प्रदेश ५ को पहिलो प्रदेशसभा बैठक आज बस्दै



यमलाल भुसाल, बुटवल ।

प्रदेश नम्बर ५ को अस्थायी मुकाम बुटवलमा आज दिउँसो १ बजे बस्ने पहिलो प्रदेशसभा बैठकको तयारी पूरा भएको छ । प्रदेश ५ को बैठकलाई ऐतिहासिक बनाउन सबै हिसाबले तयारी पूरा भएको जेष्ठ सदस्य तथासभाको अध्यक्षता गर्नु हुने बलदेव शर्मा पोखरेलले बताउनु भयो ।

प्रदेशसभा बैठकका लागि बुटवल उद्योग वाणिज्य संघको भवनलाई दुलही सरह चिटिक्क पारेर सिँगारिएको छ ।
प्रदेश ५ मा पर्ने बाँके, बर्दिया, दाङ, रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम र रुपन्देहीका सांसदहरु बुटवल आइसक्नु भएको छ ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण मैनालीले आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था मिलाईएको बताउनु भएको छ ।
५ नम्बर प्रदेशबाट नेकपा एमाले ४१, नेपाली कांग्रेस १९, माओवादी केन्द्र २०, संघीय समाजवादी फोरम ५, राष्ट्रिय जनता पार्टी १ र राष्ट्रिय जनमोर्चा १ गरी ८७ प्रदेश सांसद रहेका छन् ।

यस्तो छ पहिलो बैठकको कार्यसूची

७९ वर्षीय जेष्ठ सदस्य बलदेव शर्मा पोखरेलले पहिलो बैठकको सभामुखको भूमिका निर्वाह गर्नु हुनेछ ।
बैठक शुरु हुनसाथ सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाको प्रदेशसभा आह्वानसम्बन्धी पत्र पढेर सुनाउने कार्यक्रम रहेको छ ।
त्यसलगत्तै शहीदप्रति सम्मान गर्दै मौनधारण गर्ने र राष्ट्रिय गीतमा सरिक हुने गरि सामान्य नियम अनुसार बैठक अगाडि बढ्ने संघीय संसदका सचिव सुरेन्द्र अर्यालले बताउनु भयो ।

पहिलो बैठक भएकाले सभामुखले प्रदेश सांसदहरुलाई सम्बोधन गर्ने कार्यसूची छ । यसका साथै आईतबार ५ नम्बरप्रदेशबाट प्रतिनिधित्व गर्ने ६ वटा दल, एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम, राजपा र राष्ट्रिय जनमोर्चाका सांसदहरुले १० मिनेटका दरले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रदेशसभामा मुख्य गरि प्रदेश प्रमुखको पत्र, अन्तरिम प्रदेशसभा सञ्चालन कार्य्विधि प्रस्ताव र आउँदो माघ २८ गतेका लागि सभामुखको निर्वाचनसम्बन्धी कार्यसूची रहेको प्रदेश सांसद सचिवालयका सचिव अर्यालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्