सौगात फेरि रंगकर्मी



आगामी फागुन ११ गतेदेखि अल नेपाल रिलिज हुन लागेको फिल्म पञ्जेबाजामा अभिनेता सौगात मल्लले रंगकर्मीको भूमिका निर्वाह गरेको खुलाएका छन्। हालै राजधानीमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले भने– ‘मैले लामो समय नाटक अभिनयमा काम गरें। पञ्चेबाजामा पनि यस्तै भूमिका रहेको र त्यो नाट्यकर्मीको चरित्र आफ्नो जस्तो लागेकाले अभिनय गरेको हुँु, आगामी एक वर्षका लागि विभिन्न फिल्ममा जोडिइसकेको दाबी गर्दै सौगातले भने– ‘यो फिल्ममा दर्शकले मनोरञ्जनसँगै सन्देश पनि पाउनेछन्।’

त्यसै गरी निर्देशक घनश्याम लामिछानेले फिल्मबारे प्रकाश पार्दै भने– ‘एउटा नाट्यकर्मीको चरित्र तयार भएपछि मैले त्यो भूमिकाका लागि सौगात मल्लबाहेक अरूलाई देखिनँ। उहाँले त्यो भूमिकालाई सोचेभन्दा बढी न्याय गरिदिएकोमा म खुसी छु।’ सौगातसँगै जस्मिन श्रेष्ठ, कर्मा शाक्य, सिर्जना सुब्बालगायतले अभिनय गरेको फिल्म पोखरा आसपासका छायांकन गरिएको र मौलिक फिल्म बनाउने कोशिस गरेको पनि निर्देशक लामिछानेले बताए।

नायिका जस्मिन श्रेष्ठले फिल्ममा काम गर्ने क्रममा धेरै कुरा सिकेको बताइन्। ‘सौगात मल्लको थुप्रै फिल्म हेरेर प्रशंषक भएकीले उहाँसँग काम गर्न आतुर थिएँ। पञ्चेबाजामा काम गर्दा सौगातबाट धेरै कुरा सिक्ने अबसर पनि पाएँ’ –पञ्चेबाजाको भूमिकाका लागि अनुप बरालसँग ३ महिना अभिनय सिकेर आएपछि सौगातसँग काम गर्न सजिलो भएको खुलाउँदै उनले भनिन्। यसअघि कबाज, मनको साथी, बीच बाटो निर्माण गरेका राजेश शाहीले पञ्चेबाजा बनाएका हुन्। विगतका चलचित्र एक्सन प्रधान र प्रेम कथामा आधारित रहे पनि यसपटक ग्रामीण समाजको संस्कृतिलाई समेटेर पञ्चेबाजा बनाएको निर्माता शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्