कोटेश्वर–कलंकी सडक निमार्णले तीव्रता लियो



सुरेश तामाङ, काठमाडौं

कोटेश्वर–कलंकी सडक खण्ड सुधार गर्न तोकिएको पछिल्लो म्याद सकिन अब ५ महिना मात्रै बाँकी छ। तर, कामको प्रगति भने यो बीचमा जति हुनुपर्ने हो त्यो गतिमा हुन सकेको छैन।

पछिल्लोपटक तोकेको समयावधि जुलाई २०१८ हो। यस अवधिमा सडक सुधार कार्य सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गर्नुपर्ने सम्झौता निर्माणको जिम्मा लिएको चीनको संघाई कर्पोरेसनको रहेको छ।

सडक सुधारको काम थालेको ४ वर्ष बढी भइसकेको छ। काम थालेको त्यत्रो वर्ष बित्दा बल्ल आधा काम मात्रै सक्नुले पनि चक्रपत्र सुधार कार्यमा कति सुस्तता भयो भनेर जो–कोहीले पनि सहजै अनुमान लाउन सक्छन्।

काम सम्पन्न हुन जति ढिलाइ भयो त्यति नै सर्वसाधरणले सास्ती पनि खेप्दै आइरहेका छन्। सडकमै थुपारिएको निर्माण सामग्रीका कारण ट्राफिक जामको समस्या सर्वसाधारणले विगत ४ वर्षदेखि भोग्दै आइरहेका छन् भने धूलोले गर्दा स्वास्थ्यमा प्रत्यक्ष असर गरिरहेको छ।

योजनाका इन्जिनियर निरञ्जन शर्माले सडक सुधारको शुरुआती चरणमा काममा ढिलाइ भए पनि पछिल्लो चरणमा काम तीव्र गतिमा भइैरहेको बताउनुभयो।

‘शुरुआती चरणमा मात्रै केही समस्याका कारण काममा ढिलाइ भएको हो’, योजनाका इन्जिनियर शर्माले भन्नुभयो– ‘पछिल्लो चरणमा सुधारको कामले तीव्रता लिइरहेको छ।’

कामको शुरुआतमा देशमा घटेको प्रमुख घटना भूकम्प र नाकाबन्दीका कारण काममा देखिने गरी प्रगति नभएको योजनाले जनाएको छ। तर, समयमै काम सम्पन्न गर्नका लागि विशेष परिस्थितिका बीच पनि काम भइरहेको योजनाको दाबी छ।

सन् २०१३ सेप्टेम्बर १३ मा निर्माण शुरु गरेको यस सडक सुधारको काममा चिनियाँ सरकारको आर्थिक र प्राविधिक सहयोग रहेको छ। सडकमा चिनियाँ ठेकेदार कम्पनी साङ्घाई ग्रुपले गरिरहेको छ। सडक सुधारका लागि ४ अर्ब ९९ करोड २० लाख अनुमानित नेपाली रकम खर्च गर्दै छ।

१०.३९ किलोमिटर दूरी रहेको सडक सुधार गर्न सन् २०१२ डिसेम्बर १८ मा चिनियाँ सरकार र नेपाल सरकारबीच द्विपक्षीय सम्झौता भएको हो।
४ वर्षमा निर्माण पक्षले बल्खु र बालकुमारीमा पुल निर्माण, कोटेश्वर, बी एन्ड बी र बागडोलमा गरी तीन वटा आकाशेपुल निर्माण गरिसकेको छ।
पछिल्लोपटक निर्माणमा पक्षले कोटेश्वरदेखि सानेपासम्म आक्रामक शैलीमा सडक कालोपत्रे गर्ने काम गरिरहेको छ। त्यसभन्दा अगाडि भने ठूला पर्खाल बनाउने काम, बिजुलीका तार, पोल नहटाइएका कारण काम अझै अगाडि बढ्न सकिरहेको छैन।

योजनाका अनुसार, बल्खुचोकदेखि अगाडि कलंकीसम्म बिजुलीका पोल, तारहरू हटाउन ढिलाइ हुँदा सडक सुधार गर्न ढिलाइ भइरहेको छ।
‘त्यस ठाउँतिर सडक कटिङ पनि गर्नुपर्नेछ तर बिजुलीका पोल, तार, टेलिकमका तारहरू भएका कारण काम अगाडि बढ्न सकेको छैन।’ –योजनाका इन्जिनियर शर्माले भन्नुभयो।

निर्माण पक्षले हालसम्म कोटेश्वरदेखि यता ६ किमि सडक कालोपत्रे गरिसकेको छ भने मेन लेनबाहेक ७ किमि साइड लेनमा बेस हाल्ने काम सम्पन्न गरेको छ। निर्माण पक्षले कोटेश्वरदेखि सानेपासम्म ७ किमि सडक खण्डको दुई–दुई लेन दयाँ–बायाँ गरी ४ लेनमा कालोपत्रेको काम गरिरहेको आयोजनाले जनायो।

त्यस्तै पर्खाल लगाउने कार्य ७५ प्रतिशत सम्पन्न भइसकेको छ भने सडक सुधारको सम्पूर्ण काम ६० प्रतिशत सम्पन्न भएको आयोजनाले जनायो।

कलंकीमा बनिरहेको अन्डरपासको काममा पनि तीव्र प्रगति भइरहेको योजनाका इन्जिनियर शर्माले बताउनुभयो। उहाँले भन्नुभयो– ‘अन्डरपासको काम ८० प्रतिशत सकिएको छ। हाल कटिङ, फिनिसिङ र पेवमेन्टको कामहरू भइरहेको छ।’
अन्डर पासमा फाउन्डेसनको काम सम्पन्न गरेर जुलाईसम्म अन्डरपासको काम पनि सम्पन्न गर्ने योजना रहेको योजनाका इन्जिनियर शर्माले बताउनुभयो।

८ सय मिटर लामो यो अन्डरपास बनेपछि चक्रपथ जाने सवारी भूमिगत हुँदै जानेछ भने नागढुंगादेखि कालिमाटी जाने सवारी भने अन्डरपास माथिबाटै गुड्ने छन्।

प्रतिक्रिया दिनुहोस्