फिडेल क्यास्त्रोका पुत्रद्वारा आत्महत्या



हवाना, (एजेन्सी)
क्युबाका पूर्व नेता फिडेल क्यास्ट्रोका ६८ वर्षीय छोराले राजधानी हवानामा आत्महत्या गरेको क्युबाली सञ्चारमाध्यमले जनाएको छ। लामो समयदेखि डिप्रेसनको शिकार रहँदै आएका फिडेल एन्जेल क्यास्ट्रो डियाज–बालार्टलाई बिहीबार बिहान मृत अवस्थामा फेला परेको बताइएको छ।

स्वर्गीय क्युबाली राष्ट्रपति क्यास्त्रोका पहिलो पुत्र उनी पारिवारिक पृष्ठभूमिको कारण ‘फिडेलिटो’ अर्थात् ‘लिटिल फिडेल’को उपनामले पनि चिनिन्थे। उनी पूर्व सोभियत संघबाट तालिम प्राप्त आणविक भौतिकशास्त्री थिए। करिब एक वर्षअघि मात्र उनका पिताको निधन भएको थियो। क्युबाको आधिकारिक अखबार ग्रान्माले लेखेको छ– ‘महिनौंदेखि डाक्टरहरूको एक समूहबाट क्रोनिक डिप्रेसनको उचार गरिँदै आएका फिडेल क्यास्त्रोले आत्महत्या गरेका छन्।’

सरकारी टेलिभिजनले अस्पतालबाट डिस्चार्ज भएपछि पछिल्ला केही महिनादेखि घरमै उपचार गराउँदै आएको बताएका छन्। क्युबाली जनताले उनको मृत्युप्रति गहिरो दुःख र आश्चर्य प्रकट गरेका छन्। क्यास्त्रो परिवार प्रायशः सर्वधारणको पहुँचबाट निकै टाडा नै रहने हुनाले उनलाई मानसिक रोग रहेको कुरा यसअघि सम्म सर्वसाधारण जनतालाई थाहा नै थिएन।

विगतमा क्युबाको विज्ञान प्रतिष्ठानका उपाध्यक्ष रहेका उनी हाल क्युबाली सरकारी परिषद्का सल्लाहकार रहेका थिए। उनले सन् १९८० देखि १९९२ सम्म क्युबाको आणविक कार्यक्रमको नेतृत्व गरेका थिए। सोभियत संघको विघटनपछि यो कार्यक्रम पनि रोकिन पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्