एकैपटक ६ सयलाई जागिर दिने गाउँपालिकाको यस्तो योजना



दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको महाशिला गाउँपालिकाले एकै पटक छ सय बेरोजगारीलाई रोजगारी दिने घोषणा गरेको छ ।

गाउँपालिकाले ‘महासिला बिकास स्वयमसेवक’का लागि आइतबार सुचना प्रकाशित गर्दै छ सयलाई रोजगारीको अवसर खुलाएको छ । जिल्लाको सबैभन्दा कमजोर र अन्य आयस्रोत नभएको गाउँपालिकाका रुपमा गनिने महाशिला गाउँपालिकाले स्पष्ट योजनासहित एक घर एक रोजगारीको अवधारणा ल्याएको छ ।

सरकारी र गैरसरकारी निकायमा कुनैपनि सदस्यले रोजगारी नपाएको परिवारका कम्तीमा पनि एक जनालाई रोजगार दिने गरि ‘महासिला बिकास स्वयसेवक’ भर्ना गर्न लागिएको महाशिला गाउँपालिका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । गाउँ कार्यपालिकाले ‘एक घर एक रोजगार’ कार्यक्रम पारित गरे अनुसार पहिलो चरणमा ६ सय जनालाई एकैपटक जागिरको अवसर दिएको उनले बताए ।

‘पहिलो चरणमा छ सय जनालाई रोजगारी दिने तयारी गरेका छौ’ उनले भने–‘विभिन्न सीपमुलक तालिम दिएर सम्बन्धित क्षेत्रमा काममा लगाउने गाउँपालिकाको योजना छ ।’ १८ बर्षदेखि ३५ बर्ष उमेरका ६० प्रतिशत, ३५ देखि ४५ बर्ष उमेर समुहलाई ३० प्रतिशत र ४५ देखि ५५ बर्ष उमेरका १० प्रतिशत महिला पुरुषलाई यो अभियानमा सहभागी गराउने अध्यक्ष पौडेलले बताए ।

छ सय जनालाई महिनामा १५ दिन मात्रै काममा लगाउने र त्यसबापत मासिक छ हजार रुपैयाँ प्रदान गर्ने, उनीहरुको जिवन बिमा, पोशाक, निर्माण सामाग्रीसहित ब्यवस्थापनमा बार्षिक दुई करोड ५५ लाख रुपैयाँ लाग्ने अनुमान गाउँपालिकाको रहेको छ ।

गाउँपालिकाले प्लम्बर र खानेपानी, सहकारी, लेखा बैंक, बन ब्यवस्थापन, विद्यालय कर्मचारी, बिद्यालय शिक्षक, स्वास्थ्य संस्था अनमी, स्वास्थ्य सहयोगी, पशु स्वास्थ्य कार्यकर्ता, कृषि कार्यकर्ता, बैंक जेष्ठ नागरिक सहयोग, चिया खेती, अलैची खेती, वडा र गाउँपालिका ब्यवस्थापन, सडक रक्षक, पर्यटन, बिद्युत रक्षक, सिकर्मी, डकर्मी लगायतका बिषयमा छ सय जनालाई तालिम दिने भएको छ ।

तीन महिनाको तालिमपछि महिनामा १५ दिन काम दिनेगरी गाउँपालिकाले तयारी गरेको हो । महाशिला गाउँपालिकामा दुई हजार दुई सयबढी परिवारको घर रहेपनि अहिले दुई हजार परिवार बसोबास गर्दै आएका छन् । झण्डै एक हजार परिवार बेरोजगार रहेको गाउँपालिकाले अनुमान गरेको छ ।

तालिम अवधिभर गाउँपालिकाको तालिममा सहभागी भएका प्रशिक्षार्थीलाई मासिक तीन हजार र दैनिक २५ रुपैयाँ खाजा खर्च उपलब्ध गराइने भएको छ । गाउँपालिकाले तालिम अवधि र असार मसान्तसम्मका लागि ९५ लाख रुपैयाँको बजेट ब्यवस्थापन गरेको छ । आर्थिक बर्ष ०७५/०७६ देखि गाउँपालिकाले रोजगारी पाएका सबैलाई न्युनतम पाँच लाख बराबरको दुर्घटना बिमा गराउने भएको छ ।

एक घर एक रोजगारीका लागि गाउँपालिकामा बिनियोजन भएको आर्थिक कोषका ५० प्रतिशत रकम बिनियोजन गरिने भएको छ । त्यस्तै गरी यसको दिगोपनाका लागि गाउँपालिका मातहतमा एउटा छुट्टै विकास सहकारी स्थापना गरिनेछ । सहकारीमा गाउँपालिकाका बासिन्दा र गाउँपालिकाको शेयर राखिने भएको छ ।

सुरुमा १० करोड रुपैयाँ पुजी रहने गरी गाउँपालिकाको चार करोड र गाउँपालिकाबासीको छ करोड रुपैयाँ शेयर उठाउने अध्यक्ष पौडेलले बताए । गाउँपालिकामा रोजगारी पाएकाका परिवारका अन्य प्रत्येक सदस्यले कम्तीमा बार्षिक ६० हजार रुपैयाँ आम्दानी गरेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्