मानवता हराएपछि के गर्ने ?



साँच्ची कलियुग लागेजस्तै भएको छ। यहाँ दानवहरूकै राज चलेको छ। नेपाली समाजमा सामूहिक बलात्कारजस्तो निकृष्ट घटनाको सिलसिला अझै पनि चलिरहेको छ। हरेक दिनजसो बालिकादेखि किशोरीहरू बलात्कारको चपेटामा पर्दै आएका छन्। बोली फुटेर सुखद बाल्यकाल नभोग्दै दानवको सिकार बन्नुपरेका बालिकाको विदारक घटना होस्, चाहे दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा चारजना युवाले एक युवतीमाथि ‘सामूहिक बलात्कार’ गरेको घटना होस्, यस्ता घटनाले मानवीय संवेदनाको पराकाष्ठा नाघेको छ। बलात्कारमा परेकी युवतीले आफू ‘बलात्कृत’ भएको घटनामा प्रहरीले उजुरीसमेत लिन नमानेको प्रसंगले पीडितमाथि कति अन्याय हुँदोरहेछ भन्ने छर्लंग हुन्छ।

बिहीबार भएको घटनामा महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न एसपी रामदत्त जोशीको नेतृत्वमा छानबिन समिति गठन गरेपछि उक्त घटना सार्वजनिक भयो। दिनहुँजसो बलात्कारका घटना राष्ट्रिय मूलधारका अखबारहरूमा प्रकाशित भइरहन्छन्। यस्तो आपराधिक घटना बढ्दै गएपछि सिंगो समाज नै चिन्तित र असुरक्षित हुन थालेको छ। दिनहुँजसो यस्ता घटना घट्दा कति बेला, कहाँ र को अपराधीको चपेटामा पर्ने हो, त्यसको अनुमान नै गर्न सकिँदैन। यस विषयमा महिला अधिकारकर्मी, प्रहरी, राजनीतिकर्मी सबै चिन्तित छन्। न्याय, मानवअधिकार र मानवीय संवेदनाजस्ता कुराहरू संकटमा पर्दै गएपछि अपराधले नै प्रश्रय पाइरहेको छ। सञ्चारमाध्यममा खबर बनेर आइरहेका घटनाहरू विश्लेषण गर्दा बलात्कारका घटनामा न्यूनीकरण आउन नसकेको प्रस्ट देखिन्छ। पछिल्लो समय अपराधका स्वरुपहरू झनै भयावह देखिन थालेका छन्। सामूहिक बलात्कार, बालिका बलात्कार, बलात्कारपछि हत्या, घरका अभिभावक, गुरु र आफन्तजनबाटै बलात्कारजस्ता मानव सभ्यतामाथि नै खिल्ली उडाउने खालका घटना एकपछि अर्को गरी शृङ्खलाबद्धरुपमा अखबारमा आइरहेका छन्। यस्ता खबर सुन्दा र पढ्दा जोसुकैको आङ सिरिङ्ग हुन्छ। पछिल्लो समय आपराधिक गतिविधिले सीमा नाघेको आभास हुन थालेको छ।

बलात्कारको घटना बालहिंसाको निकृष्ट नमुना बनिरहँदा यो गम्भीर सामाजिक मुद्दाका रुपमा उठ्नुपर्छ। बोली नफुटेकी बालिका बलात्कार भएका धेरै घटना छन्। घरभित्रै बाबु र हजुरबाबाट भएका किशोरी बलात्कारको घटना पनि चर्चामा आए। तर, घटना घट्नु र सेलाउनुको सिलसिला चलिरह्यो। संवेदनहीन समाजमा अपांग र अशक्त व्यक्तिहरू पनि बलात्कार हुनबाट जोगिएनन्। आफ्नै अभिभावकबाट समेत बलात्कार हुन थालेपछि हाम्रो समाज कतिसम्म असुरक्षित रहेछ भन्ने बुझ्न गाह्रो पर्दैन। कुनै पनि मानिसमा मानवीयता हराएपछि, संवेदनशीलता मरेपछि, पाप र धर्मको चेष्टा नै नरहेपछि यस्ता निकृष्ट कार्य हुने गर्दछन्। नारीलाई सम्मानपूर्वक व्यवहार नगरेसम्म कुनै पनि समाज सभ्य र सुरक्षित रहन सक्दैन। नेपालकै प्रमुख समस्याका रुपमा देखिएको बलात्कार तथा महिला हिंसाका घटना न्यूनीकरण गर्न प्रत्येक घरबाटै अभियान सञ्चालन गर्नु आवश्यक देखिएको छ।
– सीता सुनार, डोटी

यो कस्तो छिमेकी ?
भारतले नेपाललाई कहिले लालमोहन त कहिले रसवरी खान दिएर माया गर्छ। कहिले भने नाकाबन्दीको झटारो हानेर दुःख दिन्छ। कहिले नेपालको नदी, खोलामा पुल बनाएर सहयोग गर्छ त कहिले सिमानाका पिल्लर ढालेर चार हात सिमाना मिच्छ। कहिले नेपालका गाउँहरूमा स्कुल, पुस्तकालय भवन निर्माण गरिदिएर सहयोग गर्छ त कहिले नेपालको संविधान यसरी बनाऊ भन्ने आदेश दिएर सार्वभौम नेपालको राष्ट्रियतामाथि मौखिक धावा बोल्छ।

