एघार बुँदे सहमतिपछि वडा कार्यालयको ताला खुल्यो



इलाम । इलाम नगरपालिका वडा नम्बर १२ मा बाम गठबन्धनले लगाएको ताला बुधबार ११ बुँदे सहमतिपछि खोलिएको छ ।

नगरपालिकाबाट विनियोजित २० लाख रुपैयाँबाट ढोलेदेवी–दमाइ–इन्टेक जाने सडकको उपभाक्ता समिति निर्माण गर्दा वडाध्यक्ष लाखमान लिम्बूले वाम गठबन्धनलाई नसमेटी एकलौटी ढंगबाट नेपाली कांग्रेस, संघिय समाजवादी र मंगोल नेशनल अर्गानाइजेसनलाई समेटेर उपभोक्ता समिती बनाएको भन्दै बाम गठबन्धन घटक नेकपा एमाले र माओवादी केन्द्र आन्दोलित हुँदै गत माघ ९ गतेबाट वडा कार्यालयमा तालाबन्दी गरेका थिए ।

तालाबन्दी खुलाउन बुधबार वडाध्यक्षको नेतृत्वमा गठबन्धनसंग वार्ता बसेर ११ बुँदे सहमति पश्चात ३ बजेपछि तालाबन्दी खोलेका हुन ।

आगामी दिनमा शिक्षा, स्वास्थ्य र आगामी बजेटमा बाम गठबन्धनलाई समावेश गर्ने, अमरज्योती र रत्नलक्ष्मी आधारभुत विद्यालयमा बाम गठबन्धनको विद्यालय व्यवस्थापन समिती बनाउने, साङरुम्बा माध्यमिक विद्यालय र देउराली आधारभुत विद्यालयमा लोकतान्त्रिक गठबन्धनको ब्यवस्थापन समिती बनाउने लगायत बुँदामा सहमति भएपछि पहिला नै हरि तामाङ नेतृत्वमा बनेको उपभोक्ता समितीलाई मान्यता दिएर ताला खोलेको आन्दोलन समितीका संयोजक भरत घिमिरेले बताए ।

तालाबन्दी हुँदा वडाबासीले वडा कार्यालबाट पाउने सबै किसिमका सेवाहरु लिनबाट बञ्चित भइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्