केन्द्रीय खेलकुद प्रतिष्ठानमा कभर्ड हल शिलान्यास



हेटौंडा, (नेस) । केन्द्रीय खेलकुद प्रतिष्ठान हेटौंडामा कभर्ड हल शिलान्यास गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले शुक्रबार हल शिलान्यास गर्नुभएको हो ।

मार्सल आर्टस्का सबै खेलको अभ्यास हुने गरी कभर्ड हल निर्माण हुने जिल्ला खेलकुद विकास समिति मकवानपुरले जानकारी दिएको छ । १ सय ५० फिट लम्बाई र ६० फिट चौडाईंको हल निर्माणका लागि करिब एक करोड लागत अनुमान गरिएको परिषद् सदस्य सचिव बिष्टले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षभित्र निर्माणसम्पन्न गर्ने गरी काम गरिने जिल्ला खेलकुद विकास समिति अध्यक्ष माधव तिमल्सिनाले बताउनुभयो । आगामी जेठबाट एसियन गेममा सहभागी हुने ३ टिमका खेलाडीलाई गौरीटारमा निर्माण भएको होस्टलमा राखी अभ्यास गर्ने ठाउँका लागि कभर्ड हल निर्माण गर्न लागिएको सदस्य सचिव बिष्टले जानकारी दिनुभयो ।

निर्माण जारी रहेको केन्द्रीय प्रतिष्ठान स्पोर्ट्स युनिभर्सिटीका रुपमा प्रस्ताव गरिएको जानकारी दिँदै बिष्टले सरकारले उक्त प्रस्ताव छिट्टै स्वीकृत गर्ने विश्वास व्यक्त गर्नुभयो । गौरीटारमा अन्य खेलका खेलाडीलाई नियमित अभ्यास गर्न झाडी फँडानी गर्ने काम थालिएको समिति प्रमुख राजन दाहाल खुशराजले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्