यसरी भारतले नेपाललाई कहिले माया गर्ने, कहिले हेप्ने, कहिले तर्साउने त कहिले घुक्र्याउने नीति अख्तियार गरिरहेको छ। उसले यस्तो गर्नुमा अरू कारण होइन, हो भने मनोवैज्ञानिक कारण के मात्रै हो भने भारतीयहरूले नेपालीलाई पूरै चिन्छन् र नेपालीहरूले भारतीयहरूलाई पूराका पूरा चिन्छन्। माया गरेको बुझिन्छ, हेपेको पनि बुझिन्छ, सहयोग गरेको पनि बुझिन्छ। यो बुझाइ नै प्रमुख कारण हो, जसका कारण भारतले नेपाललाई कहिले के खालको त कहिले के रुप र आकारको व्यवहार देखाउँछ।

अब यही प्रक्रिया चीनसँग लागू हुन सक्दैन, किनकि ऊसँग भाषा नै मिल्दैन। माया गरेको हो कि, हेपेको हो कि, साँच्चै सहयोग गर्न चाहेको हो कि, केही कुरा बुझिँदैन। त्यस कारण, चाइना आजसम्म नेपालसँग सिमाना जोडिए पनि उति साह्रो नजिक छैन। त्यो खालको हार्दिक सम्बन्ध नेपाली र चिनियाँबीच छैन।

यस्तो खालको उतारचढावपूर्ण सम्बन्ध नेपाल र भारतबीच निकै लामो समयअघिदेखि रहिआएको छ। भारत चाहन्छ– नेपाल र भारतबीचको सम्बन्ध सधैँभरि सुमधुर रहिरहोस्। तर, उसले भनेजस्तो सुमधुर सम्बन्धचाहिँ कस्तो हो भने नेपालले कसैसँग सहयोग नमागोस्। भारतसँग मात्रै सहयोग मागोस्, अर्थात् नेपाल अनन्तकालसम्म भारतनिर्भर भइरहोस्। हरकोणबाट भारत आश्रित भइरहोस्। कुनै पनि हालतमा आफ्नो खुट्टामा उभिएर आर्थिक समृद्धि हासिल नगरोस्। नेपालले उद्योगधन्दा नखोलोस्, सञ्चालन नगरोस्। भारतीय उद्योग कलकारखानाबाट उत्पादित वस्तुहरू मात्रै प्रयोग गरिरहोस्। नेपालमा उद्योग कलकारखाना चल्दा यहाँका युवाशक्तिले रोजगारी प्राप्त गर्ने र स्वदेशी धन स्वदेशमै रहने हुँदा नेपाली युवाशक्ति विदेशमा गइरहून्, रेमिट्यान्स नेपाल आइरहोस् र त्यही रकम भारतबाट सामान किन्न प्रयोग भइरहोस् अनि नेपालले विदेशबाट कमाएको सम्पूर्ण रकम भारत गइरहोस् भन्ने चाहना भारतले राखेको अनुमान गर्न सकिन्छ।

एउटा मत्वपूर्ण कारण यो हो भने अर्को कारण नेपाल कुनै पनि हालतमा चीनतिर नलस्कियोस् भन्ने भारतले चाहेको देखिन्छ। मान्छेको स्वभाव हो, जसले सहयोग गर्छ उतातिर ढल्किन्छ र उसैलाई स्नेह गर्छ, प्रेम गर्छ। भारतले नेपाललाई माया मात्रै गरेको छैन, बेलाबखत ङ्याक्ने काम पनि गरेको छ। खासगरी २०७२ सालमा भूकम्पले थिलोथिलो पारेर आकुलव्याकुल भएका नेपाली जनतामाथि नाकाबन्दीको झटारो हान्ने भारतसँग नेपाली जनताले औधी चित्त दुखाएका छन्। यो कुरा भारतले राम्रैसँग बुझेको पनि छ। नेपाली जनताले भारतसँग चित्त दुखाएको कुरा चीनले पनि बुझ्न ढिला गरेन। यही मौकामा चीनले नेपाललाई जे चाहिन्छ हामी दिन्छौँ भन्यो।

मानव स्वभाव नै यही हो, आपतमा परेका नेपाली जनता चीनतिर फर्किएर हेरे। केपी ओली प्रधानमन्त्री भएका बखत ओलीले पनि जे होला एकबारको जुनीमा कति भारतको मात्रै भर परिरहने भन्ने सोचे र चीनसँग नयाँ नाका खोल्ने, नेपालसम्म रेल ल्याउन चीनले मद्दत गर्ने विषयमा सहमति जनाउनेजस्ता कामहरू भए। यो चीन र केपी ओलीमार्फतको नेपालबीचको नयाँ मितेरी साइनोबाट भारत नराम्ररी झस्कियो। फेरि नयाँ तरिकाले केपी ओलीसँग सम्बन्ध बढाउने खेलका साथ टुनामुना लगाउने काम भएको छ। यो विषयमा नेपाली राजनीतिक दल सचेत होऊन्।
– माधव शर्मा, कास्की

प्रतिक्रिया दिनुहोस्