँली र आमालाई आउँदै गरेको बिखेले देख्छ।

‘ए बाबु, किन जानुपर्यो तँलाई विदेश ? यतै केही गरे हुँदैन ?’ आमाको कुरा सुनेर बिखे बोल्छ– ‘आमा, साहू बाको ऋण पनि त तिर्नु छ अनि तिमी सधैँ बिरामी, उता साइँली दुई जीउकी, सधैँ पैसाको अभाव छ। त्यसैले जान्छु आमा।’ आमाका आँखा रसाउँछन्। बल्ल साहू बा बोल्छन्– ‘जा त जा बिखे, म तँलाई ऋण दिन्छु तर के राख्छ ?’ साइँलीले गलाको तिलहरी फुकालेर साहूलाई दिँदै भन्छे– ‘ल लिनुस् साहू बा, यसैलाई धितो राख्नुस्।’ साहू बा तिलहरी लिएर भित्र छिर्छन् र क्षणभरमै पैसा ल्याएर ‘ल लेऊ साइँली’ भन्दै साइँलीकै हातमा राखिदिन्छन्।
बिखे निःशब्द हुन्छ, सबै जना निस्कन्छन्। केही दिनपश्चात् बिखे घरमा बिदावारी हुँदै खाडी मुलुक जान भनी निस्कन्छ, घरमा रुवाबासी हुन्छ। बिखे आँखाभरि आँसु लिई गाडी चढ्छ। साइँली रुँदै बिखेलाई बिदा गर्छे।

खाडी मुलुक पुगेपछि बिखेले काम त पाउँछ तर उसलाई घरको यादले दिनरात सताउन थाल्छ। जीवनको सेरोफेरोलाई बिखेले राम्रोसँग बुझेको थियो, सानैदेखि आमाले पेट पाल्नका लागि गरेका दुःखहरू बिखेको आँखाअगाडि झलझली आउँथ्यो भने साइँलीको सम्झनाले पिरोलिँदै बिखे आफूलाई सम्हाल्न नसकी बेला–बेलामा सुँकसुँकाउने गर्दथ्यो।

समय बित्दै जान्छ। बिखे गएको पनि ६ महिना पुग्छ तर पनि उसले पर्याप्त पैसा कमाएको भने हुँदैन। दिनरात कामको चापले गर्दा बिखे कमजोर भएको हुन्छ। खानाको कुनै ठेगान नभएपछि उसको शरीरले पनि साथ दिन छोड्छ। बिखेले पैसा नपठाएपछि यता साइँली अनि आमाको दुःखले सीमा नाघिसकेको हुन्छ।

जीवन भोगाइका गतिविधिहरूसँग खेल्दाखेल्दै शायद साइँली अनि आमाको बाँच्ने आधार बिखे मात्रै थियो, जसको आउने पर्खाइमा उनीहरू दिन गन्दै बसिरहेका थिए। खोक्दै आमा बिँडी पिउन थाल्छिन् भने साइँली ओछ्यान लगाउँदै बोल्छे– ‘आमा, ए आमा, कति बिँडी पिउनुभएको ? भयो अब त छोड्नुस्, खोकीले छोडेको छैन हजुरलाई, त्यहीँ माथि औषधि पनि खान छोड्नुभयो।’ आमाले भनिन्– ‘मेरो चिन्ता नली बुहारी, दुई दिनको झुल्किने घामसरि भएको छु, आज हो कि भोलि हो, मर्नुभन्दा अघि छोराको मुख हेरेर मर्न पाए हुन्थ्यो, खोई कहिले आउँछ छोरा पनि ?’

आमाले बोलेका शब्दहरूले साइँली मौन हुन्छे। पेटमा रहेको नासोले सात महिना काटिसकेको हुन्छ। अय्या गर्दै आमा ओछ्यानमा पल्टिन्छिन्। साइँली पनि निदाउन खोज्छे। बिहानै चराहरूको चिरबिर आवाजसँगै साइँली ब्युझिन्छे अनि उठेर गोठतिर लाग्छे भने बूढी आमा आगो फुक्न थाल्छिन्। बाहिर आँगनमा कोही गुनगुन गर्छ– ‘आमा, ए आमा, होइन को हुनुहुन्छभित्र ?’ आँखा मिच्दै बूढी आमा बाहिर निस्किन्छिन्।
आँगनमा गाउँलेसहित धेरै जना भेला भएका हुन्छन्। साहू बा बोल्छन्– ‘यहाँ राख्नुस् अगाडि।’ चारजनाले बोकी ल्याएको काठको बाकस आँगनमा राख्दै उनीहरू पछाडि हट्छन्। अचम्म मान्दै बूढी आमा बोल्छिन्– ‘के हो यो ? बाबु, के बोकी ल्यायौ ? मैले त मेसो नै पाइनन।’ साहू बा अप्ठ्यारो मान्दै बोली फुटाउँछन्– ‘बिखे काम गर्ने बेलामा १० तला माथिबाट खसेको रे, अस्पताल लैजाँदै गर्दा बाटोमै दम तोडेछ।’ बूढी आमा निमुख हुन्छिन्, एकोहोरो काठको बाकसतिर टोलाइरहन्छिन्।

साइँली एकाएक चिच्याएर के भयो भनी दौडिँदै आँगनमा आइपुग्छे। गाउँले मौन उभिइरहेका हुन्छन्। छोपी राखेको काठको बाकस खोलेर साइँलीले भित्र चिहाएकी मात्र के हुन्छे, बिखेको शव देखेर आँगनमै अचेत हुन पुग्छे। साहू बा बूढी आमाको नजिकै गएर ‘आफूलाई सम्हाल ए बिखेकी आमा’ भनी छुन खोज्दा उनको शरीर पनि निर्जीवसरि भुइँमा लड्छ। साहू बा अचम्म मान्दै बूढी आमाको नाडी छाम्न थाल्छन् तर अफसोस, उनले प्राण त्यागिसकेकी हुन्छिन्। प्रत्येक नेपालीको कथा एक समान नभए पनि अधिकांश नेपालीको कथावस्तु यस्तै नै हो।

गरिबीको चपेटाले दिनहुँ नेपाली दाजुभाइ सपनाको संसार बुन्दै मुङ्लान धाउँछन् भने फर्कंदा काठको बाकसमा भित्रिने गर्छन्। यसको पीडाले पूरै परिवारले समेत आहुति दिनुपरेको हुन्छ। कहिले अनि कसरी निर्मूल तथा निवारण होला हामी नेपालीको यस्तो कथा–व्यथा ?
– सुरेन्द्र पाण्डे, ओखलढुंगा

प्रतिक्रिया दिनुहोस्