शहरमै वित्तीय साक्षरताको कमी



नेपाल समाचारपत्र
काठमाडौं
शुक्रबारदेखि भृकुटीमण्डपमा ‘दोस्रो बैंकिङ एक्स्पो २०१८’ शुरू भएको छ। एक्स्पोको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा बोल्दै गभर्नर नेपालले सीमित व्यक्तिले मात्र नभएर सबैले बैंकिङ सुविधा लिन पाउनुपर्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको बैंकिङ एक्स्पो कार्यक्रम अत्यन्तै सराहनीय रहेको बताउनुभयो। वित्तीय कारोबार कसरी गर्ने भन्ने जानकारी दिनका लागि वित्तीय कारोबार गर्ने सम्पूर्ण संस्थाहरूलाई बैंकिङ एक्स्पोले एकै छानामुनि समेटेको भन्दै उहाँले यसबाट भरपुर फाइदा लिनसक्नुपर्ने बताउनुभयो।

पढेर नजानिने तर गरेर जानिने उद्यमशीलता सम्बन्धी जानकारीहरू बैंकिङ एक्स्पोबाट लिन सकिने गभर्नर नेपालले भनाइ छ। ‘ग्रामीण भेगमा अझै बैंकिङ पहुँच पुगेको छैन। शहरी क्षेत्रमा बैंक पुगे पनि बैंकिङ सुविधा बारे सबै कहाँ जानकारी पुग्न सकेको छैन। अब शहर बजारमा समेत बैंकिङ सुविधाबारे स्पष्ट बनाउन वित्तीय साक्षरताको पाठ पठाउनु जरुरी छ।–उहाँले भन्नुभयो।

वित्तीय चेतना नभएका कारण सर्वसाधारणमा बचत गर्ने बानीको विकास हुन सकेको छैन। विकासशील मुलुकमा जस्तै विद्यालय तहदेखि नै बचत गर्ने, लगानी गर्ने लगायत आर्थिक कारोबारका विषयमा जानकारी दिन सकेमुलुक समृद्ध हुने र पैसा कमाउनकै लागि विदेश जानु नपर्ने गभर्नर नेपालको भनाइ छ।
नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले ‘बचत गरौंं’ भन्ने नारालाई कुनै एक बैंकले भन्दा पनि सबै वित्तीय संस्थाहरू मिलेर सामूहिक रूपमा प्रचार गर्न सकेमा बढी प्रभावकारी हुने बताउनुभयो। बैंकिङ एक्स्पोले वित्तीय साक्षरतालाई अभिवृद्धि गर्ने उद्देश्यले वित्तीय क्षेत्रका सबै संस्थालाई समेटेको हुँदा यो कार्यक्रमले सर्वसाधारणमा बैंकिङ चेतना बढाउन ठूलो भूमिका खेल्ने उहाँले बताउनुभयो।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु गौतमले वित्तीय साक्षरता गाउँगाउँमा पुर्याउन सके आर्थिक कारोबार बढ्ने र मुलुक समृद्ध हुने बताउनुभयो। आर्थिक कारोबारलाई बढाउन मद्दत गर्ने उद्देश्यले संचालन गरिएको बैंकिङ एक्स्पो जस्ता कार्यक्रमलाई युवा स्वरोजगार कोषले सहयोग गर्दै आएको र आगामी दिनमा पनि गरिरहने बताउनुभयो। बचत परिचालन गरेपछि लगानी गर्ने संस्थाहरूले लगानीको सदुपयोग भएको छ कि छैन, परिचालित कर्जाले आर्थिक समृद्धिमा मद्दत पुर्याएको छ कि छैन भन्ने कुराको मुल्यांकन समेत गर्नुपर्ने उहाँको भनाइ छ।

कार्यक्रममा डेभलपमेन्ट बैंकर्स संघका महासचिव झलकप्रसाद खनालले एक्स्पोमा सहभागी हुने र स्टल अवलोकन गर्ने युवाले आर्थिक समृद्धि र उद्यमशीलता विकासमा भूमिका खेल्नेमा विश्वस्त रहेको बताउनुभयो। अहिले ४० प्रतिशतमात्रै रहेको बैंकिङ पहुँचलाई बढाउनु आवयश्यक रहेको र यसमा नियामक राष्ट्र बैंकको भूमिका महत्वपूर्ण हुने खनालको धारणा छ। सबै स्थानीय तहमा बैंक शाखा पुर्याउने सरकारी नीतिलाई विकास बैंकहरूले पनि सहयोग गरिरहेको खनालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्