पाहुनाको पर्खाइमा चित्रेको पञ्चासे ‘होमस्टे’



दुर्गाप्रसाद शर्मा, पर्वत । प्रसिद्ध पर्यटकीय स्थल पञ्चासे क्षेत्रमा घुम्न आउने पर्यटकहरुलाई लक्षित गरी सञ्चालन गरिएको चित्रेको होमस्टे सेवा प्रभावकारी बन्दै गएको छ । गाउँमा स्थानीय उत्पादनका साथै स्थानीय कला र संस्कृतिमा रमाउन पाईने भएपछि पर्यटकहरु आकर्षित हुन थालेका छन् ।

होमस्टे सेवा शुरु गरेपछि गाउँमा आउने पर्यटकहरुको संख्या बढ्न थालेसँगै स्थानीयमा समेत उत्साह बढेको छ । ‘होम स्ट’े सहितको न्यानो अतिथि सत्कारको प्रवन्ध भएपछि गाउँमा आउने पर्यटकको संख्यामा बृद्धि भएको हो । जिल्ला सदरमुकामबाट ११ किलोमिटर पक्कि सडक र ७ किलोमिटर गोरेटोबाटो हिडेपछि पर्वतको चित्रेमा पुग्न सकिन्छ ।

पञ्चासेको फेदीमा रहेको चित्रे गाउँमा बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटकहरु बढि आउने गरेको होमस्टे संचालक विष्णुकुमारी गुरुङले बताइन् । घुम्न आउने पाहुनाहरुलाई उचित बास गास र कपासको व्यवस्थापन गर्नकै लागि होम स्टे सञ्चालनमा ल्याइएको उनले बताईन् ।

ग्रामीण क्षेत्रको बसाई र स्थानीय उत्पादनको उपभोग गर्न पाईनेभएपछि आन्तरिक पर्यटकहरुको संख्या बढेको स्थानीयवासीहरु बताउँछन् ।

पञ्चासे अवलोकनका लागि आउने पर्यटकहरुलाई खाना र वस्नको लागि असुविधा हुन थालेपछि भने गाउँमा ‘होम स्टे’ को शुरुवात गरिएको स्थानीय शिक्षक मधुसुदन अधिकारीले बताए । अहिले चित्रेमा वार्षिक रुपमा ३ हजार बढि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेको चित्रे ग्रामीण पर्यटन होमस्टेको तथ्याङक छ ।

गाउँमा आउने पाहुनाहरुलाई बच्चा देखि बृद्धहरुले समेत गर्ने स्वागत सत्कार र मिठो बोली वचनका कारण पर्यटकहरुको आकर्षण बढेको हो । पाहुनाहरुका लागि स्थानीय स्तरमा उत्पादन हुने खाना लोकल कुखुरा, कोदो मकैका परिकार लगायतले स्वागत सत्कार गर्ने गरेको स्थानीयहरु बताउँछन् ।

२०६६ सालबाट शुरु गरिएको होम स्टे हाल १० वटा घरहरुमा उपलब्ध गराइएको छ । होमस्टेमा अहिले एक पटकमा ६५ जनालाई बस्न सक्ने गरि व्यवस्थापन गरिएको र आगामी दिनमा अन्य घरहरुमा समेत विस्तार गर्ने योजना रहेको सञ्चालक समितिका अध्यक्ष शुशिला गुरुङले जानकारी दिइन् ।

पछिल्लो समयमा जिल्ला स्तरमा हुने गोष्ठि, सेमिनार र अन्तरक्रिया कार्यक्रमहरु समेत पर्यटकीय गाउँ चित्रेमा आयोजना हुन थालेपछि स्थानीयहरुको सहभागितामा बहुद्देश्यि सामुदायिक भवन समेत बनाएर संयुक्त रुपमा खाना खुवाउने तथा कार्यक्रम गरिने गरेको छ ।

सुन्दर तथा प्राकृतिक यस क्षेत्रको विकास तथा होमस्टे प्रवद्र्धनमार्फत स्थानीयवासीको जीविकोपार्जन तथा ग्रामीण पर्यटनको संभावना बढाउन सरकारले समेत विशेष नीति ल्याउनुपर्ने स्थानीयबासीको माग रहेको छ ।

अग्ला हिमाली डाँडाहरु, मनोरम ग्रामीण परिवेश, दुर्लभ र बहुमुल्य जडिवुटि पाइने पञ्चासेको घना जंगल र न्यानो आतिथ्यताका कारण पर्वतको चित्रेमा आउने आन्तरीक पर्यटकहरुको संख्यमा बृद्धि हुन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्