पानीघट्ट नाटक पुस्तकको विमोचन



नेपाल समाचारपत्र, लमजुङ । लमजुङमा पानीघट्ट नामक पुस्तकको विमोचन गरिएको छ । नाटक विधामा लेखिएको उक्त पुस्तक सांसद धनञ्जय दवाडी, निवर्तमान सांसद जमिन्द्रमान घले, पुस्तकका लेखक पुरु लम्साल र मञ्जरी नाटक समूह लमजुङका अध्यक्ष केदार बोहोराले संयुक्त रुपमा विमोचन गर्नु भएको हो ।

सांसद दवाडीले नाटकका लेखक लम्साललाई पछिल्ला ३-४ वर्षदेखि पढ्ने मौका पाएको बताउँदै उहाँले काठमाडौँबाट लमजुङ आएर यहाँको लोपोन्मुख संस्कृतिको जगेर्ना गर्नका लागि घच्घच्याउनु भएकोमा उहाँप्रति जिल्लाबासीले गर्व गर्नु पर्छ भन्नुभयो । उहाँले नाट्यकलाका माध्यमले लमजुङको लोक संस्कृतिलाई उर्वर बनाउन खेल्नु भएको प्रशंसा गर्नु हुँदै अब नाकट हलको निर्माण गर्नु पर्छ, त्यसका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु भन्नुभयो ।

लमजुङमा प्रदर्शनको तयारीमा रहेको पानीघट्टको प्रदर्शनका क्रममा उक्त पुस्तकको विमोचन गरिएको हो । पुस्तकका लेखक पुरु लम्सालले विगतको चारवर्षदेखि लमजुङमा बसेर लोपोन्मुख संस्कृतिको खोजी गर्ने र त्यसका आधारमा नाटक तयार गर्ने गर्नु भएको छ । सोही क्रममा सो पुस्तकको जन्म भएको हो ।

सो पुस्तकमा पानीघट्ट र फड्के दुई नाटक छन् । दुवै संस्कृतिमा आधारित नाटक हुन् । फड्के गतवर्ष प्रदर्शन गरिएको थियो । सो मञ्जरी नाट्य समूहले गत वर्षदेखि लमजुङमा थिएटर नाटकको सुरुवात गरेको हो । यसअघि ‘फड्के’ नाटकको प्रदर्शनमा सफल रहेको सो समूहले तयार गरेको पानीघट्ट दोस्रो नाटक हो । दुवै नाटकमा लोपोन्मुख सांस्कृतिक मुद्दा उठााइएको छ ।

प्रतिक्रिया दिनुहोस्