झापाका सीमा क्षेत्रमा मोटरसाइकल चोरको बिगबिगी



प्रहरीले अहिले सम्म मोटरसाइकल चोरी गर्ने एक दर्जन भन्दा बढी व्यक्तिलाई पक्राउ गरिसके पनि झापाका बजार क्षेत्रमा मोटरसाइकल चोरीका घटनामा कमी आएको छैन ।

नेपाल समाचारपत्र, भद्रपुर ।

झापाका मुख्य बजार क्षेत्रमा प्रहरीको निगरानी बढेपछि मोटरसाइकल चोरी गर्ने गिरोहमा आवद्ध समूहले केहिदिन यता सीमा क्षेत्रका बजारबाट मोटरसाइकल चोरी गर्न थालेका छन् ।

भद्रपुर क्षेत्रबाट १० दिनको अवधिमा तीन वटा मोटरसाइकल चोरी भएपछि बजार क्षेत्रमा गिरोह केन्द्रीत रहेको पाइएको हो । एउटा मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारेपनि दुई वटा मोटरसाइकल अझै फेला परेको छैन । मोटरसाइकल चोरी बढ्न थालेपछि भद्रपुरका प्रहरीलाई थप चुनौती थपिएको छ ।

घटना विवरण अनुसार शनिवार दिउँसो भद्रपुर बजारबाटै एउटा मोटरसाइकल चोरी भएको छ । भद्रपुर ६ स्थित हटिया (बजार) लाग्ने पार्किङ स्थलबाटै भद्रपुर ४ का द्रिर्णे राजवंशीको मे २ प ८२२५ नम्बरको हिरोहोण्डा कम्पनीको कालो रंगको सुपर स्पेलण्डर मोटरसाइकल चोरी भएको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर प्रकाश जगेवुले जानकारी दिए ।

पार्किङ स्थलमा मोटरसाइकल राख्दा सवारीधनी राजवंशीले साँचो नै मोटरसाइकलमा छाडेर बजार गर्न गएका थिए । फर्किएर आउँदा राजवंशीको मोटरसाइकल नभेटाएपछि बजारमा होहल्ला मचिएपछि प्रहरी घटनास्थल पुगेको इन्सपेक्टर जगेवुले बताए ।

त्यसैगरी गत माघ १२ गते भद्रपुर ८ स्थित हस्पिटल चोकमा रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाको परिसरबाटै राती साढे २ बजे मे ७ प ४४४१ नम्बरको मोटरसाइकल चोरी भएको छ । बजाज कम्पनीको डिस्कभर मोटरसाइकल चोरी भएको प्रहरीले जनाएको छ । चोरी गर्न आएका दुई युवकलाई रेडक्रसको सिसी क्यामेराले कैद गरेपनि पहिचान हुन नसक्दा हाल सम्म उनीहरु पक्राउ पर्न नसकेको प्रहरीको भनाइ छ ।

त्यसैगरि भद्रपुर ६ स्थित विकेन्द्र श्रेष्ठको घरबाट माघ ११ गते मे ९ प ७२२ नम्बरको होण्डा कम्पनीको कालो रंगको हर्नेट मोटरसाइकल चोरी भएको थियो । घरधनी श्रेष्ठ काम विशेषले घर बाहिर गएको बेला उनको मोटरसाइकल घरको बरन्डाबाट चोरी भएको थियो । मोटरसाइकल चोरी भएको जानकारी पाउन साथ वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल नेपाल–भारत सीमावर्ती नजिकैबाट सोही दिन विहान वेबारिसे अवस्थामा फेला पारेको जगेवुले जानकारी दिए ।

प्रहरीले अहिले सम्म मोटरसाइकल चोरी गर्ने एक दर्जन भन्दा बढी व्यक्तिलाई पक्राउ गरिसके पनि झापाका बजार क्षेत्रमा मोटरसाइकल चोरीका घटनामा कमी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्