आईओसीद्वारा प्रतिबन्ध फुकुवाप्रति असन्तुष्टि



लन्डन, (एजेन्सी)
रसियाली खेलाडीहरूमाथिको प्रतिबन्ध फुकुवा गर्ने अदालतको फैसलाप्रति अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका केही पदाधिकारीले असन्तुष्टि व्यक्त गरेका छन्।

खेलकुदको विवाद हेर्ने स्विजरल्यान्डस्थित अन्तर्राष्ट्रिय अदालत कोर्ट अफ आर्बिटेशन फर स्पोर्ट्स (कास) ले रसियाका २८ खेलाडीमाथि लगाइएको आजीवन प्रतिबन्ध फुकुवा गरेको थियो। अदालतले डोपिङ प्रकरणमा दोषी भनिएका यी खेलाडीविरुद्धको प्रमाण पर्याप्त नभएको जनाउँदै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले बिहीबार आईओसीको निर्णय उल्ट्याइदिएको हो। यसैगरी आजीवन प्रतिबन्ध लागेका अन्य ११ जनालाई पनि फेब्रुअरी ९ बाट दक्षिण कोरियाको प्योङच्याङमा शुरू हुने शीतकालीन ओलम्पिकपछि नै प्रतिबन्ध फुकुवा गरिने निर्णयसमेत गरेको छ।

यसैप्रति लक्षित गर्दै आईओसीका एक पदाधिकारीले कासको निर्णय विश्व खेलकुदका लागि लाजमर्दो भएको प्रतिक्रिया दिएका छन्। यसैगरी आईओसीले पनि एक विज्ञप्तिमार्फत यो प्रकरणमा अन्तर्राष्ट्रिय अदालत सही निर्णय लिनबाट चुकेको आरोपसमेत लगाएको छ। अदालतले दोषीलाई सजाय नदिएर कैद मुक्त गरेको र ती दोषीलाई पुनः खेलमा प्रतिस्पर्धा गर्न प्रोत्साहित गरेको आरोपसमेत लगाएको छ। प्रतिबन्ध फुकुवा भएका २८ जनालाई प्योङच्याङ ओलम्पिकमा सहभागी गराउन नसकिने आईओसीले स्पष्ट पारेको छ।

यसअघि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले भने अमेरिकी रणनीतिका कारण नै रसियाली खेलाडीलाई डोपिङ प्रकरणमा मुछिएको आरोप लगाउँदै आएका छन्। सन् २०१४ मा रसियाको सोचीमा भएको शीतकालीन ओलम्पिकमा रसियाली खेलाडीहरूले राज्यद्वारा प्रायोजित डोपिङ लिएको भन्दै आईओसीले ४३ खेलाडीमाथि आजीवन प्रतिबन्ध लगाएको थियो। ती ४३ मध्येका २८ खेलाडीको प्रतिबन्ध अदालतले उल्ट्याउनुका साथै ११ को प्रतिबन्ध आसन्न शीतकालीन ओलम्पिकपछि हट्ने जनाएको छ।

यता यसपटक रसियाका अन्य १ सय ६९ जना खेलाडीहरू भने तटस्थ खेलाडीको हैसियतमा प्योङचाङ ओलम्पिकमा सहभागी हुँदै छन्। उनीहरूले ‘ओलम्पिक एथ्लिट्स फ्रम रसिया’ नामबाट ओलम्पिकमा सहभागिता जनाउनेछन्। जसमा राष्ट्रिय झन्डाविहीन खेलाडीले विशेष प्रकारको पोसाक लगाउनेछन् भने कुनै राष्ट्रिय धुन बजाइनेछैन।

प्रतिक्रिया दिनुहोस्