विकास बैंक पनि अर्ब क्लब नजिकमा पुग्ने संकेत



नेपाल समाचारपत्र
काठमाडौं
बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गर्ने क्रम जारी छ। वाणिज्य बैंकहरूले करोडौं रुपियाँ नाफा कमाएको विवरण सार्वजनिक गरेको अवस्थामा विकास बैंकहरूले पनि आफूहरू कुनै हिसाबमा कम छैनौं भन्ने सन्देश दिएका छन्।

हालसम्म ३५ विकास बैंकमध्ये अधिकांशले चालू आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजानिक गरेका छन्।उनीहरूको वित्तीय विवरण हेर्दा आर्थिक वर्षको अन्त्यसम्म केही विकास बैंकहरू अर्ब क्लबको नजिक पुग्ने संकेत देखिएको छ।

चालू आवको वित्तीय विवरण सार्वजानिक गरेका २५ विकास बैंकमध्ये ८ वटा विकास बैंकको नाफा घटेको देखिएको छ भने १७ वटाको नाफा बढेको छ। चालू आवको दोस्रो त्रैमाससम्म धेरै नाफा गर्नेमा कैलाश विकास बैंक अग्रस्थानमा रहेको छ। यसअवधिमा कैलाश विकास बैंकले सबैभन्दा बढी २६ करोड ६० लाख रुपियाँ नाफा कमाउँदा मुक्तिनाथ विकास बैंकले पनि २६ करोड ४३ लाख रुपियाँ नाफा गर्यो। यी दुई बैंकको नाफा सिभिल बैंकको यही अवधिको नाफाभन्दा बढी हो भने जनता बैंकको भन्दा केही लाख कम हो।

यसअवधिमा महालक्ष्मी विकास बैंक र गण्डकी विकास बैंकले पनि २० करोडभन्दा बढी नाफा कमाएका छन्।

गत आवको दोस्रो त्रैमासमा २६ करोड ३८ लाख रुपियाँ कमाएको कैलाश विकास बैंकले यो अवधिमा मुनाफा सामान्य वृद्धि गरेर २६ करोड ६० लाख रुपियाँ पुर्याएको हो। त्यस्तै मुक्तिनाथ विकास बैंकले पनि २६ करोड ४३ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ। गतवर्षको सो अवधिको तुलनामा बैंकले १८ दशमलव ४४ प्रतिशतले नाफा बढाएको हो। बैंकको गतवर्षको नाफा २२ करोड ३२ लाख रुपियाँ रहेको थियो।

यसअवधिमा नाफा वृद्धि गर्नेमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ। समीक्षा अवधिमा महालक्ष्मी विकास बैंकको नाफा सबैभन्दा बढी ४२ दशमलव ५७ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १४ करोड ४१ लाख रुपियाँ नाफा गरेको बैंकले चालू आवको अवधीमा २० करोड ५४ लाख रुपियाँ नाफा कमाएको छ। त्यस्तै कामना सेवा विकास बैंकको नाफा पनि ३५ दशमलव ३२ प्रतिशतले बढेको छ। बैंकले यो अवधिमा १४ करोड ३७ लाख रुपियाँ खुद मुनाफा आर्जन गरेको छ।

अधिकांश विकास बैंकले नाफा वृद्धि गरिरहँदा केही विकास बैंक भने नाफmा वृद्धि गर्न चुकेका छन्। तीमध्ये तिनाउ, टुरिज्म र सहयोगी विकास बैंकको नाफा २२ प्रतिशतभन्दा बढीले घटेको छ। त्यस्तै मितेरी, ओम, साइन रेसुंगा, कन्काई र सिन्धु विकास बैंकका नाफामा पनि गिरावट आएको छ।

यसअवधिका सबैभन्दा कम नाफा कमाउनेमा साहारा विकास बैंक रह्यो। बैंकले अघिल्लो आवको तुलनामा ३१ प्रतिशतले नाफा वृद्धि गर्दै ५४ लाख रुपियाँ कमाएको हो। त्यसैगरी सप्तकोशी विकास बैंक र सिन्धु विकास बैंकको नाफा पनि क्रमशः १ करोड ९ लाख र १ करोड १० लाख रुपियाँमा सिमित भयो।

प्रतिक्रिया दिनुहोस्