स्कटल्यान्डमा अनमोल र अदितीको रोमान्स



नायक अनमोल केसी र नायिका अदिती बुढाथोकीले स्कटल्यान्ड पुगेर रोमान्स गरेका छन्। अनमोल र अदितीले आगामी माघ २६ गतेबाट अल नेपाल रिलिज हुन लागेको फिल्म कृका लागि स्कटल्यान्ड पुगेर रोमान्स गरेका हुन्।

बहुप्रतिक्षित मानिएको कृको मैले जानी नजानी बोलको गीतको भिडियोका लागि अनमोल र अदितीले स्कटल्यान्डमा रोमान्स गरेका छन्। फिल्मका निर्देशक सुरेन्द्र पौडेल, निर्माता भुवन केसी, छायाँकार पुरुषोत्तम प्रधानलगयतको टिमले स्कटल्यान्डमा विभिन्न रमणीय स्थानमा ३ दिन लगाएर यो गीतको भिडियो खिचेको थियो। उक्त टिम सुटिङ पूरा गरी काठमाडौं फर्किसकेको छ।

यो गीतमा रोदित भण्डारीको स्वर, रोदितकै शब्द तथा रोदित र विशेष पाण्डेको संगीत छ। गीतको भिडियोमा अनमोल र अदितीलाई फिचरिङ गरिएको छ। यसमा अनमोल र अदिती रोमान्टिक मुडमा देखिएका छन्। गीतको भिडियोलाई विक्रम लामा र एन्जिलिना खत्रीले कोरियोग्राफी गरेका हुन्।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको फिल्मको प्रस्तुतकर्ता द सुपर काजोल फिल्म्स् हो। फिल्ममा सुवास गिरी र भुवन केसीको लगानी छ। फिल्ममा अनमोल र अदितीको साथमा अनुपविक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रूपा रानालगायतका कलाकारको मुख्य भूमिका छ।

प्रतिक्रिया दिनुहोस्